२०७३ मा बनेका ८८ मध्ये ८ फिल्म मात्रै सफल

सुशील पौडेल

वर्ष २०७३ को अन्तिम शुक्रबार ‘अपरिचित’ रिलिज भयो । यो वर्ष नेपालमा कुल ८८ फिल्म बने । वर्षको मध्यतिर रिलिज भएको ‘छक्कापञ्जा’ मियोका रूपमा गाडियो भने आठ फिल्म मात्रै अर्थात् मोटामोटी ९ प्रतिशतले त्यसकै वरिपरि घुम्दै सफलताको दाइँ हाले ।

२०७३ मा बनेका ८८ मध्ये ८ फिल्म मात्रै सफल

बक्सअफिस ब्लकबस्टर्स र क्रिटिकल्ली अक्लेम्ड दुवैखाले फिल्म २०७३ मा देखिए । कमेडी जानराको ‘छक्कापञ्जा’ ले कमाइको नयाँ इतिहास रच्यो । कमाइ मात्रै गरेन, निर्देशकका रूपमा अभिनेत्री दीपाश्री निरौलालाई जन्मायो पनि । भलै, फिल्मले नारीप्रति गर्ने व्यवहारमा दर्शकले मिश्रित प्रतिक्रिया दिए पनि यसको कमिक टाइमिङलाई भने शतप्रतिशत दर्शकले रुचाइदिए । फिल्मले सय दिने सफल प्रदर्शनको झन्डा गाड्यो ।

‘छक्कापञ्जा’ रिलिजको दुई महिना ११ नेपाली फिल्म रिलिज भए । नाजिर हुसेनको ‘गाँठो’, दयाहाङ राईको ‘झुम्की’, जीवन लुइँटेलको ‘राधा’ वा मलिना जोशीको ‘द विनर’ जस्ता स्टारकास्ट फिल्म पनि ‘छक्कापञ्जा’ को सेपमा ठिम्रिए । तर ‘जात्रा’ ले बेग्लै इतिहास रच्यो । कथित स्टारका फिल्मले हलमा ब्याक टु ब्याक हावा खाइरहेका बेला बिना स्टारको ‘जात्रा’ ले दर्शक रिझायो । विपिन कार्की, रवीन्द्र झा र रवीन्द्रसिंह बानियाँ जस्ता थिएटर बेस्ड एक्टर एकाएक लाइम लाइटमा आए । न गीत न फाइट पनि अडियन्सलाई इन्गेज्ड गर्न सफल भए निर्देशक प्रदीप भट्टराई ।
स्वदेशी फिल्म बनाएर विदेशमा बढी चिनिने निर्देशकमा पर्छन्, दीपक रौनियार । ‘हाइवे’ पछि उनी यसै वर्ष ‘सेतो सूर्य’ सहित झुल्किए । सशस्त्र द्वन्द्वपछिको सामाजिक/पारिवारिक मनोदशालाई सूक्ष्म रूपमा केलाएका दीपकले यसपटक राम्रै प्रशंसा बटुले । त्यसो त मीन भाम निर्देशित ‘कालो पोथी’ ले पनि क्लास अडियन्सको साथ पायो । र, यही लाइनमा थपियो, ‘डाइङ क्यान्डल’ पनि । नरेशकुमार केसीको पहिलो फिल्मले व्यावसायिक सफलता त खासै गरेन तर प्रशंसा भने बटुल्यो ।
नेपाली फिल्मको आधुनिक युगको कोसेढुंगा बनेको ‘लुट’ यसपालि दोस्रो भागसहित हलमा आयो । तिनै चरित्र, तिनै कलाकार र त्यस्तै जालझेल भए पनि यसपटक स्क्रिनप्लेमा चिप्लिए, निर्देशक निश्चल बस्नेत । बक्सअफिसमा अहिलेसम्मकै अधिक ओपनिङ गरेको ‘लुट–२’ ले वर्ड अफ माउथ गतिलो पाउन नसक्दा छिट्टै खुम्चियो । दर्शकको बहुप्रतीक्षामा तुसारापात सिवाय केही भएन । निश्चलले फेसबुकबाटै अपिल गरे, ‘जसले रुचाइदिनुभयो, उहाँहरूलाई फेरि पनि खिन्न हुन दिने छैन । मन नपराउनेका लागि पनि अर्को पटक चित्त बुझाउने कोसिस गर्नेछु ।’ ‘कबड्डी’ सिरिजबाट राम्रो गुडविल बनाएका अर्का निर्देशक रामबाबु गुरुङले पनि ‘पुरानो डुंगा’ मार्फत धेरैको आशा, भरोसालाई डुबाए । फिल्म हेरेका अधिकांशले उनलाई आरोप लगाए, ‘रामबाबुले राम्रो कथालाई बिगारे ।’ हुन पनि ताल किनारामा जीवन संघर्ष गरिरहेको बोटे परिवारको मूल कथामा सहरी ग्ल्यामरको चास्नी दर्शकमा पचेन ।

वर्ष २०७३ मा हल्लाखल्ला गरिएका/भएका धेरै फिल्मले हावा खाए । १६ वर्षअघिको ब्लकबस्टर्स ‘दर्पणछायाँ’ को सिक्वेलसहित आएका थिए, निर्देशक तुलसी घिमिरे । पछिल्ला आधा दर्जन फिल्ममा लगातार असफलता बेहोर्नु परिरहेका बेला तुलसीलाई ‘दर्पणछायाँ–२’ सञ्जीवनी बुटी हुने ठानिएको थियो । तर त्यो वास्तविकतामा परिणत हुन सकेन । ‘दर्पणछायाँ–२’ बक्सअफिसमा डिजास्टर मात्रै भएन, क्रिटिक्सले समेत कुनै समयका सर्वाधिक सफल निर्देशक घिमिरेको क्षमतामा प्रश्न उठाए ।
पहिलो फिल्म ‘कुसुमे–रुमाल’ बाट निर्देशनमा खासै जम्न नपाएका निरक पौडेलले यसै वर्ष दोस्रो फिल्म ल्याए, ‘होमवर्क’ । नायक आर्यन सिग्देललाई बाबु र छोराको दोहोरो भूमिकामा अभिनय गराएर दर्शकको ध्यान खिच्न सकेका निरकले फिल्मबाट भने सकेनन् । न निरकको कामको तारिफ भयो, न त चकलेटी हिरोको छविलाई नै जोखिममा पारेर बूढो गेटअपमा देखिएका आर्यनले जस पाए ।
लामो अन्तरालपछि ‘ब्रासलेट’ बाट पुनरागमन गरेका नायक रमेश उप्रेती हुन् वा ‘जय पर्शुराम’ भन्दै आएका विराज भट्ट, कसैको दाल गलेन । उता, करियरका दुई दशक एकैखाले चरित्रलाई निरन्तरता दिएका राजेश हमाल उत्तराद्र्धमा आइपुग्दा एकाएक महिला बनेर यसपालि ‘शकुन्तला’ मा देखिए । गत वर्ष नै ‘बागमती’ फ्लप भएर ढाड सेकिएका राजेश यसपालि थला परे । त्यसो त यसअघि ‘भैरव’ बाट आफ्ना पुरानो फ्यान क्रेज फर्काएको ठानिएका निखिल उप्रेतीको दम पनि यसपालि सेलायो । ‘किंग’ र ‘निर्भय’ दुवै फिल्म फिक्का देखिए । त्यसैगरी पोर्न स्टार बन्छु भन्ने अभिव्यक्ति दिएर रातारात चर्चामा आए पनि अर्चना पनेरुलाई क्यास गरेर फिल्म चलाउने बदनियत न ‘छेस्को’ को पूरा भयो, न त ‘जिश्म’ को नै । दर्शकले दुवै फिल्मलाई झन्डै बहिष्कार नै गरिदिए । 
बर्सेनि होम प्रोडक्सन फिल्ममा देखिने रेखा थापा यसपटक वर्षको अन्त्यमा कृषा चौलागाईंको ‘पलाँस’ मा मात्रै देखा परिन् । कामेश्वर चौरासियासँग रेखाको जुगलबन्दी रहे पनि ‘पलाँस’ ले दर्शकमा बास्ना छर्न सकेन । बरु अनमोल केसी ‘गाजलु’ बाट फेरि सफलता लिन सफल भए भने अर्पण थापा यस वर्ष ‘डाइङ क्यान्डल’, ‘वीरविक्रम’ र ‘लप्पनछप्पन’ सबैमा फिट देखिए ।
वर्ष २०७३ मा फिल्म क्षेत्रले उल्लेख्य मात्रामा नयाँ आशालाग्दा निर्देशक पाएको छ । जसमा ‘हाउफन्नी’ बाट निलुडोमा शेर्पा, ‘छक्कापञ्जा’ बाट दीपाश्री निरौला, ‘जात्रा’ बाट प्रदीप भट्टराई, ‘सफर’ बाट आशिष श्रेष्ठ, ‘डाइङ क्यान्डल’ बाट नरेशकुमार केसी, ‘बिजुली मेसिन’ बाट नवीन अवाललगायत गतिलो सम्भावनासहित आएका छन् । 

प्रकाशित : वैशाख १, २०७४ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?