राहतमा जुटे निश्चल–आशिफ

कान्तिपुर संवाददाता

काठमाडौं — तराईका बाढी पीडितका लागि फिल्मकर्मीद्वय निश्चल बस्नेत र आसिफ शाहले राहतको अभियान थालेका छन् । दुवैले ५०–५० हजार रुपैयाँ सहयोग रकमबाट सुरु गरिएको उक्त अभियानमा सर्वसाधारणले समेत मोबाइल र इन्टरनेटमार्फत गच्छेअनुसार सहयोग गर्न सक्ने बनाइएको छ ।

जसका लागि ई–सेवाले सहकार्य गरेको छ । ई–सेवाले पनि कर्मचारीकोसमेत गरी साढे तीन लाख रुपैयाँ अभियानमा सहयोग गरेको जनाएको छ ।

तराई क्षेत्रमा अविरल वर्षापछि आएको बाढीले अधिकांश क्षेत्र डुबानमा परेपछि बासस्थान र खानपानको अभाव देखिएको छ । निश्चलको ब्ल्याक हर्स पिक्चर्स र आशिफको जीटू वान पिक्चर्स कम्पनीमार्फत उक्त सहयोग अभियानको थालनी गरेका हुन् । 

अभियानबारे निश्चलले भने, ‘अहिले सकेसम्म तराईमा नै पुगेर सहयोग गर्नु ठूलो हो । तर त्यहाँ पुग्न नसकिएको खण्डमा पनि यस अभियानले घर–घरबाट सहयोग गर्न चाहनेलाई सजिलो बनाइदिन सक्छ ।’ अभियानबाट उठेको रकम सबै नै पीडितका लागि प्रदान गरिने आशिफले बताए । उनले उठाइएको रकम ई–सेवाको डोनेसन खण्डमा समेत हेर्न सकिने उल्लेख गरे । फिल्म ‘२ रुपैयाँ’ का कलाकारद्वय निश्चल र आशिफको जुगलबन्दी राहत अभियानमा समेत देखिएको हो ।

प्रकाशित : श्रावण ३२, २०७४ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्

आधा बसभित्र प्रेमयात्रा

कान्तिपुर संवाददाता

काठमाडौं — वर्षा यामको बेला गाडीमा लामो दूरी यात्रा गर्न अलि असहज हुन्छ । कतै पहिरो जाने डर त कतै गाडी हिलोमा फस्ला भन्ने पीर । तर, छोटो दूरीको यात्रामा यस्ता समस्या खासै आइपर्दैनन् ।

बरु आफू सवार गाडीभित्र ‘राम्रा’ मान्छे भेटिए भने यात्राको रमाइलो अर्कै हुन्छ । त्यस्तो बेला गन्तव्य अलि ढिलै आइदिए हुन्थ्यो भन्नेसमेत लाग्न सक्छ ।

नाटक ‘को १ छ, छ १ छ’ का एक युवा पात्र यस्तै मनस्थितिमा छन् । उनी भृकुटी चोकदेखि बेलबारी हिँडिरहेका छन् । गाडीमा एउटी सुन्दर युवती पनि छिन्, जसलाई देखेर युवकको होसहवास उड्छ । उनी ती युवतीको नजिक हुन खोज्छन्, बोल्न खोज्छन्, प्रेम कहानी नै सुरु गर्न खोज्छन् । तर, परिस्थिति अनुकूल हुँदैन । एकघण्टे यात्रामा उनी अनेक जुक्ति लगाइरहेका देखिन्छन् । 

आधा यातायात (गाडीको नाम) का सहचालक, वृद्ध बाजे र बीचबीचमा गाडी चढ्ने अन्य यात्रु ती युवाको प्रेम–प्रयत्नमा भाँजो हालिदिन्छन् । कतिसम्म भने युवा बेला–बेलामा झुपुक्क निदाएर रोमान्टिक सपना देख्छ । तर, वृद्ध बाजे छाताको डन्डीले कोट्याउँदै उसलाई बिउँझाइदिन्छन् । ऊ सपनासमेत चैनले देख्न पाउँदैन । झिल्के पाराको सहचालक युवालाई केटीको नजिक पर्न दिँदैन भने बीचमा गाडी चढेको एक यात्रु केटी जिस्क्याएको ठानी युवालाई चड्काउँछ । यी सबै दृश्य संवादरहित छन् । पात्रहरूको हाउभाउकै भरमा कथा अघि बढ्छ । संवादको अभाव संगीतले मेटाउन खोजिएको छ । निर्माण पक्षले नाटकलाई ‘सांगीतिक यात्रा’ नै भनेर चिनाएका छन् । तर, संगीत त्यति ‘डोमिनेटिङ’ वा ‘पावरफुल’ छैन । एउटै लय सुनिरहेजस्तो लाग्छ । म्युजिसियन समेत रहेका नाटक निर्देशक आधा सुरले नाटकमा सांगीतिक विविधता दिनुपर्थ्यो  । 

माइम शैलीको नाटकमा हयुमर सिर्जना गर्न कुनै नयाँ शैली अपनाइएको पाइँदैन । पुरानै ढर्रा पछयाइएको छ, जस्तै– सुरुवालमा पानी पोखाउनु आदि । संवादरहित नाटकमा कलाकारहरूको फेसियल एक्स्प्रेसन, जेस्चर, पोस्चर महत्त्वपूर्ण हुन्छ, उक्त नाटकमा यो पनि फिक्का लाग्छ । गाडीको डिजाइन भने निकै राम्रो छ । नाटकको सुरुवातमा गाडी देख्दा दर्शकले ठूलै अपेक्षा राख्नु अस्वाभाविक हुँदैन । फिल्ममा झैं क्रेडिट लिस्ट देखाउने शैली पनि सुन्दर छ । १ सय ३० जना अटाउने भनिएको गाडीमा अलि धेरै प्यासेन्जर देखाएको भए गाडीभित्रको दुनियाँ भिन्न हुन्थ्यो । 

साउन २७ देखि अनामनगरको मण्डला थिएटरमा मञ्चन भइरहेको नाटकमा अमृत ढुंगाना, निशा कार्की, मिलन कार्की, आयान खड्का, अनुप न्यौपाने, रियर राई र रोहित पौडेलले अभिनय गरेका छन् । जिरो सर्कल इन्टरटेन्मेन्टस्को उक्त प्रस्तुति भदौ १७ सम्म हेर्न पाइनेछ । गाडीभित्र कहिल्यै कसैलाई मन पराइएको छ भने यो नाटक हेर्दा रमाइलै होला ।

प्रकाशित : श्रावण ३२, २०७४ ०८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्