‘मीठै पकाउँछु म’

एमी ज्याक्सन बेलायती मोडल/नायिका भए पनि ठूलो पर्दामा उनको प्रवेश भारतमा भएको हो । अझ दक्षिण भारतीय फिल्ममार्फत । १८ वर्षको उमेरमा तमिल फिल्ममा देखिएकी उनी त्यसको दुई वर्षपछि मात्रै हिन्दी फिल्ममा आइन् ।

तेलुगु भाषाको समेत गरी एघार फिल्म खेलिसकेकी यी सुन्दरीले अभिनयमा त्यस्तो छाप छाड्ने काम भने गर्न सकेकी छैनन् । गत वर्ष उनले नवाजुद्दिन सिद्दिकीजस्ता अभिनेताको अपोजिटमा खेल्न पाएकी थिइन् । तर ‘फ्रिकी अली’ ले पनि उनलाई सफलता चखाएन ।
अभिनय सोखजस्तो मात्रै भइरहेकाले होला, उनले रेस्टुराँ व्यवसायमा हात हाल्ने सुर गरेकी छन् । यद्यपि कतिपय सफल नायकनायिका पनि फिल्ममा मात्रै भर परेका भने छैनन् । एउटै क्षेत्रमा भर गरिरहनु बुद्धिमत्ता पनि होइन । दुइटा डुंगामा खुट्टा राख्नु हुन्न भन्ने मान्यताले अचेल कहाँ काम दिन्छ र ? अचेल त जतिसक्दो धेरै डुंगामा फैलिनुपर्छ । ‘यो नभए त्यो’ को विकल्प राखिरहनुपर्छ ।

धेरैजसो मुम्बईमै बस्ने गरे पनि यी २५ वर्षेले रेस्टुराँ भने लन्डनमा खोल्न लागेकी हुन् । बलिउडमा व्यस्त श्रीलंकाली सुन्दरी ज्याकलिन फर्नान्डेजले गृहनगर कोलम्बोपछि मुम्बईमै रेस्टुराँ सुरु गर्न कमर कसेपछि एमीलाई त्यस्तै रहर पलाएको हो ।

‘म जहिल्यै आन्ट्रप्रेन्योर हुन चाहन्थेँ,’ एमीले एउटा भारतीय अनलाइनसँग भनेकी छन्, ‘विश्वभरिका रेस्टुराँ चहार्नु र फरकफरक स्वाद चाख्नु मेरो सोख हो । हस्पिटालिटी सेक्टरमा आफैँ पनि केही गर्न चाहन्थेँ । खानाप्रति आफ्नो अथाह प्रेमले नै मलाई आफ्नै रेस्टुराँ खोल्न उक्साएको हो ।’ आफूलाई जे पनि खान मन लाग्ने र तौल बढे पनि चिन्ता नलाग्ने भन्दै उनले थपेकी छन्, ‘मलाई पकाईतुल्याई गर्न पनि मज्जा लाग्छ । परिवारजन र साथीहरूका अनुसार म मीठै पकाउँछु रे ।’

लन्डनमा हालै आयोजित एसियन अवार्ड समारोहमा पहिरनका कारण सबैको ध्यान खिच्न सकेकी एमीको अलटाइम फेभरिट खानेकुराचाहिँ कुन होला ? पिज्जा । उनैले भनेकी ।

प्रकाशित : जेष्ठ ३, २०७४ १२:०९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

के छ ब्यालेट बक्सभित्र ?

लेखक–कलाकारको व्यंग्यवाण
कान्तिपुर संवाददाता

काठमाडौं — स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । सामाजिक सञ्जालमा धेरैले यसको ढिलासुस्तीमाथि प्रश्न उठाइरहेका छन् ।


हास्य कलाकार जितु नेपालले मंगलबार ‘पहिलेपहिले भोट जान महिनौं लाग्थ्यो रे, अहिले भोट गन्न महिनौं लाग्ने भयो’ भन्दै व्यंग्य कसे ।
अभिनेत्री ऋचा शर्माले ‘दस घण्टामा २१० भोट गनेछन्, २१ भोटबराबर १ घण्टा, २ लाख भोटबराबर ९ हजार ५ सय, २३ घण्टाबराबर ३ सय, ९६ दिनबराबर १ वर्ष ३१ दिन’ लेख्दै काठमाडौं महानगरपालिकाको मतगणना सुस्ततामाथि झटारो हानिन् ।
धेरैले ढिलाइमाथि नै प्रहार गरिरहेको बेला कवि विप्लव ढकाल फरक देखिए । उनले चुनावी माहोल छोपेर ‘ब्यालेट बक्सभित्र के छ ?’ भन्दै कविता लेखे– 
ब्यालेट बक्सभित्र 
जे पनि हुन सक्छ ! 
कुनै डरलाग्दो 
अजिंगर हुन सक्छ ! 
जसले डस्न सक्छ 
राष्ट्रको भविष्य ! 
कुनै खतरनाक 
नरसिंह हुन सक्छ !
जसले भत्काउन सक्छ 
अहंकारको छाती ! 

मुलुकको भविष्य, सपना र परिकल्पना कतातिर जान्छ भन्ने अब ब्यालेट बक्सले नै निर्धारण गर्छ भन्ने विचारलाई सशक्त बनाउँदै लेखिएको यो कवितालाई दर्जनभन्दा बढीले सेयर गरेका छन् भने थुप्रैले कमेन्ट ।
कविताको सुरुआतमा ढकालले अहिले पार्टीका कार्यकर्ता र उम्मेदवारहरू कस्तो मनोदशाबाट गुज्रिरहेका छन् भन्ने सटिक चित्रण गरेका छन् । 
शिशिरको बूढो रूखझैं 
लगलग काँपिरहेका छन्– 
उम्मेदवारहरू ! 
पार्टीका कार्यकर्ताहरू 
समर्थक र मतदाताहरू ? 
ब्यालेक्ट बक्सभित्र के छ ?
 

लोकतन्त्रमा निर्वाचन एउटा प्रक्रिया हो । जीवनमा जस्तै राजनीतिमा पनि हार्ने र जित्ने प्रक्रिया चलिहरन्छ । जित्नेहरू खुसीले गदगद हुँदै फूलमाला र अबिर लाएका तस्बिरहरू सामाजिक सञ्जालमा अपलोड गरिरहेका छन् । हार्ने उम्मेदवार मात्रै हैन, तिनका शुभचिन्तकहरूसमेत सामाजिक सञ्जालबाट बेखबर बन्दै छन् ।
कवि उषा शेरचनले दिनभरिको भोटिङ नतिजा हेर्दै हार्ने र जित्नेहरूको मनोदशामाथि मुक्तक लेखिन् र फेसबुकमा राखिन्– 
मैले जितेँ, तैंले हारिस् भनेर घमन्ड गर्नुको अर्थ के ?
धन–मान–प्रतिष्ठा कमाउँदैमा घमन्ड गर्नुको अर्थ के ?
जब जीवनका रंगमञ्चमा
अन्तिम पर्दा खस्छ तब 
सकिन्छ यावत् कुरा, अनि
घमन्ड गर्नुको अर्थ के ?

कवि स्वप्निल स्मृतिदेखि बाबु त्रिपाठीसम्मले फेसबुकलाई निर्वाचन र त्यसको परिणाममाथि काव्यिक बहस गर्ने थलो बनाएका छन् ।
कवि स्मृतिले भने अलि रमाइलो पाराले एमाले, कांग्रेस र माओवादी पार्टीलाई मतगणना प्रक्रियासँग जोडेर व्यंग्य गरेका छन्, ‘चुनावी छटपटी’ शीर्षकमा । संवाद आधारित उनको रचनालाई पनि रमाइलो मान्दै धेरैले कमेन्ट गरेका छन् ।
त्रिपाठीले ‘भोट’ शीर्षक कवितात्मक पंक्ति फेसबुकमा अपलोड गरेका छन् । उनले स्वार्थका लागि आश्वासनको जस्तोसुकै खेती गर्ने राजनीतिक प्रवृत्तिमाथि झटारो हानेका छन्– 
ऊ यति बेला 
भोट माग्न आर्यघाट आइपुगेको छ
र, चितामा सुतिरहेको मुर्दालाई भनिरहेछ
नमस्कार हजुर ! 
म सित्तैँमा दाउरा ल्याइदिन्छु
के म हजुरको एक भोट पाउन सक्छु ?

प्राय: पेचिला रचना कोर्न मन पराउने त्रिपाठीले भोट माग्ने नेताले कुनै कसर नछोडेको यथार्थलाई व्यंग्यमार्फत घोचपेच गरेका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७४ १२:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT