२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

‘राधा’ लिएर शर्मिला

लेखनाथ, कास्की — मौलिक लोकगायिकाको परिचय बनाएकी शर्मिला गुरुङले लोक गीतको एल्बम ‘राधा’ लिएर आएकी छन् । उनले अर्का मौलिक लोक गायकको छवि बनाएका नारायण रायमाझीसँगको युगल गीत ‘मेरो माया छ भने राधा’ युटयुबमार्फत सार्वजनिक गरेकी छन् ।

१५ तीज गीतको एकल एल्बम सार्वजनिक गरे पनि लोक गीतको यो उनको दोस्रो एल्बम हो । उनले यसअघि लोक गीतको एल्बम ‘गहना’ ल्याएकी थिइन् । ‘राधा’ मा शब्द र संगीत नारायण रायमाझीको रहेको छ । उत्ताउला र भड्किलो लोकदोहोरी गीत बजारमा आइरहँदा शर्मिला भने सदैव त्यसबाट टाढा रहिन् । नारायणसँगको सहकार्यमा उनले ‘रामदी पुल..’, ‘कालो केशमा रातो रिबन..’, ‘गेटमा बेली जाइ..’ जस्ता चर्चित युगल लोक तथा दोहोरी गीत गाएकी छन् ।

‘राधा’ गीत पनि मौलिकताकै निरन्तरता भएको उनले बताइन् । ‘गीतले युटयुबमा राम्रो प्रतिक्रिया पाइरहेको छ, मेरा पहिलेका गीतमा जस्तै,’ उनले भनिन् । गीतको म्युजिक भिडियो पनि उनको जन्मस्थान स्याङ्जाको एलादीस्थित खाल्टेको सुन्तलाबारी होमस्टेमा छायांकन गरिएको छ । भिडियोको निर्देशन ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका नारायणले नै गरेका छन् । भिडियोको छायांकन र सम्पादन नारायण सत्यालले गरेका हुन् ।

सांगीतिक कार्यक्रमको सिलसिलामा पोखरा आएकी गुरुङले छिट्टै तीज गीतको एल्बम पनि सार्वजनिक गर्ने बताइन् । ‘धयरी रसैले’ तीज गीतको एल्बम १० दिन भित्र सार्वजनिक गर्ने उनको योजना छ । २ हजार ५ सयभन्दा बढी गीत गाइसकेकी गुरुङले पोखरामा हुने सांगीतिक कार्यक्रम छुटाउन मन नलाग्ने उल्लेख गर्दै भनिन्, ‘स्याङ्जा मेरो जन्मस्थान भए पनि पोखरा आफ्नै घरजस्तो लाग्छ ।’

प्रकाशित : असार १५, २०७४ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?