कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

“तिलहरी...” नम्बर वान

युटयुब ट्रेन्ड

काठमाडौं — चुनावको माहोल छ । सञ्चार माध्यमहरू मत परिणाम प्रसारण गर्न तल्लीन छन् । रेडियो, टीभी र पत्रपत्रिकातिर चुनावले ठूलो स्थान पाइरहेका बेला युट्युबमा चाहिँ के चलिरहेको होला ? न्यू मिडियाका रूपमा उदाइरहेको युट्युब यो बेला केका लागि प्रयोग भइरहेको छ ?

“तिलहरी...” नम्बर वान

सोमबारको युट्युब ट्रेन्डले यी प्रश्नको जवाफ दिएको छ ।
मनीष ढकालले गाएको ‘ल्याइदिउँला तिलहरी...’ गीत सोमबार सर्वाधिक हेरियो । ‘सुन साइँली...’ मार्फत् वैदेशिक रोजगारीले दाम्पत्य जीवनमा ल्याएको पीडा उजागर गरेका कालीप्रसाद बाँस्कोटाले ‘तिलहरी...’ मा पनि उस्तै विषयवस्तु उठाएका छन् । कालीकै शब्द–संगीत रहेको गीतले तीन दिनमा ९० हजारभन्दा बढी भ्युज पाएको छ । ‘गीत साह्रै राम्रो’, प्रतिम रेग्मीले कमेन्ट लेखेका छन्, ‘भिडियोचाहिँ साइँलीको जस्तै लाग्यो ।’
‘नयाँ–नयाँ नेपाल न्युज’ नामक युट्युब च्यानलले अभिनेता निखिल उप्रेतीकी जेठी श्रीमती कोपिलासँग लिएको अन्तर्वार्ता ट्रेन्डिङको दोस्रो नम्बरमा परेको थियो । एक साताअघि अपलोड गरिएको भिडियो करिब तीन लाखले हेरेका छन् भने दुई सयभन्दा बढी कमेन्ट आएको छ । धेरैले निखिल–कोपिलाका छोरालाई सम्बोधन गरेर प्रतिक्रिया दिएका छन् । हास्य टेलिशृंखला ‘भद्रगोल’ को १२२ औं अंक यो साता तेस्रो स्थानमा छ । 
बाहिर चुनावको सरगर्मी चढिरहे पनि सोमबार युट्युबमा यससम्बन्धी थोरै मात्र कन्टेन्ट चर्चित १० भित्र परेका थिए । कान्तिपुर टीभीबाट प्रसारण हुने ‘टफ टक’ को पछिल्लो संस्करण ट्रेन्डिङको चौथो नम्बरमा भेटियो । यसमा पत्रकार दिलभूषण पाठकले काठमाडौं महानगरपालिकाका छ जनै मेयर उम्मेदरवारसँग चुनावी बहस चलाएका छन् । तीन सयभन्दा बढी कमेन्ट आएको भिडियो ८७ हजारभन्दा बढीले हेरेको पाइयो । 
फिल्म ‘ग्यांग्स्टर ब्लुज’ को टिजर ट्रेन्डिङको छैटौं स्थानमा थियो । हेमराज बीसी निर्देशित फिल्ममा आना शर्मा, आसिरमान देशराज जोशी, संयम पुरीलगायतले अभिनय गरेका छन् ।
‘मलाई त एक मिनेट बीस सेकेन्डको टिजरभरि संयम पुरी मात्रै मन पर्‍यो,’ ज्वाला श्रेष्ठले भनेका छन्, ‘उनी होनहार देखिएका छन् ।’
भदौ २ मा रिलिज हुने ‘ग्यांग्स्टर ब्लुज’ पछि मोबाइल भिडियो गेम ‘क्लास अफ क्लान्स : हाउ डुु वी गेट ओभर देयर ?’ को टिजर भिडियो उत्तिकै चर्चित रह्यो । दुई साताअघि युट्युबमा आएको भिडियोलाई सोमबारसम्म ७ करोडभन्दा बढीले हेरेका थिए । नेपाली युट्युब प्रयोगकर्तामाझ पनि यो लोकप्रिय बनिरहेको छ ।
बलिउड फिल्म ‘ट्युबलाइट’ को टिजर सोमबार ट्रेन्डिङ लिस्टमा पर्‍यो । सलमान खान अभिनीत फिल्मको दुई मिनेट सात सेकेन्ड लामो टिजरलाई पौने २ करोडले हेरेका छन् ।
शनिबार कपनस्थित आफन्तकहाँ पुगेका स्वास्थ्यमन्त्री गगन थापालाई चुनावको मौन अवधिमा हिँडेको भन्दै विरोध गरिँदाको भिडियो ट्रेन्डिङको आठौं नम्बरमा देखियो । निजी गाडी चढेर कपन पुगेका उनलाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्थानीयले गाली गरेका थिए । 
नवौं स्थान पनि हिन्दी कन्टेन्ट नै देखियो । जीटीभीबाट प्रसारण हुने ‘सारेगम लिल च्याम्प्स’ मा गायिका नेहा कक्करलाई उनका दाइ–दिदीले सरप्राइज दिँदाको शृंखला पपुलर बनेको छ । रियालिटी सोमा जजको भूमिका निर्वाह गरिरहँदा आफ्ना दाइ–दिदी, टोनी र सोनु कक्कर अचानक मञ्चमा आएपछि नेहा खुसीले रोएकी थिइन् । 
ट्रेन्डिङको दसौं स्थानमा रहेको ‘बाहुबली फुल मुभी इन हिन्दी’ शीर्षकको भिडियोमा ५९ लाखभन्दा बढी भ्युज थियो । तथापि धर्मा प्रोडक्सनको कन्टेन्ट लिइएको भन्दै युट्युबले उक्त भिडियो ब्लक गरेको थियो ।

टप टेन

१.    ल्याइदिउँला तिलहरी...
२.    निखिल उप्रेतीकी जेठी श्रीमतीसँगको अन्तर्वार्ता
३.    भद्रगोल, एपिसोड १२२
४.    काठमाडौं महानगरपालिकाका उम्मेदवार के भन्छन् ?
५.    ग्यांग्स्टर ब्लुको टिजर
६.    क्लास अफ क्लान्स (टिजर)
७.    ट्युबलाइटको टिजर
८.    गगन थापामाथि दुव्र्यवहार
९.    सारेगमप लिल च्याम्प्स : सोनी, टोनी र नेहा कक्कर
१०.    बाहुबली इन हिन्दी (ब्लक्ड)

प्रकाशित : जेष्ठ २, २०७४ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?