कता छन् कमेडियन गायक ?

कुम्भराज राई

ओखलढुंगा — नेपाली हास्य (कमेडियन) गीतको क्षेत्रमा ‘सुका माना घ्यू’ बोलको एल्बमले प्रकाश ओझा सुरुमा लोकप्रिय भए । उनको ‘भत्काइदिन्छु बाख्राको खोर पनि..’ अत्यधिक चर्चित भयो । तर यौनदुराचार, मानव बेचबिखन, ओसारपसारलगायतका काण्डले लामो समय उनको नयाँ सिर्जना आउन सकेन ।

गत वर्ष मात्र ‘लाले भर्सेज डिल्ले’ लिएर आएका उनी हालै मात्र पुरानै काण्डले १० वर्ष जेल गएका छन् । उनको ‘ओखरबोटे काका’, ‘ए बाउ भात खान आऊ’, ‘जाउँ कि क्या हो म पनि जिमखाना’ जस्ता दर्जनौं गीत चर्चित छन् । उनका फयान अझैं पनि बजारमा छन् । कमेडियन गीतलाई स्थापित गर्न उनको भूमिका महत्त्वपूर्ण रहयो ।

जतिखेर प्रकाश ओझा, नारद खतिवडा, श्रीकृष्ण लुइँटेलहरू कमेडियन गीतले लगालग हिट थिए, त्यतिखेरै ‘नाइँ मलाई त्यही केटी चाहिन्छ...’ भन्ने रुन्चे गीत लिएर बजारमा आए धरानका प्रकाश पौडेल । उनको पहिलो एल्बमको क्यासेट दुई लाखको संख्यामा बिक्री भयो । त्यसपछि उनको ‘खासखुस गरेको, हाँसेको, डाक्टर साब भिटामिन लेख्दिनु न’ जस्ता गीत चर्चित भए । भर्खरै उनको ‘जय श्रीराम’ भन्ने पप भजन युटयुबमा आएको छ । यही साल थप तीनवटा कमेडियन गीत ल्याउने तयारीमा पौडेल छन् । उनले क्यासेटको बिक्री हुन छोडेपछि कम्तीमा वर्षमा एउटा सिर्जना पस्किने गरेका छन् ।

धेरैलाई आफ्नो गीत श्रोताले सम्झिरहून् भन्ने लाग्छ । मन छोओस् भन्ने ठान्छन् । तर प्रकाशको हकमा फरक छ । ‘मेरो गीतले जम्मा श्रोता दर्शकलाई तीन मिनेट मनोरञ्जन दिए पुग्छ,’ अफिसियल कामको सिलसिलामा दुबई पुगेका पौडेलले भने, ‘त्यत्रो धेरै अपेक्षा राखेर मैले गीत गाउँदिनँ । खाली श्रोताले मनोरञ्जन पाऊन् भन्ने हो ।’ सिद्धार्थ बैंक धरानमा कार्यरत पौडेल स्टेज सोमा कमै प्रस्तुत हुन्छन् ।

संगीतको शीर्षकबाट उठेको सबै पैसा बालबालिकाको क्षेत्रमा खर्चिने गरेको बताए । सुरुसुरुमा कमेडियन गीतलाई लिएर आलोचना गर्नेहरूले हाल आएर ‘यो पनि संगीतको एउटा पाटो’ भएको स्विकारेका छन् ।
श्रीकृष्ण लुइँटेल पनि प्रकाश ओझाकै समकालीन गायक हुन् । एक दशकदेखि बिर्तामोड बस्दै आएका लुइँटेलले २०५६ सालमा पहिलो एल्बम ‘इटहरी डट कम’ बजारमा ल्याएका थिए । उनको ‘हयाङमा हो हयाङमा’ पहिलो चलेको गीत थियो । त्यसपछि ‘मलाई के भो’ एल्बम आयो । पछि ‘बोके दाह्री’ एल्बम आएपछि भने लुइँटेल चर्चित भए । उनको ‘ए बाउ किन्देऊ न भटभटे...’, ‘मुखमा हान्नु...’ जस्ता दर्जनौं गीत लोकप्रिय छन् । लोक गीतसमेत गाउने लुइँटेलको हालसम्म १२ वटा एल्बम आइसके । १ सयभन्दा बढी गीत रेकर्डेड छन् । रेकर्ड भएका प्राय: सबै गीतको म्युजिक भिडियो भएकोले नेपाली कमेडी गीत युटयुबमा सबभन्दा बढी लुइँटेलकै भेटिन्छन् ।

पूर्वमा बसे पनि उनको स्टेज सोमा राम्रै माग छ । हालै मात्र म्यान्मार, थाइल्यान्ड, इजरायल, साइप्रस घुमेर आइपुगे । सिक्किम, दार्जिलिङ, असमतिर पुगिरहन्छन् । ‘चैतको अन्तिमतिर एक महिनाका लागि अमेरिका जाँदै छु,’ लुइँटेलले भने, ‘पहिले क्यासेटको भरमा बाँच्नुपथ्र्यो । अहिले स्टेज सोले बाँचिएको छ ।’ नेपाली ग्रामीण सामाजिक परिवेशलाई टपक्कै टिपेर सरल ढंगबाट व्यंग्यात्मक तरिकाले प्रस्तुत गर्नु उनको प्राथमिकतमा पर्छन् । कमेडीको नाममा समाजले नपचाउने खालका गीत प्रस्तुत गर्नुहुन्न भन्ने तर्क लुइँटेलको छ । कमेडी गीतको श्रोताहरू नघटेको उनले बताए । अहिले पैसा खर्च गरेर मिडियामा विज्ञापन गर्ने कलाकार बढेकाले सस्तो लोकप्रियता नरुचाउने कलाकारहरू चर्चामा नआएको बताए ।

कमेडियन गीतमा अभिनयलाई सशक्त बनाई लोकप्रिय भएका अर्का कलाकार हुन्– नारद खतिवडा । उनको ‘लुलो पाइलो’ एल्बम २०५७/०५८ सालतिर मनग्गे बिकेको एल्बम हो । उनको ‘पोस्टेकी आमा’, ‘मुकुन्दे’, ‘ओइ झारपात’, ‘मेरो बिहे कहिले गर्ने’, ‘झुम्पा चुप्पा’ जस्ता दर्जन बढी गीत हिट भए । केही महोत्सव र स्टेज सोमा बेलाबेलामा देखिए पनि उनको नयाँ सिर्जना नआएको भने करिब एक दशक भइसकेको छ ।

रेडियो नेपालको स्थापनापछि नेपाली लोक संगीतमै कमेडी मिसाउने चलन थियो । राम थापा, कुमार बस्नेतजस्ता लोक गायकका गीतमा सामान्य कमेडी मिसाइएका थिए । पञ्चायतकालीन अवस्थादेखि गाईजात्राको बेला बढीजसो नेता र कर्मचारीलाई व्यंग्य गरेर गीत गाइए पनि त्यो संगीत विधा बन्न सकेको थिएन । तर गएको दुई दशकदेखि भने कमेडियन संगीत छुट्टै विधाको रूपमा स्थापित भयो ।

चल्तीका हास्य कलाकारहरूले समेत कमेडियन गीत गाउने काम गरे । पछिल्लो समय विल्सन विक्रम राईको ‘स्यान्त्यारेम...’ बोलको गीतले गर्दा उनका प्रशसंक बढे । केदार घिमिरे ‘माग्ने बूढो’ ले समेत ‘मन्त्रीको सालो...’ बोलको कमेडी गीत गाए । नयाँ कमेडियन गायक भने आउन सकेका छैनन् । पुरानै गायकहरूले यसलाई टिकाउने प्रयत्न गरिरहेका छन् ।

प्रकाशित : चैत्र ६, २०७३ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्

‘कविता सजिलै लेख्नुस्’

कान्तिपुर संवाददाता

काठमाडौं — साहित्यकार डा. देवी नेपाल छन्द कविका अभियन्ता हुन् । पछिल्लो समय उनको व्यस्तता बढ्दो छ । छन्द कविता लेखन प्रशिक्षणका लागि कहिले उनी पूर्व पुगिरहेका हुन्छन्, कहिले पश्चिम । ‘छन्दको सुगन्ध’ कृतिका यी स्रष्टा शनिबार राजधानीमा कविता लेखनसम्बन्धी पावर प्वाइन्ट प्रिजेन्टेसनका क्रममा थिए ।

राष्ट्रिय नाचघरमा उनले कविता र सिर्जनात्मक लेखनसम्बन्धी विद्युतीय कार्यपत्र नै प्रस्तुत गरे । उनले नेपाली कवितामा वार्णिक, मात्रिक, लोक, मुक्त र बहर छन्दको प्रयोगसम्बन्धी प्रस्ट्याउँदै गद्य कविता पनि लय हुन सक्ने उदारहण दिए । युवा पुस्ताले कवितालाई बुझ्ने तरिका दुई शैलीको रहेको उनले दाबी गरे । कसैले कविता प्राचीन सिर्जना भन्छन् भने कसैले आधुनिक । देवीका अनुसार यी दुवै पक्षसँग कविताको तुलना गर्न नमिल्ने बताए । भाव केन्द्रित र शब्द केन्द्रि भएर विचार पस्किने शैली कवितामा रहेको उनको दाबी थियो । ‘कविता संरचनामा लेख्न सिके सजिलै सिक्न सकिन्छ,’ उनले भने, ‘अनि लय पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।’

उनले कवितामा उमेर र विचारको प्रभाव हुने पनि दाबी गरे । उनले विभिन्न छन्दमा कसरी कविता रचिन्छ ? भन्नेबारे उदाहरण दिँदै प्रत्यक्ष रूपमा कविता रचना गर्न पनि सिकाए । उनले कविता विधि पुर्‍याएर ठट्टा गर्दागर्दै पनि लेख्न सकिने बताए । ‘तर, गुणस्तर रचना सिर्जना गर्न साधना नै चाहिन्छ,’ उनले भने । सांस्कृतिक संस्थान, साहित्य सन्ध्या र राष्ट्रिय जनसांस्कृतिक महासंघको सहकार्यमा कविता प्रशिक्षण कार्यक्रम राखिएको हो । प्रशिक्षणमा साहित्यकार एवं पूर्वमन्त्री शान्ता मानवीले कविताको महत्त्व प्रस्ट्याएकी थिइन् ।

प्रकाशित : चैत्र ६, २०७३ ०८:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्