३२ वर्षपछि ‘वासुदेव’

कान्तिपुर संवाददाता

काठमाडौं — अभिनेता हरिहर शर्माले आफ्नो करिअरको सबभन्दा महत्त्वपूर्ण फिल्म ‘वासुदेव’ बनेको ३२ वर्षपछि आइतबार फेरि हेर्न पाए । चलचित्र समीक्षक समाज (फिक्सन) द्वारा अनामनगरको युनियन हाउसमा थालिएको साप्ताहिक फिल्म प्रदर्शनी तथा छलफल शृंखला ‘सन्डे सिनेमा’ मा फिल्म हेरेपछि उनले भने, ‘आफूले अभिनय गरेको भए पनि फिल्म हेर्ने मौका मिलेको थिएन ।’

आख्यानकार डा. धु्रवचन्द्र गौतमको उपन्यास ‘कट्टेल सरको चोटपटक’ मा आधारित रहेर २०३९ सालमा सुटिङ सुरु भएको यो फिल्म २०४१ मा सार्वजनिक प्रदर्शनीमा आएको थियो । सन्डे सिनेमा शृंखलाको पहिलो फिल्मका रूपमा गरिएको ‘वासुदेव’ को प्रदर्शनीमा फिल्मका मुख्य अभिनेता शर्माका साथै निर्देशक नीर शाह र लेखक गौतम पनि उपस्थित थिए । 

राजधानीमा सन्डे सिनेमा

जबसम्म नेपालीले नै पटकथा लेख्दैनन् तबसम्म फिल्मको स्तरोन्नति हुँदैन भनेर चर्चित पुस्तकबाट फिल्म बनाउन थालेका थियौं ।
– नीर शाह

समाजमा अहिले वासुदेव सरको जस्तो आदर्श पनि छ तर पैसाकै पछि लाग्नेको उनीहरूमाथि बोलबाला छ ।
– हरिहर शर्मा

उपन्यास र फिल्मको तुलना हुन सक्दैन, तर त्यसबेला जेजस्तो फिल्म बन्यो त्यो निकै राम्रो थियो ।
– डा. ध्रुवचन्द्र गौतम

निर्देशक शाहले त्यस बेला फिल्म बनाउँदाका अनुभव सुनाएका थिए । ‘त्यस बेला धेरै झमेला भोगिएको थियो । हामीलाई सूचना विभागले ‘र स्टक’ मा धोका दिएर बिग्रिएको स्टक दिएको थियो । १६ मिलिमिटरमा पहिलोपटक खिचिएको फिल्म, बढाएर ३५ मिलिमिटर बनाउनुपर्ने । र, स्टक बिग्रिएको भएपछि टेक्निकली फिल्म सोचेजस्तो राम्रो बनाउन सकिएन,’ उनले भने ।

पञ्चायतकालमा बनेको यो फिल्मलाई त्यसबेला सेन्सरले पनि दु:ख दिएको उल्लेख गर्दै उनले थपे, ‘त्यसअघि नेपाली फिल्मका पटकथा मुम्बईमा भएका देवु सेनलगायतका मान्छेले लेख्थे । हामीले जबसम्म नेपालीले नै पटकथा लेख्दैनन् तबसम्म नेपाली फिल्मको स्तरोन्नति हुँदैन भनेर चर्चित पुस्तकबाट फिल्म बनाउन थालेका थियौं । तर, सेन्सरलाई के मन परेन परेन, साह्रै दु:ख दिइयो ।’
एउटा आदर्शवादी लेक्चरर वासुदेव कट्टेलले भोगेका पारिवारिक, आर्थिक र विश्वविद्यालयका दबाबहरूको शृंखलाबारे बुनिएको फिल्ममा आदर्श र पैसाको रबाफ बोकी हिँड्ने दुई पात्रको टक्कर छ । फिल्ममा दुई नम्बरी पनि गर्न पछि नपर्ने महत्त्वाकांक्षी व्यापारीको भूमिकामा निर्देशक शाह आफैं छन् । फिल्ममा उद्योगपति विनोद चौधरीले पनि लगानी गरेका थिए । ‘मैले उहाँलाई उपन्यास पढ्न दिएको थिएँ तर फिल्म आएपछि उहाँ उति प्रसन्नचाहिँ हुनुभएन,’ शाहले भने । 

अभिनेता शर्माले फिल्ममा दुई नम्बरी व्यापारी र स्मगलरहरू यो देशलाई आवश्यक नभएको बताइए पनि नेपाली समाजमा अहिले त्यस्तै मान्छेको बोलबाला बढिरहेको बताए । ‘समाजमा अहिले वासुदेव सरको जस्तो आदर्श पनि छ तर पैसाकै पछि लाग्नेको उनीहरूमाथि बोलबाला छ,’ शर्माले भने ।
उपन्यासकार तथा फिल्मका पटकथाकार डा. गौतमले त्यसबेला पनि आफू यो फिल्मबाट सन्तुष्ट भएको बताए । ‘उपन्यास र फिल्मको तुलना हुन सक्दैन । तर, त्यसबेला जेजस्तो फिल्म बन्यो त्यो निकै राम्रो थियो,’ उनले भने ।

फिक्सन अध्यक्ष यज्ञशले चलाएको छलफलमा निर्देशक शाहले भने फिल्म पुस्तकजति राम्रो बन्न नसकेको स्विकारे । उनले त्यस बेला बजारको दबाबका कारण कथामा दायाँबायाँ गर्नुपरेकोमा पछुतो मान्दै भने, ‘कृष्ण मल्ल, शर्मिला (शाह) मल्लका सिक्वेन्सहरू, केही गीत र फाइटको दृश्य हामीले फिल्मको व्यापारिक पक्षलाई ध्यान दिएर थप्नुपरेको थियो,’ उनले भने, ‘मैले दबाबमा नपरी बनाउन पाएको भए त्यसरी थप्ने थिइनँ ।’ 

‘वासुदेव’ आफूलाई प्रिय र अप्रिय दुइटै विगत सम्झाउने फिल्म रहेको खुलाउँदै उनले सुनाए, “महाकवि देवकोटाको कविता ‘कुन मन्दिरमा जान्छौ यात्री...’ मुम्बईमा रेकर्ड गरेको दिन नै यहाँ मेरो छोरोको मृत्यु भएको थियो ।” विगत जेजस्तो भए आफू यो फिल्मलाई फेरि बनाउने तयारीमा रहेको पनि उनले बताए । 
उक्त फिल्ममा शकुन्तला शर्मा, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, सूर्यमाला खनाल, जितेन्द्र महत अभिलाषीले पनि मुख्य भूमिकामा अभिनय गरेका छन् । 

 

प्रकाशित : वैशाख ५, २०७४ ०८:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

ढुंगेलको ‘अक्षरका गोलीहरु’

कान्तिपुर संवाददाता

काठमाडौं — ‘चोट के हो व्यथा के हो...,’ ‘जति चोट दिन्छौ देऊ मायालु...’ जस्ता लोकप्रिय गीतका सर्जक सुवासचन्द्र ढुंगेल भिन्न चिनारीमा आएका छन् । उनको मुक्तक संग्रह ‘अक्षरका गोलीहरू’ सार्वजनिक भएको छ ।

यसअघि गीत र कवितामा चलाइरहेका ढुंगेलले १ सय ५० मुक्तकको संग्रह भावक अभियान नेपालमार्फत प्रकाशनमा ल्याएका हुन् । ‘जमघटमा अन्य विधाभन्दा मुक्तकले श्रोतालाई बढी आकर्षण गरिरहेको देखिन्छ,’ ढुंगेल भन्छन्, ‘यसको खास कारण मुक्तकले दिने समकालीन चेतना नै हो ।’ यसअघि, ‘चोट के हो, व्यथा के हो ?’ र ‘सुवास’ (एल्बम), ‘भाँचिएको मन’ (गीत–गजल संग्रह), ‘आनन्दै आनन्द’ (भजन संग्रह) जस्ता कृति ल्याइसकेका ढुंगेलका धेरैजसो गीत भक्तराज आचार्य, अरुण थापा, दिनेश सुब्बालगायतले गाएका छन् । 

प्रकाशित : वैशाख ५, २०७४ ०८:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT