“थ्रिलरमा हामीले रिस्क नलिए कसले लिने त ?”

‘कोशिशसँग काम गर्नु सुरुमा अलिकति गाह्रो भएको थियो । कतिपय टेक्निकल कुरा उहाँलाई थाहा नहुँदा हल्का समस्या हुन्थ्यो ।’
सुशील पौडेल

काठमाडौं — ‘सानो संसार’ मा झन्डै नौ वर्षअघि ससानो काँटकी नायिकाले डेब्यु गरिन् । आलोक नेम्वाङको त्यो पहिलो निर्देशनमा नम्रता श्रेष्ठलाई ब्रेक पाएकी थिइन् । पछि निर्देशक सुदर्शन थापाले पनि आफ्नो डेब्यु फिल्म ‘मेरो एउटा साथी छ’ मा नम्रतालाई आर्यन सिग्देलको अपोजिटमा खेलाए ।

“थ्रिलरमा हामीले रिस्क नलिए कसले लिने त ?”

यसपटक नम्रता मात्रै चलिनन्, आर्यनसँगको जोडी नै जम्यो । नम्रता त्यसपछि ‘नोभेम्बर रेन’, ‘क्लासिक’ र ‘होमवर्क’ मा आर्यनकै जोडी बनेर देखा परिन् । तीमध्ये अघिल्ला दुई फिल्मका निर्देशक दिनेश राउतले यति बेला नम्रतालाई नै लिएर ‘पर्व’ त बनाएका छन्, तर जोडी फेरिदिएका छन् ।

‘मोक्ष’ फेम कोशिश क्षेत्रीसँग खेलिरहँदा नम्रताले आर्यनलाई कत्तिको मिस गरिन् होला ? 
‘खासै मिस गर्नुपरेन । ऊ हामीसँगै हुन्थ्यो । स्क्रिप्टमा पनि हामी सँगै थियौं । सुटिङमा पनि आउथ्यो,’ नम्रताले भनिन्, ‘को–स्टारको हिसाबले भन्नुपर्दा, ऊसँग मैले धेरै फिल्म खेलेको छु । ऊसँगको कम्फर्ट लेभल अरूसँग कम्पेयर गर्नु मिल्दैन ।’ तर पनि नम्रता कलाकारका नाताले दिइएको चरित्रमा काम गर्नुपर्ने भएकोले अपोजिटमा को हुन्छ त्यसले खासै फरक नपार्ने बताउँछिन् । 

नम्रताले सँगैका कोशिशको चित्त दुखाउन खोजिनन् । थपिन्, ‘कोशिशसँग पहिले काम गरेको थिइनँ तर राम्रो एक्टर हो भन्ने पहिलेदेखि सुनिरहेको थिएँ । र, उहाँको काम पनि हेरेको थिएँ । मलाई प्रोफेसनल को–एक्टर भयो भने बढी राम्रो लाग्छ । को–एक्टरलाई हेरेर यति मात्रै पर्फम गरौं कि भन्नु पर्दैन । खुलेर गर्नु सक्छु ।’ सुरुसुरुमा त कोशिशले गाह्रो नै पारेछन् । भनिन्, ‘सुरुमा अलिकति गाह्रो भएको थियो । कतिपय टेक्निकल कुरा उहाँलाई थाहा नहुँदा हल्का समस्या हुन्थ्यो । पछि सिनेमाटोग्राफर, डाइरेक्टरसँग बसेर कुरा गरेपछि बुझ्नुभयो र काम गर्नु मज्जा आउन थाल्यो ।’

त्यसो त कोशिश आफूलाई टेक्निकल कुरामा मात्रै नभई नम्रतासँगको रोमान्टिक सिनमा समेत उत्तिकै गाह्रो परेको सुनाए । किन त ? कोशिश बोले, ‘वास्तविकतामा पनि म त्यस्तो रोमान्टिक छैन । आजसम्म केटीको हात समातेर घुम्ने, डेटिङ जाने वा लेटर लेख्ने काम गरेको छैन । अनुभव नै छैन । त्यही भएर होला, इनिसियल फेजमा अलिकति हैन, धेरै नै गाह्रो भयो । लाइफ मै फस्ट एक्सपेरियन्स भयो । अझै पनि त्यो कुरामा सहज भइसकेको छैन ।’

