१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सम्झना : जमानाका ह्यान्डसम खलनायक

सन् १९७५ मा एउटा फिल्म आयो— ‘हाथ की सफाइ’ । फिल्ममा विनोद खन्नाले नायक रणधीर कपुरलाई बोलेको एउटा चर्चित डाइलग थियो— ‘तुम जिस स्कुल में पढ्ते हो, हम उस के हेडमास्टर रह चुके है ।’
ध्रुवचन्द्र गौतम

संवत् २०५५ को कुनै अपराह्न । हामी केही साथी भेला भएर, सायद ‘अशोक’ भन्ने हलमा फिल्म हेर्न गयौं । फिल्म त ठीकै खालको थियो । जुन पनि फिल्म हेर्ने हुनाले हेरियो । फिल्ममा ओमप्रकाशको जन्म दिनको पार्टीमा एउटा २२ वर्ष जतिको युवकले नायिकालाई, ‘म्यारिज इटालियन स्टाइल’ हेर्न जाने प्रस्ताव राख्दछ, तर नायिका मान्दिन ।

सम्झना : जमानाका ह्यान्डसम खलनायक

‘म्यारिज इटालियन स्टाइल’ प्रख्यात अभिनेत्री सोफिया लरेनको सन् १९६४ मा आएको एक चर्चित फिल्म थियो । नवयुवकले उक्त फिल्म हेर्ने प्रस्ताव सन् १९६९ मा बनेको हिन्दी फिल्म, ‘मन का मीत’ मा राखेको थियो । प्रस्ताव राख्ने नवयुवक थिए, विनोद खन्ना र प्रस्ताव राखिएकी नायिका थिइन्— लिना चन्दावरकर । ‘मन का मीत’ दुवैको पहिलो फिल्म थियो र माथि बताइएको दृश्य नै विनोद खन्नाको जीवनको पहिलो फिल्मी दृश्य थियो । विनोद खन्ना र लिना चन्दावरकरको पहिलो फिल्म भएपनि विनोद खन्ना त्यसमा नायक थिएनन्, खलनायक थिए । वास्तवमा सुनील दत्तले त्यो फिल्म आफ्ना भाइ सोम दत्तलाई नायकका रूपमा प्रस्तुत गर्न बनाएका थिए । सोम दत्त, लिना चन्दावरकर र विदोन खन्ना, कोही–कोही अरू पनि ‘मन का मीत’ मा ‘इन्ट्रोड्युसिङ’ अन्तर्गत आएका थिए । तर पछि अन्य कहाँ गए र विनोद कहाँ भए ? लिना चन्दावरकरले सफलता पाएपनि सोमदत्तको त अर्को फिल्म हेरेको मलाई सम्झना छैन । विनोद खन्ना त सुपर स्टारै बने । 

‘मन का मीत’ त्यस्तरी चलेन तर विनोद खन्ना तत्काल चल्न थाले । उनले त्यसै साता पन्ध्रवटा फिल्म साइन गरेका थिए । तर प्राय: खलनायकको रूपमा । 

विनोद खन्नाको उदयका साथै भनियो, एक ‘ह्यान्डसम खलनायक’को जन्म भयो । खलनायकका रूपमा उनी कति चर्चित भए भने, उनी पर्दामा आउँदा दर्शकले ताली पिट्न थाले । डाकुको रोलमा सुनील दत्तपछि विनोद खन्ना नै चर्चित भएका थिए । ‘मेरा गाउँ, मेरा देश’ भन्ने अत्यन्त हिट फिल्ममा दुई कुरा चर्चित भए विशेष रूपमा, एउटा लक्ष्मी छायाको, ‘मार दिया जाए या छोड दिया जाए’ भनेर गरिने नृत्य र अर्को विनोद खन्नाको डाकुको अभिनय ।

पछि शत्रुघ्न सिन्हा पनि खलनायकीमा चर्चित भए तर विनोद खन्ना त्यसअघि नै भइसकेका थिए । जुन समयमा विनोद खन्ना चर्चित भएर नायकत्वतर्फ लम्किँदै थिए, त्यसबखत अमिताभ बच्चन आफ्ना सामान्य फिल्महरूका साथ, फिल्मी दुनियाँमा संघर्षरत थिए ।

सन् १९७१ मा ‘हम तुम और वह’ फिल्मबाट उनी नायक बने, जसमा भारती भन्ने केटी नायिका थिइन् । भारतीले पछि ‘पूरव और पश्चिम’ भन्ने फिल्ममा साइड रोल खेलेकी थिइन् । त्यसै वर्षको ‘मेरे अपने’ भन्ने फिल्ममा उनी लिजेन्ड अभिनेत्री मीनाकुमारीका साथ आए, जसले उनलाई राम्रो लाभ दियो । यसै फिल्ममा उनका शत्रुघ्न सिन्हा पनि थिए । त्यसपछि त विनोद खन्नाको ग्राफ बढ्दै गयो । एक उद्योग वाणिज्य परिवारका मानिस जसले फिल्म खेल्छु भन्दा पिताले गोली हान्ने कुरा गरेका थिए र आमाका कारण दुई वर्षमा सफल नभए व्यापारमै फर्कने सर्तका साथ फिल्ममा आएका थिए, फर्कन परेन, उक्लिँदै गए । खलनायकबाट नायक बन्ने एकदम थोरै कलाकारहरूमा उनी दरिए । 

