कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ शैलीमा जयमाया

मधु शाही

काठमाडौं — नायक वा नायिका केन्द्रमा पारेर कथा लेख्ने परम्परा छ । फिल्म होस् या नाटक, सबैमा उस्तै प्रस्तुति भएको देखिन्छ । निश्चित पात्रलाई केन्द्रमा उभ्याएको कथाले दर्शकको ध्यान पनि सजिलै तान्छ । तर, एउटै कथाका सबै पात्रले दर्शक तान्न सक्छन् कि सक्दैनन् ? सुनील पोखरेलले यस्तो नवीन अभ्यास यति बेला मञ्चबाट देखाउने प्रयास गरेका छन् ।

नयाँ शैलीमा जयमाया

नले रंगमञ्चका तन्नेरीहरू टिपेर नयाँ स्वाद प्रस्तुत गर्ने जमर्को गरेका छन् ।

वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको लोकप्रिय कथा ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ लाई उनले नाटकको रूपमा मञ्चमा उतारेका छन् । मण्डला थिएटरमा नियमित मञ्चन भइरहेको नाटकमा पोखरेलले कलाकारलाई निश्चित बन्धनमा नबाँधी अभिनय गर्न सिकाएको बताए । ‘कथाले जे भन्छ, कलाकारले त्यसलाई आफ्नै पारामा गरेका छन्,’ उनले भने, ‘म त पुल मात्रै हुँ ।’

दोस्रो विश्वयुद्धपछि बर्मामा रहेका नेपालीहरूले पितृभूमिमा फर्किनुपर्दाको कहालीलाग्दो अवस्थालाई इन्द्रबहादुरले कथामा बुनेका थिए । बाटामा अनेक विपत्ति, संकट र दु:खहरू खेपेपछि अन्तिममा एउटी युवती मात्रै भारतको लिखापानी आइपुग्छिन् । यही कथानकलाई पोखरेलले नयाँ शैलीमा देखाउने प्रयास गरेका हुन् ।

पोखरेलले हरेक पात्र आफैमा नायक बन्छ भन्ने अवधारणा यो नाटकमा देखाउन खोजेका छन् । ‘तर कथाको मर्ममा भने कुनै तोडमोड गरिएको छैन,’ उनले भने । मञ्चमा देखिएका पात्रहरूको अभिनयले पनि उनको प्रयोगलाई साथ दिएको छ । अभिनयमा निकै जीवन्तता पाउन सकिन्छ । हरेक पात्रले आफैंमा नायकत्व बोकेर अभिनय गरेका छन् । सुवेदार, बाघवीर, सुवेदार्नी, जयमाया, रूपा, रेडियो बाजे, ठुले, सिपाही, गर्जमान, चन्दा, विधवा, पण्डित, नन्दु, नरे, बाघवीरकी पत्नी, धने, जयबहादुर गरी नाटकमा १७ पात्र छन् । यी सबै आआफ्नै स्थानमा मुख्य छन् । कलाकार भने सबै नयाँ हुन् ।

‘कथा र कलाकारले नै धानेको छ मञ्च,’ पोखरेलले भने, ‘उनीहरूबाट मैले पनि केही सिक्दै छु ।’
हुन पनि मञ्चमा कलाकारले कुनै पनि निर्देशनमा बाँधिएर अभिनय गरेको जस्तो लाग्दैन । उनीहरूले आफ्नै गन्थन दर्शकअघि भनिरहेको भान हुन्छ । सिर्जना अधिकारी र सुलक्षण भारतीले गरेको सुवेदार–सुवेदार्नीको भूमिका मन छुने छ । सामान्य छोरीको भूमिका निर्वाह गरेकी रिता केसीको काम पनि प्रशंसनीय छ । उनले अपांगको अभिनय गरेकी छन् । विनासंवाद शरीर र हाउभाउले उस्तै पात्रको अनुभूति गराउन सक्नु रिताको सुन्दर पक्ष हो । यद्यपि कथामा जयामाया नै मुख्य पात्र हुन्, तथापि नाटकमा मञ्चन दृश्य हेर्दा पोखरेलले सबै पात्रको आआफ्नो अस्तित्व झल्काएर कुशल निर्देशकको क्षमता प्रदर्शन गरेका छन् । बर्मामा बस्दै आएको सुन्दर नेपाली समाज एकाएक कसरी भताभुंग हुन्छ ? नाटकले यही कुरा देखाउने जमर्को गरेको छ । रमाइलो पक्ष के छ भने, जयमाया लगायतका नाटकका पात्रले जति संघर्ष र उतारचढाव भोग्नुपरेको छ, उति नै उनीहरूको सांस्कृतिक र कलात्मक गतिविधिले मसला थप्ने काम गरेको छ ।

नाटकमा सुनिशा बजगार्इं, आर्जेस रेग्मी, राज न्यौपाने, अमृत मल्ल, रनवीर कार्की, सुरज तमू, चाँदनी शाही, उषा भण्डारी, सुजन कार्की, सुरज चौलागाई, सञ्जितप्रताप मल्ल, श्रेया भुसाल, मौसम खडका, आभाष अधिकारीको अभिनय देख्न सकिन्छ । कथाले खोजेको परिवेशअनुकूल ढाल्न उचित मञ्च व्यवस्थापन र वेशभूषाले सघाएको छ ।
नाटक वैशाख ३० सम्म जारी चल्नेछ ।

प्रकाशित : वैशाख ५, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?