“दयाहाङलाई हेरेर लेखिएको थियो लभ लभ लभ”

सुशील पौडेल

काठमाडौं — ‘होस्टेल रिटन्र्स’ मा सहायक भूमिकामा देखिएकी एउटी सानी चुलबुले पात्र थिइन्, स्वस्तिमा खडका । छोटै भूमिकाबाट नोटिस हुने भाग्यमानी स्वस्तिमा यति बेला लिड रोलमा आफ्ना फयानका लागि ‘लभ लभ लभ’ कोसेलीका रूपमा लिएर आएकी छन् ।

दीपेन्द्र के खनालको लेखन/निर्देशन ‘लभ लभ लभ’ मा स्वस्तिमा सुरज पाण्डेको अपोजिटमा छिन् । आमा शर्मिलाकै निर्माणको फिल्मबाट डेब्यु गरेका सुरजले यति बेला निर्माताको छोरो भएर ‘हिरो’ बनेको बजारी हल्ला सुन्नु परिरहेको छ । कस्तो लाग्दो हो ?

‘मलाई खासै नराम्रो लाग्दैन,’ हालैको भेटमा सुरजले हाँसीहाँसी भने, ‘उहाँहरूले बाहिरबाट हेरेर त्यसो भन्नु स्वाभाविकै हो । तर भित्री कुरा मलाई ममीले नभई (निर्देशक) दीपेन्द्र दाइले सेलेक्ट गर्नुभएको हो ।’
दीपेन्द्रले पनि सहमति जनाए । “खासमा पहिले यो स्टोरी मैले दयाहाङ राईलाई सुनाएको थिएँ । ‘झोले’ गर्दै यो लभस्टोरीमा दया र प्रियंका कार्कीलाई खेलाउने भनेर सुनाएको थिएँ । दयाको व्यस्तताले गर्दा काम हुन सकेन । दयालाई सोचेर क्यारेक्टर बनाएकोले पनि मलाई अलि मोटे–मोटे, हिरोभन्दा पनि क्यारेक्टर लाग्ने मान्छे चाहिएको थियो । सुरजलाई देख्नेबित्तिकै चरित्र आँखामा झल्किसकेको थियो ।’

तर दीपेन्द्रले सुरजलाई तौल घटाउनुपर्ने सर्त तेस्र्याए । फिल्म खेल्न पाउने भएपछि सुरजले, दीपेन्द्रका लागि असम्भव जस्तै लागेको, १ सय १२ किलोको तौललाई तीन महिनामा ८० किलोमा झारिदिए । अभियन कक्षा त सुरजले पहिल्यैदेखि रंगकर्मी सुनील पोखरेलसँग लिन थालिसकेका रहेछन् । ‘मेरो फिल्म खेल्ने योजना त थियो, तर यति छिटै ब्रेक पाइएला भन्ने थाहा पाएको भए वजन बढ्नै दिने थिइनँ,’ उनले भने । उनले ‘लभ लभ लभ’ मा कान कम सुन्ने र लजालु स्वभावको केटोको भूमिका निर्वाह गरेका छन्, जो सानैदेखिकी साथीलाई प्रेम गर्छ र पाउने अभिलाषा राख्छ ।

स्वस्तिमालाई फिल्मको स्क्रिप्ट पढ्नेबित्तिकै यसको सरलपनाले तानेको थियो रे । भनिन्, ‘मलाई सबैभन्दा मन परेको यसको सिम्प्लिसिटी हो । दर्शकले फिल्ममा आफूलाई रिलेट गर्न सक्छन् जस्तो लाग्छ । सबैको लाइफमा कहीं न कहीं भइरहने कुरा यसमा छ । फ्रेन्ड जोनवाला लभस्टोरीलाई दर्शकले मन पराउँछन् होला ।’

आखिर दीपेन्द्रले पनि अचेलको झाँगिँदो ‘फास्टफुड’ शैलीको प्रेम सम्बन्धमा चोखो माया गर्नेको कथा भन्न चाहन्थे । नयाँ–नयाँ प्रयोगको जोखिम मोल्न रुचाउने उनले यस पटक फिल्मलाई ‘लार्जर दयान लाइफ’ हुन दिएका छैनन् रे । ‘फिल्म भनेपछि वास्तविकताभन्दा अलि एक्स्ट्रा बनाउनुपर्छ भन्ने दबाब हुन्छ । तर यस पटक दुई केटाकेटी सँगै हुँदा जे गर्छन्, जस्तो बोल्छन्, त्यही कुरा मैले लुकेर खिचें भने कस्तो देखिएला भनेर प्रयोग गर्न चाहें,’ उनले सुनाए । सोही बमोजिम उनले सुटिङमा कलाकारलाई यो भएन वा त्यो भएन भनेर कुनै प्रेसरै दिएनन्, बरु क्यारेक्टरको माइक्रो इमोसनलाई क्याप्चर गर्नतर्फ लागे ।

स्कुल छँदै शिक्षकहरूको क्यारिकेचर गरेर साथीभाइमाझ प्रिय स्वस्तिमाका लागि अभिनय गाह्रो काम नै थिएन । भनिन्, ‘तर फिल्म दुई क्यारेक्टरमा मात्रै फोकस भएकोले झनै काम देखाउने मौका पाएँ ।’
१९ वर्षकै उमेरदेखि फिल्म यात्रा थालेकी स्वस्तिमालाई खेलाउन दीपेन्द्रले उनका पति निश्चल बस्नेतको सिफारिस लगाएका थिए । स्वस्तिमा भने यस्ता सिफारिसको विरोधी रहिछन् । ‘त्यो बेला दीपेन्द्र दाइ र मेरो चिनाजानी पनि थिएन,’ उनले प्रस्टै भनिन्, ‘त्यसैले निश्चललाई सोध्नु नर्मल कुरा थियो । तर मलाई निश्चलले रिकमेन्ड गरेको मन पर्दैन ।’ यो कुरा उनले निश्चललाई पनि बिहेअघि नै भनिसकेकी थिइन् रे । थपिन्, ‘यदि ममा क्षमता छ भने सिफासिर गर्नु जरुरी हुन्न । मेरो लागि निश्चलले रिकमेन्ड गर्नु नेगेटिभ देखिन्छ, अरूले हेर्दा ।’

२० वर्षको उमेरमै ब्रेक पाएका सुरज फिल्म रिलिजको संघारमा आइपुग्दा खुसी, उत्साह र डरको त्रिवेणीमा छन् । चरित्रमा पूरै डुब्ने भएकैले आफूलाई जोनी डेप र सौगात मल्लको फयान बताउने सुरज पनि भविष्यमा विविध चरित्रमा आफूलाई प्रमाणित गर्न चाहन्छन् । स्वदेशमै केही गर्छु भन्ने अठोट बोकेको तर लजालु स्वभावको केटोको भूमिकामा रहेका सुरज वास्तविकतामा पनि त्यस्तै छन् । पहिलो पटक स्वस्तिमासँग भेटदा पनि नर्भस भई आफू पसिनाले निथ्रुक्कै भिजेको अझै बिर्सेका छैनन् । पछि दीपेन्द्रले दुईलाई क्लोज क्याम्पमार्फत घनिष्ठ साथी बनाइदिए र मात्रै फ्लोरमा लगे ।

सुटिङ युनिट स्याङ्जाको पन्चासेदेखि रसुवाको गोसाइँकुण्डसम्म पुग्यो । स्वस्तिमाका लागि गोसाइँकुण्ड अनुभव भने कहालीलाग्दो रहयो । ‘एकदमै धेरै गाह्रो भएको थियो । हाई अल्टिच्युडको समस्या भयो,’ उनले सुनाइन् । डढेको र सुन्निएको अनुहार लिएर गोसाइँकुण्ड पुगेकी उनलाई अहिले पनि त्यो सम्झँदा आफैंलाई बिचरा भन्न मन्न लाग्छ रे । ‘चिसोले झन्डै बेहोसै हुन लागेको थिएँ । रोएको पनि थिएँ ।’

तर तिनै स्वस्तिमा त्यो बेला जति दु:ख भए पनि अहिले सिन हेर्दा रमाइलो लाग्छ भन्न पनि बेर लगाउँदिनन् । गीतको छायांकन गरिएको गोसाइँकुण्डमा जब को–स्टार सुरज तीन–चार वटा स्विटरमाथि कोट लगाएर पनि जाडो भयो भन्थे, तब स्लिभलेस र टयुबवाला ड्रेस लगाइरहेकी स्वस्तिमालाई रिस उठथ्यो रे । भनिन्, ‘हिरोइन हुनुको पीडा त्यहाँ पो रहेछ ।’

 

प्रकाशित : चैत्र २९, २०७३ ०९:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सानो मैदान, सानै स्कोर

विनोद पाण्डे, डीआर पन्त

धनगढी — धनगढीको सानो मैदानमा प्राय: टोली ठूलो स्कोरमा रमाउँछन् । शक्ति गौचन भने ‘लो स्कोरिङ’ खेलमा आफ्नो टोलीलाई जिताउँछन् । सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) मा सोमबार शक्तिले त्यही मन्त्रलाई दोहोर्‍याए जसले उनको रूपन्देही च्यालेन्जर्सलाई बलियो मानिएको कञ्चनपुर आइकोनिकविरुद्व महत्त्वपूर्ण जित दिलायो ।

