१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सकियो फिल्म फेस्टिभल

सुनीता साखकर्मी

काठमाडौं — डकुमेन्ट्री र फिक्सन विधाका ६ फिल्मलाई पुरस्कृत गर्दै आइतबार राजधानीमा नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार फिल्म फेस्टिभल सकिएको छ ।

सकियो फिल्म फेस्टिभल

यस पटक फेस्टिभलमा ‘इन्टरनेसनल डकुमेन्ट्री पानारोमा’ अन्तर्गत चिलीका प्याट्रिसियो सान्त्यान्दरको डकुमेन्ट्री फिल्म ‘द सोभल म्यान’ उत्कृष्ट ठहरियो भने इन्टरनेसनल फिक्सन अवार्ड जर्मनीका सार्लट ए. रल्फसको फिल्म ‘समिरा’ ले पायो । त्यस्तै नेपाल पानारोमा अन्तर्गत डकुमेन्ट्रीतर्फ शेलनाङ ग्याम्जो तामाङको ‘झालो’ उत्कृष्ट ठहरियो भने देवकी विष्टको ‘इन सर्च अफ देवकी’ फिक्सनतिर पुरस्कृत भयो ।

‘द सोभल म्यान’ चिलीको पिसागुवा गाउँनजिकै उत्खनन गरिएको चिहानको कथा समेटिएको छ । ‘समिरा’ ले आत्महत्याको धम्की दिने एउटी युवतीको कथा प्रस्तुत गरेको छ । 

नेपाली पानारोमा अन्तर्गत पुरस्कृत ‘झालो’ मा शिक्षक र विद्यार्थी दुई भिक्षुको कथा कहिएको छ । ‘इन सर्च अफ देवकी’ मा पश्चिम नेपालमा प्रचलित देउकी प्रथाको विषयवस्तु प्रस्तुत गरिएको छ ।

यी सबै फिल्मले अवार्डसँगै जनही ४० हजार रुपैयाँ पाए ।

त्यस्तै, जुरी अवार्डअन्तर्गत भने स्पेनका मार्काे हुएर्टेसको ‘फिफ्टी सिक्स’ र इटालीका स्टेफन मोकार्जेल र मर्याम जुवेयरको ‘टु वल्ड्र्स’ फिल्म उत्कृष्ट ठहरिए । ‘फिफ्टी सिक्स’ मा मादागास्करका तीन बालबालिकाले स्कुलको शुल्कबापत पाइने ५६ किलो चामल पाउन गरेको संघर्षको नालीबेली समेटिएको छ । ‘टु वल्ड्र्स’ मा मोन्ट्रियलमा काकाको रेस्टुरेन्टमा काम गर्ने सिरियाली शरणार्थी युवक ‘सामी’ ले छुट्टिएका आमाबाबुसँग भेट्न गरेको संघर्ष देखाइएको छ । 

फेस्टिभलको जुरीमा नेपालबाट वरिष्ठ फिल्मकर्मी तुलसी घिमिरे, भारतका वरिष्ठ निर्देशक गिरीश कसरावली, बंगलादेशका फिल्म समीक्षक अहमद मुस्तफा जमाल र नेदरल्यान्डका फिल्म निर्देशक क्लेमेन्टाइन एडरभन थिए । फेस्टिभलमा देखाइएका १ सय १ फिल्ममध्ये उत्कृष्ट छान्न गाह्रो भएको कसरावलीले सुनाए । ‘प्राय: फिल्महरू शरणार्थी, बसाइँसराइ, लैंगिक असमानता, अपांग व्यक्तिहरू, सीमान्तीकृतहरूका बारेमा थिए,’ उनले भने, ‘मानव अधिकारका पक्षमा विश्वका राम्रा फिल्महरू छानेर देखाइएकोले जुरीलाई अलिक गाह्रो भएको हो ।’

महोत्सवमा फिक्सन, डकुमेन्ट्री, सर्टफिल्म र एनिमेटेड फिल्महरू समावेश गरिएको मानव अधिकार फिल्म सेन्टरका अध्यक्ष चिरञ्जीवी कर्णविहारीले सुनाए । फेस्टिभलको समापन ज्योतिकेशर सिंह ठकुरीको ‘भुसको लोग्ने’ फिल्मबाट भएको थियो । 

प्रकाशित : चैत्र ७, २०७३ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?