पति गायक, पत्नी मोडल

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाली गीतसंगीतमा एकताका एकक्षत्र राज गरेका रामकृष्ण ढकालकी जीवनसंगिनी निलम शाह यतिखेर आफ्नै म्युजिक भिडियोका कारण चर्चामा छिन् । गएको भ्यालेन्टाइन डेका दिन गायक ढकालले आफ्नो नयाँ म्युजिक भिडियो ‘यस्तो को हौ तिमी...’ सार्वजनिक गरेका थिए ।

त्यही भिडियोमा मञ्चिन शाक्यका साथ अभिनय गरेकी निलम भिडियोको सकारात्मक प्रतिक्रियाले दंग छिन् । 

म्युजिक भिडियो छायांकनका क्रममा निलमले अविस्मरणीय क्षण बिताइन् । ‘चितवन मेघौलीको बाराही जंगल लजमा भन्दा कालिञ्चोकको सेताम्मे हिउँमा सुट गर्दा धेरै रमाइलो भयो,’ उनले अनुभव बाँडिन्, ‘तर घुँडासम्म हिउँले पुरिएर अति गार्‍हो भयो । चिसोमा कठ्यांग्रिएर दुई–दुई घण्टा हिँडेका थियौं हामी ।’ उक्त भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । गीतमा दावा गुरुङको संगीत र मनीष वशिष्ठका शब्द छन् । निलमले सेलेक्टेड भिडियोका लागि अफर आए अरूमा पनि अभिनय गर्ने बताइन् । 

प्रकाशित : चैत्र ६, २०७३ ०८:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

डेढ सय टनको पुल चोरी

राजेन्द्र मानन्धर

दोलखा — कवाडी सामान कारोबार गर्ने गिरोहको मिलेमतोमा पुष्पलाल मार्गअन्तर्गत कालोपत्रे सडक जोड्न राखिएको करिब डेढ सय टनको फलामे पुल खोलाबाटै गायब पारिएको छ । झुले र भीरकोट सिमानास्थित ढोलीखोलाको पक्की पुल चोरी भएको हो । तीन महिना बितिसक्दा जिम्मेवार निकायले पुलका सामग्री खोज्नु साटो आलटालमै समय गुजारिरहेका छन् ।

डिभिजन सडक कार्यालयले पुल चोरिएको निवेदन दिए पनि त्यसउपर कारबाही अघि बढेको छैन । स्थानीयका अनुसार उक्त पुल कवाडी कारोबारीले मिलेमतोमै उठाएर लाखौं मूल्यमा बेचेका हुन् । ‘कवाडीले पुलको फलाम काटेर लगेको सम्बन्धित निकायलाई थाहा छ तर सबै चुप छन्,’ एक स्थानीयले भने । पुलका सामग्री चोर्नेलाई रोक्ने प्रयास गर्दा नसकेपछि माघ १० गते डिभिजन सडक कार्यालय र २६ गते किर्नेटार प्रहरी चौकीमा उजुरी गर्दा सुनुवाइ नभएको उनीहरूको भनाइ छ ।

डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख डिभिजन इन्जिनियर अशोक तिवारी पुल चोरी भएको थाहा पाउनेबित्तिकै प्रशासनमा जानकारी गराएको बताउँछन् । ‘बाढीले बगाएर आधा डुबेको अवस्थाको पुल देखिन छाड्यो, खोजी गर्दा चोरी भएको शंका लागेपछि लिखित जानकारी गराएका छौं,’ उनले भने ।
गत साउन २२ गते उक्त पुल ढोलीखोलाले बगाएर तामाकोसी नदीको चैतेघाट पुर्‍याएको थियो । त्यहाँ अहिले बेलिब्रिज हालिएको छ । खोला घट्दै जाँदा पुलका सामग्री आधाजसो देखिन थालेपछि फलाम काटेर लगेको स्थानीयको आरोप छ । पुलको झन्डै ५० टन फलाम चोरिएको र ती सामग्री प्रहरी चौकी छिचोल्दै लगिएको स्रोतले जनायो । जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन कार्कीले पुल चोरी भएको निवेदनपछि अनुसन्धान अघि बढाइएको बताए । ‘अनुसन्धानमा डिभिजन सडक कार्यालय र भीमेश्वर नगरपालिका कार्यालयबाट सिफारिस बनाएरैकवाडीले सामान लगेको देखिन्छ,’ उनले भने, ‘कागजपत्र सक्कली कि नक्कली हो भन्नेबारे अनुसन्धान गर्दै छौं ।’ कागजपत्रनभएका सामान प्रहरीको चौकीबाट उम्कन नसक्ने उनले दाबी गरे । कवाडीले उक्त फलाम तामाकोसी, चरिकोट, बोच र खरिढुंगाका चौकीमा जाँच गराउँदै काठमाडौं लगेर बेचेको अनुमान गरिएको छ ।

काम नलाग्ने सरकारी सम्पत्ति लिलाम गर्न बोलपत्र आह्वान गर्नुपर्छ । तर, उक्त पुलका सामग्री लिलामीको प्रक्रिया सुरु नगरेको डिभिजन सडकले जनाएको छ । पुलका सामग्री चोरिएकै बेला डिभिजन सडकले कार्यालय हातामा रहेको पुराना गाडी र मेसिन औजार करिब ७ लाख रुपैयाँमा लिलामी गरेको थियो । डिभिजन प्रमुख अशोक तिवारी उक्त प्रक्रियाको कागजबाहेक ढोलीखोलाको पुलको सन्दर्भमा कुनै चिठीपत्र नबनाइएको दाबी गर्छन् ।

पुलका सामग्री लैजान कार्यालयका सामान लिलामीकै कागजलाई हतियार बनाइएको हुन सक्ने पनि डिभिजनले जनाएको छ । भीमेश्वर नगरपालिकाले पनि पुलका सामान लैजान अनुमति दिएको हुन सक्ने प्रहरी अनुमान छ । कार्यकारी अधिकृत नरबहादुर विकले भने नगरबाट इजाजतपत्र गएकोबारे अनभिज्ञता दर्साएका छन् ।

प्रकाशित : चैत्र ६, २०७३ ०८:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT