“संगीतमा आफ्नोपन जोगाउनुपर्छ”

मधु शाही

काठमाडौं — ‘पहेँलो दाल छ भने पाऊँ न,’ खानासित हरियो खुर्सानी कुटुक्क टोक्दै भारतीय गायक कुमार सानुले भने, ‘नेपाली खाना खुब मनपर्छ ।’

“संगीतमा आफ्नोपन जोगाउनुपर्छ”

कुमार सानुका नेपालमा पनि असंख्य फ्यान छन् । उनी भने नेपाल, नेपाली र यहाँको संस्कृतिको फ्यान रहेछन् । शनिबार एउटा कन्सर्ट सकेर आइतबार मन बहलाउन थानकोटस्थित चन्द्रागिरि पुगेका गायकले प्राकृतिक दृश्यको भरपूर आनन्द उठाए । ‘खानपिनमा निकै सोखिन छु,’ मध्याह्नको समय चन्द्रागिरि थुम्कामा खाना खाँदै उनले भने, ‘नेपाली परिकार साह्रै मनपर्छ । नेपाली कल्चर त भुल्नै सक्दिनँ ।’

‘नेपाली संगीत, नेपालीका श्रोतासँगको प्रगाढ नाता रहेको’ बताउने यी बंगाली गायकले पहिलो पटक पश्चिम बंगालको सिलिगुडीको एउटा होटलमा गीत गाउँदाको क्षण सम्झिए । उनले त्यहाँ नेपाली अडियन्सका लागि भनेर नारायण गोपालको गीत गाएका थिए रे । भने, ‘नेपाली संगीतको मेलोडी अत्यन्त मन छुने लाग्छ ।’
सन् ९० को दशकमा बलिउडमा चम्किएका कुमारले नेपाली भाषाका पनि धेरै गीत रेकर्ड गरेका छन् ।

‘उस बेलाका गीत नै बेग्लै थिए,’ उनले परिकारको स्वाद लिँदै भने, ‘अचेल खानामा त मिलावट हुन थाल्यो, संगीतको झन् के कुरा गर्नु ?’

प्रत्येक मुलुकको आफ्नै मौलिक संगीत हुने भन्दै उनले त्यसलाई जोगाउन संगीतकर्मीहरू सचेत हुनुपर्ने बताए । भने, ‘नेपाली संगीत पनि आफ्नै पाराको हुनुपर्छ, रहनुपर्छ । सस्तो लोकप्रियताका लागि अर्थहीन र मर्मविहीन गीत गाउनु समाजकै लागि हानिकारक हुन्छ । खराब गाना र खराब शब्दबाट टाढै हुनुपर्छ । भारतमा यस्ता गीतले समाज नै बिगारिसके । बलिउडको यस्तो कुप्रभाव नेपालमा नपरोस् भन्ने चाहन्छु ।’

पछिल्लो समय युवा पुस्तामा सस्तो लोकप्रियता खोज्ने प्रचलन बढ्न थालेको र बजारको पछि मात्रै लाग्ने संगीतकर्मी कुशल नहुने उनले औंल्याए । ‘आफ्नोपन झल्काउन आफैंले मेहनत गर्नुपर्छ,’ उनले भने, ‘कुमार सानु बन्न मैले धेरै पापड बेल्नुपरेको छ । बजारकै पछाडि लागेको भए सायद मेरो अस्तित्व क्षणिक हुन्थ्यो कि ?’

कुमारका अनुसार, संगीत पनि उक किसिमको ‘थेरापी’ हो । त्यसैले जुनसुकै गीत मर्मस्पर्शी र सार्थक हुनुपर्छ । विभिन्न भाषाभाषीका गरी २५ हजारभन्दा बढी गीत गाइसकेका ५९ वर्षे गायकले सुनाए, ‘अचेल गाउनकै लागि गाइदिने प्रचलन हावी हुन थालेको छ ।’

कुमारले चन्द्रागिरिमा भालेश्वर मन्दिरमा दर्शनपूजन गरे । रुद्राक्षको माला लगाई केही समय प्रार्थनामा मग्न देखिए । चन्द्रागिरिबाट वरिपरिको प्राकृतिक दृश्य नियाल्दै उनले थपे, ‘नेपाल पवित्र स्थल हो ।’ उनी सोमबारै भारत फर्किंदै छन् ।

‘उस बेलाका गीतै बेग्लै थिए । अचेल खानामा त मिलावट हुन थाल्यो, संगीतको झन् के कुरा गर्नु ?’

प्रकाशित : श्रावण २, २०७४ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?