बम्बईमा नामी कलेजहरू थिए । तिनमा सिडनहम, एलिफिन्स्टन आदि कलेजहरू पर्थे, ती कलेजहरू मैले आफ्नो बम्बई बसाइकालमा घुमेको थिएँ । विनोद खन्ना एलिफिन्स्टन कलेजमा पढेका थिए पछि । वास्तवमा उनी सुरुमा फिल्मा रुचि राख्दैनथे । स्टेजमा अभिनय स्कुलमै गरेका थिए तर लक्ष्य भने उनको इन्जिनियर बन्ने थियो । एक दिन एउटा फिल्म हेर्न गए । किशोरावस्थामा हेरिएको त्यो फिल्मबाट उनी निकै प्रभावित भए । फिल्म त पहिले पनि हेरेका हुन् तर त्यस्तरी प्रभावित भएका थिएनन् । जुनबाट अत्यन्त प्रभावित भएका थिए, त्यो फिल्म थियो— के. आसिफको भव्य फिल्म ‘मुगल–ए–आजम’ । त्यहींदेखि उनले फिल्ममा जम्ने अठोट गरे । आज परिणाम सबैका सामु छ । ‘मुगल–ए–आजम’ मा उनलाई अभिनय, निर्माण, भव्यता सबथोक मन परेको थियो रे ।

विनोद खन्ना अभिनयलाई सहज रूपमा लिन्थे, उनी मेरो मुख्य पात्र भयो कि भएन भनेर हेर्दैनथे । यही कारण हो, उनी खलनायकबाट थालेर नायक बनेपनि उनले सहायक पात्रको भूमिका होस् वा अफ बिट, सबैलाई स्वीकार गरे । साँच्चि भन्ने हो भने, उनका सहायक भूमिकाहरू यस्ता भए जसमा उनी सधैं स्मरणीय रहन्छन् । अभिताभका साथ सहनायकका रूपमा उनका नौ–दस फिल्म छन् । ती एक से एक छन् मात्र होइन, तिनमा तिनले अभिताभलाई बरोबरको टक्कर दिएका छन् । 

सन् १९७३ यिनको जीवनमा सम्झनलायक छ । यही वर्ष रिलिज भएका दुई फिल्ममा, एक अमिताभको थियो भने अर्को विनोद खन्नाको । यी दुवै तिनताक सधैं बिहान–बिहान सुटिङका लागि निस्कन्थे । अमिताभ आफ्ना असफल फिल्मबाट पहिलो उनको महानायकत्वतर्फ कदम चाल्ने फिल्मका लागि र विनोद खन्ना आफ्नो करिअरको अलग्ग र कलात्मक फिल्मका लागि । दुवैले इतिहास बनाए । ती फिल्म थिए, प्रकाश मेहराको ‘जंजिर’ र अर्को गुल्जारको ‘अचानक’ । ‘जंजिर’ बाट अमिताभ ‘एंग्री योङ्ग म्यान’को छविका साथ सफलताको ग्यारेन्टी मानिने नायक भए भने ‘अचानक’ बाट विनोद खन्ना यथार्थवादी र कलात्मक फिल्मसमेत विश्वसनीयतासाथ गर्न सक्ने कलाकार बने । ‘जंजिर’ बढी सफल भए पनि आफ्नो खालले ‘अचानक’ पनि सफल भयो । ‘अचानक’ ले त एउटा ‘ट्रेन सेटर’ फिल्मको दर्जासमेत पाएको थियो । पछि पनि प्रकाश मेहराका प्रिय अभिनेता भए अभिताभ बच्चन, उता विनोद खन्ना गुल्जारका प्रिय अभिनेता बने । गुल्जार र विनोद खन्नाको टिमले पछि पनि राम्रा फिल्महरू दियो भने प्रकाश मेहरा र अमिताभको टिमले पनि कीर्तिमानी सफलता आर्जन गर्ने फिल्महरू दियो । यिनै फिल्महरूको क्रममा अमिताभ र विनोदको जोडी बन्यो । यो जोडीले कीर्तिमानमाथि कीर्तिमान राख्ने सफल फिल्महरू दियो । तिनै समयमा भन्न थालियो, अमिताभलाई टक्कर दिने कुनै अभिनेता छ भने त्यो हो विनोद खन्ना । अझ भनियो, अमिताभको सुपरस्टारडम विनोद खन्नाले खोसिसके । यसमा एउटा कुराचाहिँ सत्य हो । यस क्रममा कुनै समय यस्तो आयो, जब त्यसबखत सुपरस्टारहरू अमिताभ अनि जितेन्द्रभन्दा बढी पारिश्रमिक विनोद खन्ना लिने गर्दथे । विनोद खन्नाको यो उत्कर्ष बेला थियो । फिल्म उनको नाउँले चल्दथ्यो । केही फिल्म फ्लप पनि भए तर विनोद खन्ना चलिरहे ।

तिनैताकको एउटा फिल्मलाई म सम्झन्छु । म बम्बईमा थिएँ । सन् १९७५ । एउटा फिल्म आयो, ‘हाथ की सफाइ’ । फिल्मको नाउँले मलाई त्यति प्रभावित गरेन, त्यसकारण अन्य फिल्म हेर्दै यो फिल्म हेर्न आलटाल गरें । एक दिन गएँ बम्बईको एउटा हल ‘सुपर’ मा । ‘हाथ की सफाइ’ हेरें । त्यो फिल्म मैले पछि कतिपटक हेरें । त्यसमा रणधीर कपुरको हास्य त थियो नै, तर मैले भने धेरैपटक त्यो फिल्म विनोद खन्नाका लागि हेरेको थिएँ । त्यसमा विनोद खन्ना र सिमी गरेवालको असर पार्ने जोडी थियो । त्यहाँ फिल्ममा विनोद खन्नाले नायक रणधीर कपुरलाई बोलेको एउटा डाइलग ‘तुम जिस स्कुल में पढ्ते हो, हम उस के हेडमास्टर रह चुके है’ घुमाईफिराई कति फिल्ममा हालियो पछि । ‘हाथ की सफाइ’ मै उनले प्रथम फिल्म फेयर अवार्ड पाएका थिए । 

तिनताक मेरो परिचय एक नेपाली भाइ, केबी लामिछानेसँग भयो । एक दिनको उनको निम्तोमा उनको फ्ल्याटमा गएँ । थाहा भयो, उनी त्यस बखत विनोद खन्ना नीतू सिंह, दुवेका सेक्रेटरी रहेछन् । उनले मलाई विनोद खन्ना र नीतू सिंह दुवैको ‘ड्रइङ’ मा लगेर तिनका ट्रफीको लामो लहर देखाएका थिए । लामिछानेले पछि विनोद खन्नालाई लिएर ‘राजमहल’ भन्ने एउटा फिल्म बनाएका थिए । मैले त्यो फिल्म हेर्न पाइनँ, अहिले याद छैन, त्यसमा नायिका नीतू सिंह थिइन् कि थिइनन्, सम्बन्धको हिसाबले त हुनुपर्ने । तर ‘राजमहल’ चलेन । विनोदको फ्लप फिल्ममै आउँछ त्यो । विनोद खन्ना नायक हुनाले अहिले पनि मानिस नाउँ त लिन्छन् तर सफल फिल्मका रूपमा । तैपनि कुनै पनि फिल्म, साधारण भए पनि विनोद खन्नाको नाउँ जोडिनासाथ ठूलो मानिन्थ्यो तिनताक । 

विनोद खन्ना कमेडी गर्नमा पनि कुशल थिए । ‘मुकदरका सिकन्दर’ देखि ‘परवरिस’ अघिसम्ममा पनि उनको हास्य–क्षमता अद्भुत देखिन्छ । मृत्युभन्दा एक साताअघि मात्र प्रदर्शित गम्भीर फिल्म ‘एक थी रानी ऐसी भी’ मा उनले कस्तो गरेका छन्, त्यो मैले हेर्न पाएको छैन । 

बीचमा उनी आगम गए (रजनीश), अमेरिका गए, उनको तलाक भयो, अर्को विवाह भयो । दुवै पत्नीबाट दुई–दुई सन्तान भए, सांसद, मन्त्री भए आदि कथा बयान गर्नु लम्ब्याउनु मात्र हुन्छ । पछि खेलेका फिल्महरू ‘सत्यमेव जयते’, ‘इन्साफ’ आदि हिट नै भए । मलाई यी फिल्महरूमा उनको ‘दयावान’ अत्यन्त प्रभावशाली लागेको थियो, उनकै अभिनयको हिसाबले । 

विनोद खन्ना अब यस संसारमा छैनन् । यो कला पनि अब धेरैका लागि पुरानो भइसकेको छ । उनको फिल्मी देन भने सम्झना भइरहन्छ । हाम्रै समयका यी ‘भर्सटाइल’ र समर्थ नायकलाई स्मरण गर्न भनेर मैले २७ अप्रिलकै दिन उनको पहिलो फिल्म ‘मन का मीत’ हेरेको थिएँ । अहिले म यो पनि स्मरण गर्दै छु विनोद खन्नाजस्तै राजकुमार, राजेन्द्र कुमार, अमरीश पुरी, सुनील दत्त, फिरोज खान आदि कतिपय अभिनेताको निधन सत्तरी वर्ष वा हाराहारीमा भएको थियो । सबको आफ्नो विशेषता थियो । विनोद खन्नाको सफर अरूभन्दा विशिष्ट थियो ।

प्रकाशित : वैशाख २३, २०७४ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?