कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुरसुधाको सेङयाङ टुर

काठमाडौं — संगीतको कुनै भाषा हुँदैन भन्ने भनाइ हामीले सुन्दै आएका छौं । यो कुरा ‘सुरसुधा’ समूहको हालैको चीन भ्रमणले पुन: पुष्टि गरिदिएको छ । समूहले चीनको लियाओनिङ प्रदेशको सेङयाङ सहरमा सांगीतिक कार्यक्रम गरेको थियो । चिनियाँ भाषा मात्रै बुझ्ने त्यहाँका अधिकांश बासिन्दा नेपाली ब्यान्डको संगीतमा मुग्ध भए ।

सुरसुधाको सेङयाङ टुर

‘युवाहरूचाहिँ अंग्रेजी बुझ्दा रहेछन्,’ भर्खरै मुलुक फर्केका समूहका तबलावादक सुरेन्द्र श्रेष्ठले भने, ‘तर, अरूलाई चिनियाँबाहेक अरू भाषा नआउने । भाषा नबुझे पनि हाम्रो प्रस्तुति र हामीसँगै गएकी सरस्वती खत्रीको गायन उनीहरूले निकै रुचाए ।’ मे १८ मा सेङयाङ पुगेको ‘सुरसुधा’ र अन्य कलाकार टोलीले सहरका विभिन्न ठाउँमा कन्सर्ट गरेको थियो । त्यहाँको आर्ट युनिभर्सिटीमा प्रस्तुति दिँदा साह्रै रमाइलो भएको श्रेष्ठले सुनाए ।

समूहले नेपाली लोक र फयुजन धुनहरू त्यहाँ पस्केको थियो । उनीहरूको प्रस्तुतिलाई चिनियाँहरूले कतिसम्म मन पराए भने अर्को कन्सर्टलाई निम्तोसमेत दिन भ्याए । ‘यही वर्षको अन्त्यतिर सांघाई र बेइजिङमा कार्यक्रम गर्ने लगभग टुंगो भइसक्यो,’ श्रेष्ठले भने, ‘उनीहरू आफैं आएर निम्तो दिएका थिए ।’ टोलीमा सुरसुधाका तबलावादक श्रेष्ठसहित विकास सिंह (गितार), प्रेम राना (बाँसुरी) र राजीव श्रेष्ठ (सितार) चीन गएका थिए ।

आफूहरूले निकै फास्ट (तीव्र) स्केलमा बजाएकाले श्रोताले कम्पोजिसन मन पराएको श्रेष्ठको अनुमान छ । ‘विकास नेपालको फास्टेस्ट गिटारिस्टमध्येमा पर्छ,’ उनले भने, ‘प्रेमले १०–१५ मिनेट निरन्तर बाँसुरी बजाएको सुनेर उनीहरू आश्चर्यमा परे । सितार र तबला पनि त्यति चाँडो बजाएको पहिले सुनेका थिएनन् रे ।’ उनीहरूले गितार र सितारको फयुजन धुन प्रस्तुत गर्नुका साथै ‘रेसम फिरिरी...’, ‘सिमसिमे पानीमा...’ जस्ता लोक लय सुनाएका थिए ।

‘हामीसँगै गएकी सरस्वतीले चिनियाँ भाषामै गीत गाइदिइन्,’ श्रेष्ठले भने, ‘अरू कलाकारले नृत्य देखाए ।’ नेपालीको कार्यक्रममा चिनियाँहरूको उपस्थिति राम्रो रहेको पाउँदा आफू प्रफुल्ल भएको उनको भनाइ थियो ।

नेपालप्रति चासो
उत्तर कोरियासँग सिमाना जोडिएको लियाओनिङ चीनको उत्तरपूर्वी प्रदेश हो । यहाँ नेपालीहरू त्यति पुगेका छैनन् । जापानी र कोरियनहरूले व्यवसाय विस्तार गरिरहेको यो ठाउँले नेपाललाई बुद्ध जन्मेको देश भनेर चिन्छ । त्यहाँका बासिन्दालाई नेपालबारे यसभन्दा बढी केही थाहा नभएको श्रेष्ठले अनुभव गरे । ‘हामीले देशको प्रचार गर्ने अवसर पायौं,’ उनले भने, ‘यहाँ आउन निकै सहज छ भनेर बताइदियौं । उनीहरू उत्साहित भए ।’
श्रेष्ठलाई सेङयाङ सहरको खाना मीठो लागेछ । स्थानीयले अतिथिलाई गर्ने सत्कार नेपालीहरूको जस्तै भएको उनले पाए । ‘हामीले युरोप, अमेरिकातिर थुप्रै कन्सर्ट गर्‍यौं,’ श्रेष्ठले भने, ‘उनीहरूको हस्पिटालिटी हाम्रोभन्दा धेरै भिन्न छ । तर, यो सबालमा चिनियाँहरू हामीजस्तै हुँदा रहेछन् ।’ खाना खाए/नखाएको, थोरै खाएको जस्ता कुरा याद गरेको देखेर आफू आभारी भएको उनले बताए ।
एक हप्ते सांगीतिक भ्रमणमा सुरसुधाले पाँच ठाउँमा कन्सर्ट गरेको थियो । हरेक ठाउँमा उनीहरूलाई नेपालबारे प्रश्नहरू सोधिएका थिए । नेपाल कसरी जाने ? बुद्ध जन्मेको ठाउँ कति टाढा छ ? जस्ता जिज्ञासा धेरै आएको तबलावादक श्रेष्ठले बताए । ‘तपाईंहरू आउनुस् हामी सहयोग गरौंला भनेका छौं,’ उनले भने, ‘हाम्रो देशप्रति यति धेरै चासो देखाएको पाउँदा निकै खुसी लाग्यो ।’

प्रकाशित : जेष्ठ १४, २०७४ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?