‘भुइँमान्छे’ को फस्टलुक

काठमाडौं — दैनिक अस्पतालमा पोस्टमार्टम गर्ने मान्छेको जीवन कस्तो हुन्छ ? उसलाई समाजले कसरी हेरेको हुन्छ ? उसको मनोविज्ञान कस्तो होला ? यिनै कुराहरू समेटिएको फिल्म ‘भुइँमान्छे’ को गीत र फस्टलुक (टिजर) सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै साउन २० बाट फिल्म रिलिज हुनेसमेत फिल्म युनिटले घोषणा गरेको हो ।

‘भुइँमान्छे’ को फस्टलुक

फिल्ममा दैनिक शव चिर्ने मान्छेको मनोविज्ञान देखाउने कोसिस गरिएको फिल्मका पटकथाकार तथा निर्देशक नवराज बुढाथोकीले बताए । ‘हाम्रो एउटा प्रयास हो यस सब्जेक्टमा फिल्म बनाउने, जसलाई हामीले न्याय गरेजस्तो लाग्छ,’ उनले भने, ‘शव चिर्ने मान्छेको पनि आफ्नै जिन्दगी हुन्छ र उसले समाजबाट अपेक्षित व्यवहार नपाउँदा आउने परिस्थिति र त्यसमा खेल्ने मनोविज्ञानमा फिल्म आधारित छ ।’ फिल्ममा चिकित्सा क्षेत्रका विकृतिहरूलाई पनि चलचित्रले छोएको उनले सुनाए ।

शैली इन्टरटेन्मेन्ट एन्ड मुभिज प्रालि र शैली थिएटरको प्रस्तुति रहेको फिल्म ‘भुइँमान्छे’ मा सिपोरा गुरुङ, रमेश बुढाथोकी, सहिन प्रजापती, रोहणी भट्टराई, बादल भट्ट, रामबाबु रेग्मी, सशांक बोहोरा, आर्यन न्यौपाने, नारायण न्यौपाने, सानु ताम्राकार, सौरभ ढकाल, हरि यादवलगायतको अभिनय छ । त्यस्तै विशेष भूमिकामा तारा केसी, पुष्कर गुरुङ र नवीन श्रेष्ठलाई देख्न सकिने पनि युनिटले जानकारी दियो । कलाकार रमेश बुढाथोकीलाई आफूले पहिले गरेका फिल्मका क्यारेक्टरभन्दा यस फिल्ममा भिन्न हुने बताए । उनले भने, ‘मैले यसमा अभिनय गर्दा फरक महसुस गरेँ । यो क्यारेक्टरकै लागि मैले त्यस्ता व्यक्तिहरूको व्यवहार, हाउभाउलाई नियालेँ । किनकि यो क्यारेक्टर मेरो लागि सहज थिएन ।’ त्यस्तो पात्रलाई पर्दामा उतार्दा केही अप्ठेरोसँगै रमाइलो भएको उनले अनुभव साटे । फिल्मका प्रमुख निर्माता रोहिणी भट्टराई हुन् । सहायक निर्मातामा निरुपाराज्य लक्ष्मी थापा र हरि यादव छन् ।

फिल्ममा अर्जुन पोखरेल र देवेन्द्र राईको संगीत र महेश पौडयाल र दयाराम पाण्डेको शब्द रचना रहेको गीत शिव परियार, प्रमोद खरेल, दौलत राई र जुना प्रसाईंले गाएका छन् । नृत्य निर्देशन कमल राई र कविराज गहतराजले गरेका छन् भने द्वन्द्व निर्देशन अष्ट महर्जनले गरेका हुन् ।

प्रकाशित : जेष्ठ २१, २०७४ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?