टस जितेको रूपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४५ रन बनायो । अञ्चल प्रहरी कार्यलयको सानो मैदानमा यो खासै ठूलो स्कोर होइन । अझ टान्टी–टान्टीका विशेषज्ञ ब्याट्सम्यानहरूको हुल रहेको कञ्चनपुरका लागि निश्चय पनि थिएन । तर रूपन्देहीले कञ्चनपुरलाई १३१/९ को स्कोरमा रोक्यो ।

शक्ति भन्छन्, ‘यो मैदानमा अन्तिम ओभरमा २० रन बनाउनु पनि खासै ठूलो चुनौती होइन ।’ १८ औं ओभरमा कुशल भुर्तेलले तीव्र बलर विक्रम सोबलाई २ चौका र २ छक्का प्रहार गरी २० रन प्रहार बटुल्दा खेल कञ्चनपुरको पक्षमा आएको थियो । टोलीलाई अन्तिम दुई ओभरमा ३० रन बनाउनुपर्ने स्थितिमा पुगेको थियो ।

तर १९ औं ओभरमा कृष्ण कार्कीले खेल रूपन्देहीको पक्षमा मोडिदिए । उनले ५ रनमात्र खर्चने क्रममा प्रदीपसिंह ऐरी र कुशललाई आउट गरी म्यान अफ द म्याच प्रदर्शन गरे । उनले १५ औं ओभरमा ओपनर सागर पुनलाई आउट गरेपछि खेल रूपन्देहीको पक्षमा ढल्किएको थियो । मध्यम गतिका बलर कृष्णले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।

‘मलाई प्लेइङमा खेलाउने निर्णयमा टिमप्रति म आभार व्यक्त गर्न चाहन्छु । फेरि मलाई १९ औं ओभर जस्तो महत्त्वपूर्ण बलिङमा मौका दिई विश्वास गरेकामा धन्यवाद दिन चाहान्छु,’ कृष्णले भने, ‘कुशलले त्यो भन्दा अगाडिको ओभरमा ठूलो शट खेलेका थिए । तर मैले आफ्नो लाइन र लेन्थमा बलिङ गरे, स्लो बल र योर्कर प्रयास गरिरहें ।’

कुशलले १३ बलमा ३ चौका र २ छक्का मद्दतले २७ रन बनाए । सागरले ३८ बलको इनिङ्समा २ चौका र २ छक्का प्रहार गरी ३९ रन जोडेका थिए ।

सागरले सुनील धमलासँग १० औं ओभरमा ५२ रन जोड्दै कञ्चनपुरलाई राम्रो सुरुआत दिलाएका थिए । तर उत्कृष्ट फिल्डिङ र उत्कृष्ट क्याच लिँदै रूपन्देहीले कञ्चनपुरको रन गति रोक्दै दबाबमा राखेको थियो ।

सुनीलले ३५ बल खेली २ चौका र १ छक्का प्रहार गरी २८ रनमा आउट भए । देव्रेहाते स्पिनर शाह आलमले सुनीलसँगै हासिम अन्सारी (२) र सिद्धान्त लोहनी (१) लाई आउट गरी उत्कृष्ट बलिङ प्रदर्शन गरे । उनले सो क्रममा ४ ओभरमा ८ रनमात्र खर्चेका थिए । सिद्धान्तलाई शर्ट कभरमा एकहाते उत्कृष्ट क्याच लिई पवेलियन फर्काएका शक्तिले विपक्षी समकक्षी विनोद भण्डारी (६) र भीम सार्की (६) लाई आउट गरेका थिए ।

यसअघि रूपन्देहीले ६ ओभरमा ६० रन बनाउँदै राम्रो सुरुआत गरेको थियो । शंकर राना सातौं ओभरमा १९ रन बनाई सुनील धमलाको बलमा आउट भएपछि यो साझेदारी टुटेको थियो । अर्का ओपनर हरिशंकर शाहले २४ बलमा ४ चौका र २ छक्का प्रहार गरी ३३ रन बनाए । उनी रनआउट भएसँगै रूपन्देहीको मध्यक्रम धर्मराएको थियो ।

अन्तिम थापामगर ९, राजेश पुलामी ५ र पुष्प थापा ८ रनमा आउट भए । प्रकाश केसीले २६ र शक्तिले १६ रन बनाउँदै आफ्नो टोलीलाई चुनौतीपूर्ण स्कोरमा उभ्याए । अन्तिममा विक्रम सोबले १ चौका र १ छक्का प्रहार गरी १५ रन बनाए । कञ्चनपुरका कुशलले ४ ओभरमा ३६ रन खर्चेर ४ विकेट र अविनाश कर्णले २ विकेट लिए ।

प्रकाशित : चैत्र २९, २०७३ ०९:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT