दरौंदीमा प्रेम खोज्दै आशान्त

कान्तिपुर संवाददाता

काठमाडौं — आशान्त शर्मा अभिनयका हिसाबले राम्रा रंगकर्मीमा गनिन्छन् । विसं २०५० पछि रंगमञ्चमा औपचारिक पाइला टेकेका उनले पछिल्लो समय निर्देशनमा समेत निरन्तर क्षमता दर्साइरहेका छन् ।

दरौंदीमा प्रेम खोज्दै आशान्त

तर, निर्देशनमा उनी आफैंलाई भने अझै चित्त बुझेको छैन । रंगमञ्चमा अभिनय गर्दा जति सहज महसुस गर्छन्, त्यति निर्देशन र अन्य पाटोमा चुनौती नै लाग्छ उनलाई । ‘तैपनि रंगमञ्चमा अभिनय मात्रै पूर्ण होइन,’ उनी भन्छन्, ‘सबै क्षेत्रमा उत्तिकै अनुभव बटुल्नुपर्छ ।’ 

आधा दर्जन नाटक निर्देशन गरिसकेका आशान्तलाई यति बेला राजधानीको शिल्पी थिएटरमा भेट्न सकिन्छ, नाटकसहित । उनकै लेखन र निर्देशन रहेको ‘दरौंदीको पानी’ यतिबेला मञ्चन भइरहेको छ । गोर्खा राज्यका राजा राम शाह, गुरु गोरखनाथका शिष्य लखन थापामगर र राम शाहकी महारानी लीलावतीबीचको सम्बन्धलाई यो नाटकले टिपेको छ । यो नाटकमा एउटै मञ्चमा सात कलाकारले राजा, रानी, नोकर, जनता, गोरखनाथ, जोगीहरू, पुजारी, गाउँलेलगायत थुप्रै पात्रको अभिनय गरेका छन् । दर्शकले पत्तो नै नपाउने गरी मञ्चमा चरित्रहरूको बदलाब आउनु यसको विशेषता हो । 

आशान्तले कलाकारको अभिनयमा भन्दा पनि शैली र प्रस्तुतिमा बढी जोड दिएको देखिन्छ । ‘यो नाटक अलिक फरक नै छ,’ उनी भन्छन्, ‘डबलीमा देखाउने खालको बनाएको छु ।’ यस्तो प्रकारको नाटक मञ्च, सडक, डबली हरेक स्थानमा मञ्चन गर्न सहज हुने आशान्तले बताए । रंगमञ्चलाई व्यापक दर्शकको पहुँचमा विस्तार गर्न पनि यस्तो शैली प्रभावकारी हुन्छ । त्यसो त आशान्त नेपाली रंगमञ्चमा केही न केही फरक नै गरिरहेका छन् । केहीअघि उनले कथाहरूलाई नाटकमा ढालेर मञ्चन गरेका थिए । ‘तीन एकान्त’, ‘मलामी’, ‘टलक जंग भर्सेस टुल्के’, ‘कन्फ्रेन्स अफ दी गड’, ‘इन द रेड एन्ड ब्राउन्ड वाटर’, ‘वेटिङ फर गोदो’, ‘मास्टर हेरल्ड एन्ड द ब्वाइज’ लगायतमा नाटकमा आशान्तले अब्बल रंगकर्मीको छवि छाडिसकेका छन् । लेखन, निर्देशन, लाइटिङजस्ता रंगमञ्चका अनेक विधामा उनी अनुभव बटुल्न चाहन्छन् । ‘त्यही भएर अभिनय मात्र नभई निर्देशनलाई पनि निरन्तरता दिइरहेको हुँ,’ उनी भन्छन् । 

फरक अभिनयका साथ फिल्मतिर पनि बेलाबेला झुल्किने उनी ‘अभिनय गर्दा जति स्वतन्त्र महसुस हुन्छ, निर्देशनमा त्यो अवसर नपाइने’ अनुभव सुनाउँछन् । झन्डै डेढ घण्टा लामो नाटक ‘दरौंदीको पानी’ मा उनले लखन थापा र महारानी लीलावतीको प्रेमप्रसंग जोडेका छन् । साथै टुक्रेराज्य एक बनाउन राजाहरूले गर्ने अनेक षडयन्त्र, राजदरबारभित्रको चलखेल, त्यसबेलाको नेपाली जीवनशैलीका स–साना तर लोभलाग्दा दृश्यहरू नाटकमा छन् । यस हिसाबले नाटक इतिहासको गर्भमा लुकिबसेका स–साना तर रोचक थुँगाहरूको सुन्दर माला बनेको छ । गम्भीर विषयवस्तु बुलन्द पार्न कलाकारहरूले अभिनयमार्फत उत्तिकै काम गरेका छन् । नाटकमा कमल देवकोटा, अजस्र ढुंगाना, प्रयास बान्तवा राई, नमिता घिसिङ, बिना थापा, अस्मिता खनाल, वीरेन्द्र मुखियाले अभिनय गरेका छन् ।

‘दरौंदीको पानी’ साउनभर मञ्चन हुनेछ । 

प्रकाशित : श्रावण २५, २०७४ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?