जसले जन्माए द नेक्स्ट टिम

मधु शाही

काठमाडौं — सानो कोठा, जसलाई उनीहरूले ‘म्याड हाउस’ नाम दिएका छन् । त्यही म्याड हाउसमा बस्छन्, ‘द नेक्स्ट टिम’ । उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया पुगेका विद्यार्थीका लागि यति बेला ‘द नेक्स्ट टिम’ प्रेरणाको स्रोत बनेको छ ।

जसले जन्माए द नेक्स्ट टिम

सन् २०१५ मा फिल्म ‘रेसम फिलिलि’ को गीत ‘जालमा...’ को कभर म्युजिक भिडियो बनाएर युट्युबमा राखेपछि ‘द नेक्स्ट टिम’ ह्वात्तै चर्चामा आएको थियो । त्यो गीतमा प्रयुक्त नेपाली र पश्चिमा शैलीको फ्युजन डान्स कोरियाग्राफीले निकै प्रशंसा पनि बटुलेको थियो । यही हौसलालाई कायम राख्दै नेपथ्यको ‘मै नाचेँ छमछमी...’, अल्मोडा राणाको ‘फन्टास्टिक...’ जस्ता चर्चित गीतको कभर भिडियो बनाएका उनीहरूले पछिल्लोपटक विश्व नेपालीको गीत ‘मीठो...’ माथि राम्रो काम गरेका छन् । यो भिडियोको भ्युअर्स संख्या झन्डै ३ लाख पुगिसकेको छ । 

सिड्नीमा बस्ने नेपाली विद्यार्थीको यो नृत्य समूहको कथा रोचक छ । अस्ट्रेलियाबाट हालै नेपाल आएका ‘द नेक्स्ट टिम’ का कोरियोग्राफर प्रदीप लामा भन्छन्, ‘सोचेकै थिएनौं, यति लोकप्रिय भइन्छ भनेर ।’ खासमा यो टिमको अवधारणा उनैले बनाएका थिए । पुख्र्यौली घर दोलखा, सानैदेखि हुर्के–बढे काठमाडौंको बौद्धमा । स्कुले जीवनदेखि नै प्रदीप नाचगानमा निकै रहर गर्थे । चाड–पर्वमा र कलेजका विभिन्न कार्यक्रममा नाच्थे हिपहप शैलीमा । उनलाई लाग्थ्यो– यो शैलीको डान्स नेपालमा भन्दा विदेशमा बढी प्रभावकारी छ । त्यही भएर उनले पढाइ र डान्स हबी दुवैलाई जोडेर अस्ट्रेलिया जाने निधो गरे । ‘त्यहाँ पनि नाच्न छाडिनँ,’ अहिलेसम्म कुनै गुरुबाट प्रशिक्षण नलिएका उनले भने, ‘एक दिन क्लबमा नाचिरहेकै बेला अमित वज्राचार्यलाई भेटें । यसपछि भिडियो बनाउने योजना बुनें ।’ 
यसका लागि ठूलै टिम चाहिन्थ्यो । प्रदीपसँग कलेजदेखिकै केटी साथी प्रभा दवाडी र सुरक्षा थापा पनि थिए । फिल्म ‘रेसम फिलिलि’ को ‘जालमा...’ गीत सुनेपछि प्रदीपले यसैलाई पाइलट प्रोजेक्ट बनाउने निधो गरे । ‘यो गीतको ट्युनिङमा नेपाली स्वाद थियो,’ उनी भन्छन्, ‘त्यसमा डान्सचाहिँ हिपहप राम्रो लाग्यो । झन्डै तीन मिनेटको भिडियोलाई वन टेकमै खिचेका थियौँ ।’ यसपछि नै टिमको अवधारणा बन्यो । नेपाली कल्चरल डान्समा मोडर्न फर्म मिसाएर फ्युजन गरेको यो प्रस्तुतिपछि ‘द नेक्स्ट टिम’ चर्चामा आयो । प्रदीपले अहिलेसम्म जम्माजम्मी ५ वटा गीतमा कोरियोग्राफी गरेका छन् । फुर्सदको समय गत वर्ष नेपाल आउँदा रंगकर्मी सुनील पोखरेलको एउटा नाटकमा पनि उनले कोरियोग्राफी गर्ने मौका पाए । 
रमाइलो कुरा के भने, ‘द नेक्स्ट टिम’ ले एउटै कोठामा सीमित रहेर भिडियो तयार पार्ने गर्छ । प्रदीपले म्युजिक भिडियो गर्दा ठाउँको अभावले एउटै कोठामा सीमित हुनुपरेको, सामान्य क्यामेरा प्रयोग गर्नुपरेको, दैनिक ८ घण्टा काम गरेर बचेको समयमा भिडियो सुटिङ गर्नुपर्ने बाध्यता रहेको समेत सुनाए । उनका अनुसार अस्ट्रेलियामा जतासुकै भिडियो सुट गर्ने अनुमति छैन । हाई क्वालिटी भएको क्यामेराले छायांकन गरे उल्टै ट्याक्स तिर्नुपर्छ । यी थुपै्र समस्या खेपेर पनि ‘द नेक्स्ट टिम’ भिडियो बनाउन भने छोडेका छैनन् । बरु अझै योजनाबद्ध ढंगले काम गर्ने सोचमा छन् ।
प्रदीपसँगै टिममा अमित वज्राचार्य, अमर तामाङ (डोब्ज), प्रवेश गौचन (प्रब्स), छिरिङ आङमो, मेलिका कार्की, साजिया मिया, प्रभा दवाडी, सुरक्षा थापा गरी नौ जनाको समूह छ । ‘द नेक्स्ट’ को सीधा अर्थ अर्को भन्ने लाग्छ । प्रदीप भने यसको अर्थ ‘नेप्लिज एक्स्टि्रम’ राखिएको बताउँछन् । युट्युबबाट आएको कमाइलाई उनीहरूले म्युजिक भिडियो निकाल्नमा लगानी गर्ने गर्छन् । सुरुमा आफैंले लगानी गर्नुपथ्र्याे । अहिले युट्युबको विज्ञापनबाट आएको पैसाले नै म्युजिक भिडियो बनाउन सकिने प्रदीपले सुनाए ।
‘खर्च कटाएर काम गर्नुपरेको छैन अचेल,’ उनी भन्छन्, ‘अब आफ्नै गीतमा म्युजिक भिडियो बनाउने सोचमा छौं ।’ 

प्रकाशित : जेष्ठ २, २०७४ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?