यस्ता कुरामा नम्रतालाई आर्यन बढी नै कम्फर्ट लाग्छन् । ‘‘मेरो एउटा साथी छ’ गर्दा सुरुवातमा पनि म ऊसँग खासै कुरा गर्दिनथें । पछि क्यामेरा अन भएपछि हामीबीचको एक्सन–रिएक्सनको कम्बिनेसन एकदम मिल्थ्यो । हामीले यो गरौं वा त्यो गरौं भनेर प्लानिङ गर्नुपर्थेन,’ उनले ती दिन सम्झिन् ।
थ्रिलर जानरामा बनेको ‘पर्व’ गर्नुअघि नै नम्रताले आफ्नै निर्माणमा ‘सोल सिस्टर’ पनि खेलेकी थिइन् । तर चलेन । भनिन्, ‘त्यो मलाई नै चित्त नबुझेर हलबाट निकाल्देको हो ।’ फेरि त्यही जानरामा खेल्ने भन्दा मनमा चिसो पसेन त ? ‘नोनो, भएन,’ नम्रता केही खुलिन्, ‘एक्चुअल्ली मलाई मन पर्ने जानरा हो थ्रिलर । एकदम रमाइलो लाग्छ । दिनेश (राउत) जीले गर्ने र भन्दा मै हो गरौं गरौं भन्ने । किनभने उहाँ थ्रिलर फिल्म नै नहेरेको मान्छेले बनाउन हच्किनुभएको थियो । तर टिम भएर काम गरेपछि पक्कै राम्रो हुन्छ भन्नेमा म विश्वस्त थिएँ ।’

खासमा नायिकालाई घटना र त्यसले दर्शकलाई यताउता पनि फर्कन नदिई बाँधिरहने भएकोले थ्रिलर फिल्म सानैदेखि हेर्नु मन पर्ने रहेछ । त्यो बेला त उनी थ्रिलर र एक्सन फिल्म अति हेर्नु रुचाउँथिन् रे । ‘लभस्टोरीचाहिँ अलि अलि मात्रै हेर्थें,’ लभस्टोरी फिल्मकी चल्तीकी नायिकाले भनिन् ।

‘पर्व’ को स्टोरी भने कोशिशकै हो । ‘दिमागमा एक खाले सोच आएर लेख्दालेख्दै रिफाइन हुँदै यहाँसम्म आइपुग्यो,’ उनले भने । पछि फिल्म बन्दासम्म आफ्नो कथामा एक चौथाइजति तोडमोड भएको सुनाउँछन् उनी । सुटिङ स्पटमा त कोशिश र निर्देशक राउतबीच कतिपय सिन लिइरहँदा मतान्तर नै हुन्थ्यो रे । साँचो हो त ? कोशिशले यसलाई थप राम्रो होस् भन्न गरिएको सरसल्लाह भन्न चाहे ।
‘अब त मेरो सन्तुष्टिको कुराभन्दा पनि दर्शकलाई फिल्मले कत्तिको सन्तुष्टि दिन्छ भन्ने महत्त्वपूर्ण कुरा रहेछ,’ कोशिशले चित्त बुझाउने बाटो गरे । तीन वर्षपछि दर्शकमाझ आउन लागेका कोशिशका लागि ‘पर्व’ को कमब्याक सुखद हुनेमा आशावादी छन् । भने, ‘यदि बहुमत दर्शकले ‘पर्व’ रुचाइदिनुभयो भने ग्याप लिएर सही गरेको रहेछु भन्ने बुझ्छु । तर मन पराइदिनुभएन भने पनि अझै धेरै सिक्न र बुझ्न बाँकी रहेछ भन्ने ठान्छु ।’

बीचमा आएका ९/१० वटा फिल्म प्रस्तावमध्ये त तीनवटा मा त गर्नु तयार नै भएका रहेछन् । ‘एउटा ‘घेराबन्दी’ थियो, जसमा नीता ढुंगाना, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ पनि हुनुहुन्थ्यो । स्टोरी पनि एकदमै राम्रो थियो । तर अचानक निर्माता राजेन्द्र थापाको निधनले गर्दा त्यो प्रोजेक्ट नै भएन । दोस्रो ‘तीन घुम्ती’ आफ्नै घरायसी कारणले गर्दा अन्तिममा आएर खेल्न सकिनँ । त्यसपछि जोगेन गजमेर दाइको फिल्ममा नम्रता श्रेष्ठसँग खेल्ने कुरा थियो । त्यो पनि भूकम्प आएपछि रोकियो ।’

नम्रता भने ‘पर्व’ लाई दर्शकले रुचाउनेमा ढुक्क छिन् । भनिन्, ‘दिनेशजीले फिल्म हेर्नु लायक बनाउनुहुन्छ भन्ने कन्फिडेन्ट मलाई छ । उसको लागि यो नयाँ जानरा भए पनि मिहिनेत गरेकोले एउटा लेभलको थ्रिलर फिल्म बन्ने होस् भन्ने हाम्रो इच्छा छ ।’ त्यसो त नम्रतालाई यो पनि थाहा छ— अहिलेसम्म थ्रिलर फिल्म नेपालमा चलेको रेकर्ड छैन । हलिउड, बलिउडका थ्रिलर फिल्म लाग्दा पनि यहाँ दर्शक कम पाउँछन् । ‘रिस्क त छ, तर हामीले रिस्क नलिए कसले लिने त ?’ उनले प्रतिप्रश्न गरिन् । फेरि नम्रताका कैयौं फयानले उनलाई लभस्टोरीबाहेकका जानरामा खेल्न पनि सुझाएका रहेछन् । सुनाइन्, ‘फयानलाई त लभस्टोरीमा खेलेको मन पर्छ नै, हैन ? तर यस्ता फयान पनि हुनुहुन्छ जो दिदी कत्ति रोइरहेको ? ‘छड्के’ जस्तो फिल्म आउनुपर्‍यो भन्नुहुन्छ । त्यसैले पनि मैले ब्यालेन्स गरेर खेलिरहेकी छु ।’
नम्रता आफू केवल स्क्रिप्ट मात्रै नहेरी टिम पनि हेरेर फिल्म खेल्ने बताउँछिन् । त्यसैले पनि संख्यामा उनका कम फिल्म भएका रे । ‘त्यो टिमसँग काम गर्दा आफूलाई कत्तिको कम्फर्टेबल हुन्छ ? चरित्र निर्वाह गर्नुका लागि वातावरण कत्तिको सहज हुन्छ ? काम गर्ने वातावरण भएन भने मबाट पनि गतिलो काम निस्कँदैन होला । फेरि मैले फिल्म खेलेपछि रिलिजसम्म त्यसलाई नै समय दिन्छु । विज्ञापन र म्युजिक भिडियो पनि गर्दिनँ,’ उनले भनिन् । बीचमा ४/५ वटा राम्रा स्क्रिप्ट आएपछि उनी खेल्ने वा नखेल्नेमा कन्फयुज्ड नै भइछन् । पछि टिमकै कुरा आएपछि खेलिनन् । सुनाइन्, ‘मलाई गर्नु पनि मन थियो । मलाई लोभ मात्रै लागेर भएन । 

डेलिभर गर्नु सक्नुपर्‍यो । टाइम दिन सक्नुपर्‍यो । एक्टिङ गर्नुका लागि मात्रै फिल्म खेल्ने भन्ने हुँदैन । नेसनल अवार्ड पाएपछि के गर्दै होला भनेर झन् सबैको चासो बढिरहेको छ, त्यसलाई पनि त मैले मिट गर्नुपर्‍यो । धेरै कुराको रेस्पोन्सिबिलिटी हुन्छ ।’ 

‘पर्व’ मा समाजमा घटिरहने घटना र समाजमा देखिइरहने क्यारेक्टर नै भएको बताइएको छ । नम्रताले पनि सही थाप्दै भनिन्, ‘जसले फिल्म हेर्नुहुन्छ, आफूलाई रिलेट गर्नु सक्नुहुन्छ । केवल नम्रता हेर्नुका लागि मात्रै भनेर हलमा नजानुस् । नम्रता त ऋतु नामकी एउटा चरित्र मात्रै हो । त्यहाँ धेरै चरित्रको ठूलो मिहिनेत परेको छ ।’

आखिर फिल्ममा मानव पनि छन् जो एउटा लेखक हो । उसको जीवनमा युवती आएपछि उत्पन्न समस्यामा कसरी टयाकल गर्छ भन्ने नै फिल्ममा छ । तिनै मानवको भूमिकामा कोशिश छन् ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?