कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कचहरीमा एकल महिलाको कथा

सुनीता साखकर्मी

ललितपुर — उनी सादा छिन्। आवरण निख्खर सेतो। तर उनीभित्रका सपना रंगीबिरंगी फूलहरूझैं सजिएका। वैदेशिक रोजगारीमा गएका पति नियतिले उतै खोसिदियो। एक्लो छोरोको पालनपोषणको जिम्मेवारी उनकै काँधमा आइपुग्यो।

कचहरीमा एकल महिलाको कथा

परिवारको साथ पाउनुको सट्टा उल्टै दोषी ठहरिइन्। एकल महिलाको अधिकार पाउन उनले उठाएको आवाज सुन्ने कसले? 

रंगकर्मी पवित्रा खड्काले एकल महिलाको अभिनयमा कचहरी नाटक मञ्चन गरिरहँदा दर्शकदीर्घामा रहेका अधिकांश एकल महिला भने भावुक भई हेरिरहे। गोदावरीस्थित गोदामचौरमा आइतबार गरिएको उक्त कचहरीलाई शिल्पी थिएटरले प्रस्तुत गरेको हो। महिला मानव अधिकार, एकल महिला समूहले गोदाम चौरमा नागरिकता, व्यक्तिगत घटना दर्ता र महिला हिंसाविरुद्धको जनचेतना विषयक एकदिने सूचनामूलक प्रदर्शनीअन्तर्गत नाटक प्रस्तुत गरिएको थियो। 

अहिले पनि एकल महिला कोष, विवाह दर्ताको आवश्यकता, नागरिकतासम्बन्धी महिलाहरूलाई जनचेतना नै नभएकोले कचहरीमार्फत सूसुचित गर्न खोजिएको प्रोग्राम अफिसर मनिषा श्रेष्ठले बताइन्। ‘महिलामाथि हुने कुटपिटलाई मात्रै हिंसा ठानिएको छ,’ उनले भनिन्, ‘राज्यबाट पाउनुपर्ने अधिकार नपाएर आर्थिक, मानसिक, सामाजिक रूपमा पिछडिनु पनि हिंसा नै हो।’ 

नाटककी मुख्य पात्रले प्रेम विवाह गरेकी थिइन्। भागेर विवाह गरेकैले माइतीबाट त वहिस्कृत भईन् नै, घरमा पनि ‘भागेर आएकी’ भनेर अपहेलित भइरहन्थिन्। पतिको निधनपछि त झनै एक्लिइन्। समाजको कटुवचन र कोरा सेतो कपडाले पोल्न थालेपछि उनले आफूलाई रंगीबिरंगी रंगहरूले सिंगार्न थाल्छिन्। स्कुल पढाउन छोराको जन्मदर्ता चाहिने भयो। तर आफ्नै नागरिकता नभएकोले उनले छोरालाई जन्मदर्ता बनाइदिन सकिनन्। सासु–ससुरासँग हार गुहार गरिन् तर मानेनन्। 

विवाहको फोटो र छोरा साथमा लिएर सिडियो कार्यालय पुगिन् तर पनि प्रमाण नपुगेको भन्दै सरकारी अधिकारीले नागरिकता बनाउन मानेनन्। मञ्चमा ती एकल महिला अपहेलित भई अन्यायमा परिरहँदा दर्शकमा विस्तारै एकखाले आक्रोश जागिरहेको थियो। दर्शकहरू उनलाई हिम्मत दिन चाहन्थे। दर्शक र पात्रबीचको सहजकर्ताको भूमिकामा रहेका चन्द्रप्रसाद पाण्डेले नाटकलाई रोक्दै सोधिहाले, ‘अब सिडियो र घरकालाई मनाउन के गर्नुपर्ला त?’ दर्शकदीर्घाबाट धेरै प्रकारका उपाय आए। 

एक दर्शकले छिमेकीको भूमिका निर्वाह गर्दै सीडीओ र नाटक पात्रकी सासु/ससुरालाई भनिन्, ‘आफ्नी बुहारीलाई नागरिकता, पहिचान नदिँदा समाजमा इज्जत जान्छ, कानुनी सजाय भोग्नुपर्छ। नातिको जीवन बर्वाद हुन्छ।’ उनले सम्झाएपछि सीडीओ नागरिकता बनाइदिन राजी भए र नाटकले सुखद ढंगले बिट मार्‍यो। 

सरल शैलीमा मञ्चन गरिएको नाटकमा कलाकारहरूले जीवन्त अभिनय गरेका थिए। नाटकमा लुनिभा तुलाधर, जीवन बराल, सुमन कुइँकेल, संगीता उराँव, सविन कट्टेल, झकेन्द्र बिसी, पवित्रा खड्का, सुलभ पाण्डे, गोविन्द तिमल्सिना र चन्द्रप्रसाद पाण्डेको अभिनय रहेको थियो।

प्रकाशित : श्रावण १७, २०७४ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?