“जात्रा” को फेरि वर्चस्व

सिने सर्कल अवार्ड
कान्तिपुर संवाददाता

काठमाडौं — सिने सर्कल नेपालद्वारा राजधानीको आर्मी अफिसर्स क्लबमा आयोजित सिने सर्कल अवार्डमा ‘जात्रा’ ले वर्चस्व कायम गरेको छ । गत वर्ष राम्रो समीक्षासमेत पाएको ‘जात्रा’ ले सोमबार सर्वाधिक ६ विधामा अवार्ड जित्यो ।

“जात्रा” को फेरि वर्चस्व

यस वर्षको हालसम्मका अन्य अवार्डमा पनि उक्त फिल्मको वर्चस्व रहँदै आएको छ ।

उत्कृष्ट फिल्म घोषित ‘जात्रा’ ले अभिनेतातर्फ विपिन कार्की, अभिनेत्रीमा वर्षा राउत, छायाकारमा दीर्घ गुरुङ, उत्कृष्ट पटकथा तथा निर्देशन दुवैमा प्रदीप भट्टराईलाई अवार्ड दिलायो ।

समारोहको आकर्षण भने ‘माइतीघर’ का अभिनेता/अभिनेत्री सीपी लोहनी र माला सिन्हा रहे । ५१ वर्षअघि निजी क्षेत्रबाट निर्मित पहिलो नेपाली फिल्म ‘माइतीघर’ लाई स्मरण गर्दै आयोजना गरिएको सिने सर्कल अवार्डमा फिल्मका मुख्य जोडीलाई नै विशेष सम्मान प्रदान गरियो । अवार्डकै लागि भारतदेखि आएका सीपी दम्पतीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरे ।

यसैगरी, सोही फिल्मका गायक प्रेमध्वज प्रधान, गीतकारद्वय किरण खरेल र यादव खरेलसहितका व्यक्तित्वलाई पनि सम्मान गरियो । नेपाली सेनाको ब्यान्डले ‘माइतीघर’ देखि ‘पुरानो डुंगा’ सम्मका लोकप्रिय गीतको धुन प्रस्तुत गर्दै सुरु गरेको अवार्डमा द्वन्द्व निर्देशक एनबी महर्जनलाई ५१ हजार रुपैयाँसहित लाइफटाइम एचिभमेन्ट अवार्ड दिइयो । ‘पुरानो डुंगा’ बाट माओत्से गुरुङ र मेनुका प्रधानलाई उत्कृष्ट जोडीको अवार्ड दिइँदा सोही फिल्मका संगीतकार कालीप्रसाद बाँस्कोटा (निर जैले रिसाउने...) उत्कृष्ट ठहरिए ।

‘छक्का पञ्जा’ ले सर्वाधिक कमाइमा अवार्ड जित्दा सोही फिल्मका दीपकराज गिरी र प्रियंका कार्कीलाई पपुलर अभिनेता/अभिनेत्रीको अवार्ड दिइयो । पोस्टर नक्कलको विवादमा परे पनि ‘छक्का पञ्जा’ कै लागि पोस्टरको अवार्ड सुन्दर श्रेष्ठलाई दिइयो । यसैबाट कविराज गहतराज कोरियोग्राफीमा उत्कृष्ट रहे ।

द्वन्द्व निर्देशकमा हिमाल केसी (के म तिम्रो होइन र), गायकमा युवराज चौलागाईं (पलाँस), गायिकामा मीना निरौला (लुट २), सम्पादकमा अर्जुन जीसी (वीरविक्रम), ध्वनि मिश्रणमा शैलेश श्रेष्ठ (गाजलु) ले अवार्ड पाए ।


जितु नेपालको हास्य प्रस्तुति र कलाकारहरूको नृत्य, गायनले माहोल तताएको अवार्डमा ‘बिजुली मेसिन’ ले प्रशंसनीय अवार्ड जित्दा कालीप्रसाद बाँस्कोटाले ‘ठमेल बजार...’ गीतका लागि वर्षको चर्चित गीतको अवार्ड हत्याए । त्यसैगरी, उत्कृष्ट स्टन्टका लागि राजु तामाङ (जय पर्शुराम), ट्रेलर सुरेन्द्र पौडेल (लुट २) र उत्कृष्ट भीएफएक्सको अवार्ड सत्यम राना र सुदीप आचार्य ‘जय पर्शुराम’ बाट संयुक्त रूपमा विजयी भएका थिए ।

तस्बिर सौजन्य : योगप्रसाद विमली

प्रकाशित : श्रावण २५, २०७४ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?