३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

घनिष्ठता नायिका–गायिकाको

सजना बराल

काठमाडौं — गायिका आस्था राउतले नायिका अशिष्मा नकर्मीसँग खिचेका केही तस्बिर फेसबुकमा राखेकी छन् । तिनका अधिकांश कमेन्ट समान आशयका छन् । भनिएको छ, ‘साक्खै दिदीबहिनी जस्ता, जुम्ल्याहा हौ कि क्या हो ? सँगै हिँड्दाहिँड्दा एउटै देखिन थालेछौं ... ।’

घनिष्ठता नायिका–गायिकाको

फ्यानहरूले जे भने पनि आस्थालाई आफूहरू दुरुस्त देखिने भन्ने चाहिँ लाग्दैन । तर, दुईबीच धेरै कुरा मिल्ने उनी बताउँछिन् । ‘हामी दुवै जोली मुडका छौं,’ उनी भन्छिन्, ‘हाँस्नुपर्ने, नाच्नुपर्ने बानी छ । दुवै जना मिलनसार छौं । 

घुम्न मन पराउँछौं । गफाडी छौं ।’ गत वर्ष युरोप भ्रमणमा जाँदा खुब रमाइलो गरेको उनी सम्झिन्छिन् ।

अशिष्मा पनि त्यो बेलाको क्षण जीवनभर यादगार रहने बताउँछिन् । उनका अनुसार एक महिना सँगै बस्दा उनीहरूले व्यक्तिगत कुरा सबै सेयर गरे । ‘पर्सनल भन्ने नै बाँकी रहेन,’ उनी सुनाउँछिन्, ‘मेरो सामान उसले चलाउने, उसको मैले चलाउने गथ्र्यौं । कसलाई कसको फोन आउँछदेखि आनीबानीसम्मका सबै कुरा थाहा हुन्थ्यो ।’ 

के पनि भएछ भने, काठमाडौं फर्किने बेला अशिष्माको तौलिया आस्थाको ब्यागमा परेछ । आस्थाले अझै फिर्ता दिएकी छैनन् । ‘त्यसले मागिराखेकी थिई, मैले दिन पाइनँ,’ आस्था भन्छिन्, ‘अब दिन्नँ । तर, रुमाल चिनो राखे भेटघाट हुँदैन भनेर ऊ मागिराख्छे । मलाई चाहिँ त्यही टावेलले उसको सम्झना गराउने भएकाले दिन मन लाग्दैन ।’

हुन पनि युरोपबाट फर्केदेखि उनीहरूको भेटघाट भएकै छैन । अशिष्मा यसलाई त्यही तौलियाकै करामत पो हो कि भन्ठान्छिन् । तर, फोनमा गफगाफ भइरहन्छ । कहिलेकाहीँ त दुवै जना मोबाइलमा ब्यालेन्स सकिउन्जेल बात मार्छन् । त्यतिले नपुगेर फेरि ल्यान्डलाइनबाट पनि कुरा हुन्छ रे ।

‘हामी अरूको कुरा काट्दैनौं,’ आस्था कसम खाउँला झैँ गर्दै भन्छिन्, ‘आफ्नैबारे सुनाउने/सुन्ने गर्छौं ।’

मन पर्ने/नपर्ने बानी
जोसँग पनि तुरुन्तै घुलमिल हुन सक्ने आस्थाको बानी अशिष्मालाई राम्रो लाग्छ । उनी त आस्थालाई जेमा पनि मिसाउँदा हुने ‘आलु’ नै मान्दी रहिछन् । भन्छिन्, ‘जोसँग पनि मिल्ने, साथी बनिहाल्ने बानी छ उसको ।’ आफू भने चित्त बुझेका मान्छेसँग मात्रै बोल्ने गरेको उनी खुलाउँछिन् । उनलाई आफू पनि आस्था झैं फ्रयांक हुन मन लाग्छ । 

आस्था चाहिँ अशिष्माको शान्तपनदेखि प्रभावित छिन् । आफ्नो झडंग रिसाउने बानी भए पनि अशिष्मा ‘कुल’ पाराकी भइदिनाले सम्बन्ध सुमधुर रहिरहेको उनी बताउँछिन् । ‘म चित्त नबुझेको कुरा प्याच्चै भन्छु,’ आस्था सुनाउँछिन्, ‘ऊ अलि सोचेर जवाफ फर्काउँछे । बुज्झकी छे । अरूलाई नराम्रो भन्दिन । जहाँ पनि एडजस्ट हुन सक्छे ।’

दुईबीच झगडा पर्दा आस्था आफैं बोल्ने गरेको अशिष्मा बताउँछिन् ।

चार वर्षको चिनजानले उनीहरूलाई एकअर्काको सबल र कमजोर पक्षबारे पनि धेरथोर अवगत गराइसकेको छ । त्यसैले एकअर्कालाई ‘मोटिभेट’ गर्न खोज्छन् । तर, आपसका कतिपय कुरा उनीहरूलाई चित्त बुझ्दैन । जस्तै, आस्था अशिष्मा चित्त नबुझेको कुरा भनिहालून् भन्ने चाहन्छिन् । तर, अशिष्मा कुरा मनमा राखेर सोचिबस्छिन्, आफूले आफैंलाई दु:ख दिन्छिन् । 

अशिष्मा पनि बेलामौका बुझेर मात्रै आस्था जंगिए हुन्थ्यो भन्ने कामना गर्छिन् । तर, आस्थाको स्वभाव त्यस्तो छैन । ‘ऊ त ठाडै जान्छे, जंगिएर’, अशिष्मा भन्छिन्, ‘केही कुरा चित्त बुझेन भने आयोजकलाई समेत थर्काउँछे । मान्छेले आफ्नो नराम्रो सुन्न चाहँदैन । ऊ भने चित्तै दुख्ने गरी प्याच्च भन्दिन्छे ।’ गायिकाले कतिपय कुरा मनमै राख्नुपर्ने नायिकाको सुझाव छ ।

पहिलो चिनजान
चार वर्षअघि दाङमा भएको एउटा कार्यक्रमका बेला उनीहरूको परिचय भएको थियो । त्यो बेला आस्थालाई ‘सालको पात टपरी...’ बोलको रिमिक्स गीतका लागि चिनिन्थ्यो । अशिष्मा मोडलिङमा पाइला सार्दै थिइन् । उनले कार्यक्रममा समाहित फेसन शोमा सोज टपरका रूपमा भाग लिनु थियो । तर, त्यही बेला बिरामी भइन् । 

‘आस्था र मबीच राम्रोसँग चिनजान पनि भएको थिएन,’ अशिष्मा सम्झिन्छिन्, ‘तर, ऊ मेरो स्वास्थ्यस्थिति सोध्न आइरहन्थी । औषधि पनि दिन्थी । सोधपुछ गरिरहन्थी । मलाई उसले केयर गरेको मन पर्‍यो ।’

त्यो कार्यक्रमपछि उनीहरूबीच घनिष्ठता बढ्यो । गत वर्ष युरोप गएपछि बेस्ट फ्रेन्ड नै भएर फर्किए । ‘ऊ मेरो साथी मात्रै नभएर शिक्षक, मेकअप गुरु सबै हो,’ आस्था भन्छिन्, ‘एल्बम रिलिज गर्दा साथीहरूमध्येबाट उसलाई मात्र बोलाएकी थिएँ ।’

मण्डला थिएटरमा आयोजित आस्थाको ‘आधार’ लोकार्पणका क्रममा अशिष्मा नाचेकी पनि थिइन् । आस्थाका अनुसार अशिष्मा फाट्टफुट्ट गीत पनि गाउँछिन् । ‘गा न गा भनेर उचाल्छु म,’ ‘झुम्के बुलाकी...’ गायिका भन्छिन्, ‘बिगारी भने उडाउँछु पनि । ऊ रिसाउँछे ।’
गजब कुरा त के रहेछ भने, आस्था र अशिष्मा दुवैका बुबाहरू संगीतकर्मी हुन् । उनीहरूले रेडियो नेपालमा एकै समय जागिर खाएका थिए ।

‘हाम्रो घर पनि नजिकै छ,’ अशिष्मा भन्छिन्, ‘म बानेश्वर, ऊ अनामनगर । धोबीखोलाको वारि र पारि बस्छौं तर भेटघाट त्यति हुँदैन ।’

फरक क्षेत्रका भइदिनाले पनि भेटिराख्न मुस्किल परेको हुन सक्छ । तर, नभेटे पनि आफूहरूको मित्रता निकै प्रगाढ रहेको उनीहरू गर्वसाथ बताउँछन् । ‘केटीको दुस्मन केटी नै हुन्छे भन्छन्,’ आस्था भन्छिन्, ‘तर, हामी त्यस्ता छैनौं । एकअर्कालाई माया गर्छौं । समर्थन गर्छौं, सिकाउँछौं, हप्काउँछौं । उदाहरणीय पो छौं त ।’ पक्कै ।

 

प्रकाशित : चैत्र ७, २०७३ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?