१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘नेप्टे’ मा छुल्ठिमसँग दयाहाङ

काठमाडौं — ‘झोले’ देखि ‘पुरानो डुंगा’ सम्म आइपुग्दा नायक दयाहाङ राई र नायिका प्रियंका कार्कीको अनस्क्रिन रोमान्स काफी चल्यो । यदाकदा आरोप पनि लाग्थ्यो— यी दुईले फिल्म निर्माता/निर्देशकलाई एकअर्काका लागि सिफारिस गर्छन् भनेर । तर दयाहाङ अभिनीत पछिल्ला फिल्म ‘लप्पन छप्पन’ र ‘घामपानी’ मा प्रियंका थिइनन् ।

‘नेप्टे’ मा छुल्ठिमसँग दयाहाङ

‘घामपानी’ मा दयाहाङको जोडीका रूपमा केकी अधिकारी भएपछि नै दुई घनिष्ठ साथीबीच तिक्तता आएको आशंका गरिन्छ । उता प्रियंका पनि अर्का नायक नायक आयुष्मान देशराजसँग हिमचिम बढाइरहेकी छन् । संगीता श्रेष्ठ निर्देशित ‘कथा काठमाडौं’ मा पनि प्रियंकाले आयुष्मानसँगै स्क्रिन सेयर गरिरहेकी छन् ।

राजधानीमा मंगलबार घोषणा गरिएको फिल्म ‘नेप्टे’ मा पनि दयाहाङको स्क्रिन रोमान्स ‘नोभेम्बर रेन’ की डल्ली भनेर बढी चिनिएकी छुल्ठिम गुरुङसँग हुने भएको छ । ‘मलाई पहिलेदेखि दयाहाङजीसँग स्क्रिन सेयर गर्न मन थियो । यसलाई साकार पारिदिनुभएकोमा रोहित रुम्बालाई धन्यवाद,’ छुल्ठिमले पहिले अन्तर्वार्तामा समेत आफूले दयाहाङसँग फिल्म खेल्न चाहेको उल्लेख गर्दै भनिन् ।

‘नेप्टे’ मा अभिनयसमेत गरेका रोहितले नै फिल्म निर्माण गरेका हुन् । सामाजिक कथावस्तु रहेको बताइएको फिल्ममा माला लिम्बू, बुद्धि तामाङ, अर्जुन गुरुङ, श्याम राई, बाबु बोगटी, जयकिशन बस्नेत, जयनन्द लामा, उत्तम केसी, अरुणा कार्कीको पनि अभिनय रहनेछ ।

किरण माइकल घिमिरेको पटकथा रहेको फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गर्नेछन् । जेठ पहिलो सातादेखि छायांकनमा जाने फिल्मले विदेश जान चाहने नेपाली युवा र विदेश गइसकेपछिका युवाबीचको कथालाई बुनिएको निर्देशक श्रेष्ठले बताए ।

अहिलेका व्यस्त नायकमा पर्ने दयाहाङले ‘नेप्टे’ को पटकथा मन परेरै खेल्न राजी भएको बताए । त्यसो त छुल्ठिमले भने स्क्रिप्ट नपढी नै फिल्म खेल्न राजी भएको खुलासा गर्दै भनिन्, ‘रोहितले तिमीजस्तै नेप्टी क्यारेक्टर छ, गछर्यौ भनेर सोधपछि नाइँ भनिनँ ।’

कार्यक्रममा दयाहाङ र छुल्ठिम दुवैले निर्माताका रूपमा डेब्यु गर्दै गरेका रोहितसँगका विगतका मीठा पलको स्मरण पनि गरेका थिए ।

सोसियल कमेडी जानरामा बनाइने ‘नेप्टे’ लाई हरि घले लामाले खिच्नेछन् । सम्पादन भने अर्जुन जिसी र मिलन श्रेष्ठले गर्नेछन् ।

प्रकाशित : वैशाख ६, २०७४ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?