सलमानको लभ लाइफ

सलमान खान ५१ वर्षका भइसके । बिहे गरेका छैनन् । तर, माया–प्रेम धेरैसँग गरे । उनका कतिपय हाई–प्रोफाइल अफेयरहरू त बलिउडमा कालजयी नै बनेका छन् । तीबारे सधैं गसिप बन्छन् । आम चासो र कौतूहलका विषय मानिन्छन् । पछिल्लो समय रोमानी मोडल एवं सञ्चारकर्मी युलिया भन्तुरसँग उनको नाम जोडिएको छ । उनीहरूले बिहे गर्ने भनिए पनि सलमान मौन छन् ।

सलमानको लभ लाइफ

सलमानको लभ लाइफ कहिल्यै सुखद रहेन । अधिकांश सम्बन्ध बिग्रिए । युलियासँगको हल्लाले के परिणाम लिने हो, त्यो हेर्न बाँकी छ । उनी सलमानकी १० औं गर्लफ्रेन्ड (थाहा भएका मध्येबाट) हुन् । ‘दबंग’ स्टारकी पहिलो पपुलर गर्लफ्रेन्ड संगीत बिजलानी थिइन् । सन् १९८० मा उनी मिस इन्डिया भएपछि सलमानसँग नजिकिएकी थिइन् । तर, सम्बन्ध धेरै टिकेन । संगीताले क्रिकेटर मोहम्मद अजारुद्दिनसँग विवाह गरिन् ।

त्यसपछि सलमान अभिनेत्री सोमी अलीका ब्वाइफ्रेन्ड बने । मदिरा ज्यादै पिउने र आफूलाई अनुचित व्यवहार गरेको भन्दै सोमीले उनीसँगको सम्बन्ध टुक्राएको बताइन्छ । 

अहिले भने उनीहरू राम्रा साथीका रूपमा एकअर्कालाई सर्पोट गरिरहेका हुन्छन् । 
सलमानको प्रसंग निकाल्नासाथ दिमागमा आइहाल्ने एक पात्र हुन्, ऐश्वर्या राय । उनीहरूलाई बलिउडकै यादगार जोडीका रूपमा लिइन्छ । सन् १९९९ मा ‘हम दिल दे चुके सनम’ को छायांकनका क्रममा ऐश्वर्या सलमानसँग नजिक भएकी थिइन् । तर, त्यसको तीन वर्ष नबित्दै दुईबीच ठूलो लफडा भयो । 

अपमानजनक व्यवहार गरेको भन्दै ऐश्वर्याले सलमानलाई छोडिदिएकी थिइन् । उनले यो कुरा पचाउन चाहेनन् । एक दिन मदिराले लठ्ठ हुँदै ऐश्वर्याको घर गएर विध्वंस मच्चाए । राय परिवारले सलमानविरुद्ध पुलिस केस नै गर्‍यो । अहिले ऐश्वर्या अभिषेक बच्चनकी पत्नी भइसकेकी छन् । अभिषेक र सलमान कार्यक्रमहरूमा कहिलेकाहीँ सँगै भेटिन्छन् ।

प्रेमिका बाटो लागे पनि सलमानले ऐश्वर्याजस्तै अनुहारकी स्नेहा उलाललाई आफ्नी नयाँ गर्लफ्रेन्ड बनाए । बहिनी अर्पितामार्फत सलमानले स्नेहालाई चिनेका थिए । उनीहरू ‘लकी’ फिल्ममा सँगै खेले । ऐश्वर्याजस्तै नीला आँखा भएकी स्नेहासँग पनि सलमानको जमेन । स्नेहा बलिउड छोडेर तेलगु फिल्म उद्योगतिर लागिन् ।

स्नेहा गएपछि कट्रिना बलिउडमा आइन् । उनलाई सलमानले नै ‘मेने प्यार क्यु किया ?’ मार्फत डेब्यु गराएका थिए । सन् २००५ मा सुरु भएको उनीहरूको अफेयर २०१० मा टुंगियो । यद्यपि, उनीहरूको मित्रता कायममै रहेको बताइन्छ । सन् २०१२ मा ‘एक था टाइगर’ को छायांकनका क्रममा भने सल्लुले कट्रिनासँग रुखो व्यवहार गरेको खबर बाहिर आएको थियो ।

सलमान–कट्रिनाको सम्बन्ध भ्वाङ पार्ने आरोप जर्मन मोडल क्लाउडिया सिज्लाले खेपेकी थिइन् । सलमानले उनलाई आफ्नो घर बोलाएर परिवारसँग परिचय गराएको खुलाएपछि कट्रिना टाढिइन् । क्लाउडियाले भने सलमान ‘राम्रो साथी’ मात्रै भएको बताएकी थिइन् । 

ऐश्वर्याको सन्दर्भमा झैं सलमानले कट्रिनासँग छुट्टिएपछि पनि कट्रिनाकै जस्तो रूपरङकी युवती पत्ता लगाए । सन् २०१० मा प्रदर्शन भएको फिल्म ‘वीर’ मा उनी जरिन खानसँग देखिए, जो कट्रिनाभन्दा अलिअलि मात्रै फरक देखिन्थिन् । त्यो बेला जरिन र सलमान नाइट पार्टीहरूमा खुब भेटिन्थे । उनीहरूले ‘पार्टनर २’ मा पनि सँगै काम गरे ।

‘बिग बस’ मा महेक चेहललाई औधि सर्पोट गरेपछि उनीहरूबीच पनि खिचडी पाकेको आशंका गरियो । नर्वेजियन अभिनेत्री महेकले सल्मानका ‘वान्टेड’ लगायत फिल्ममा कामसमेत गरिन् । बेलायती कलाकार हेजल किचलाई पनि सलमानको जिन्दगीमा ल्याइयो । तर, हेजलले अरूसँगै घरबार गरेपछि कुरा बिलायो । 

प्रकाशित : चैत्र ६, २०७३ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?