विदेशमा पनि उतै उल्लास

नारायण खड्का

अस्ट्रेलिया — खुला बजार तथा विश्वव्यापीकरणले साना मुलुकहरूलाई पुर्‍याएको फाइदा चाडपर्वहरूबाट झल्किन्छ । अझ आधुनिक सञ्चार प्रविधि र सामाजिक सञ्जालले संसारका जुनसुकै कुनामा पुगेको भए पनि सँगसँगै भएको महसुस गराउनु अर्को रोचकता हो ।

विदेशमा पनि उतै उल्लास

पछिल्लो समय अस्ट्रेलियामा नेपाली कला र संस्कृतिजन्य गतिविधि निकै लोभलाग्दो बन्दै गइरहेका छ । गतवर्षहरूको तुलनामा यस वर्षको तीजमा नेपालका सांगीतिक प्रस्तुति दिन आउने कलाकारहरूको संख्या ह्वात्तै बढ्यो । 

यसपटक करिब ढेड दर्जन कलाकार तीजको मेसो पारी अस्ट्रेलिया आए । यसपटक आउनेमा गायक/गायिका सुनीता दुलाल, सिन्धु मल्ल, देवी घर्तीमगर, चन्दा अर्याल, पशुपति शर्मा, खुमन अधिकारी, रमिला न्यौपाने, बद्री पंगेनी, मुना थापामगर, प्रिया भण्डारी, टीका पुन, उमा गिरी, टीका प्रसाईंलगायत थिए । अभिनेत्री वर्षा राउत पनि तीजकै मेसोमा आयोजित कार्यक्रमका लागि आइपुगिन् । यिनीहरूले सिड्नी, मेलबर्न, ब्रिसबन, एडिलेड लगायतका सहरहरू मात्र नभएर नेपालीहरूको बसोबास रहेको अन्य स्थानहरूमा समेत प्रस्तुति दिए । 


‘यसले प्रवासमा नेपाली कला संस्कृतिप्रतिको चासो बढ्दै छ भन्ने पुष्टि गर्छ,’ इभेन्ट अर्गनाइजर बीएमएस फिल्मसा प्रमुख वीरेन्द्रदीप मल्लले भने, ‘सिंगो नेपाली समुदायका लागि यो खुसीको कुरा हो ।’ उनका अनुसार यस्ता कार्यक्रमहरू धेरैजसो त सामाजिक उद्देश्यसहित हुन्छन् । यस वर्ष नारी निकुञ्जले नेपालमा दुर्गम भेकका महिलाको स्वास्थ्यमा सहयोग पुर्‍याउनका लागि तीजका कार्यक्रम गरेको थियो भने अन्य संघसंस्थाहरूले पनि विभिन्न सामाजिक उद्देश्य बोकेर गरेका थिए । 

तीजको रमझमको यहाँ भिन्न माहोल बनिरहेको छ । साथीभाइ र आफन्त जम्मा भएर दैनिकजसो दर खाने केही दिनदेखि नै जारी छ । यस्तो जमघटमा उनीहरू नेपाली परम्परागत साडीचोलो, कुर्तासुरुवाल, पोते, चुरालगायतका परिधानमा सजिएका हुन्छन् । यस्ता जमघट सहरअनुसार हुन थालेका छन् । 

सिड्नी, मेलबर्न, एडिलेड, ब्रिसबन लगायतका ठूला सहरहरूमा ठूलै जमघट हुने गर्छन् भने डब्बो, अरेन्ज लगायतका दुर्गम भेगमा समेत सानातिना इभेन्ट हुन थालेका छन् । पछिल्लो समय केही मात्रामा भारतीय लेहेन्गा लगाउने प्रचलन बढेको भए पनि साडी–चोलोले नै यसपालिको तीजमा बढी महत्त्व पाएको देखियो । ‘तीज महिलाको मात्रै नभई नेपाल र नेपालीको चाड हो,’ रातो साडीमा सजिएकी विराटनगरकी कविता चुडालले सुनाइन्, ‘त्यही भएर हाम्रो पहिचान प्रवद्र्धनका लागि पनि मौलिकता छोड्न मिलेन नि ।’ 

सामान्यत: तीजमा सेलरोटी, अचार, मासु, चिउराको मेनु प्राथमिकतामा पर्छ । पछिल्लो समय भने थकाली खानाले स्थान लिँदै गएको छ । आफन्त, साथीभाइ जम्मा हुने र नाचगान गर्दै खाएको दृश्य सामाजिक सञ्जालमा पोस्ट गर्नेहरू थुप्रै भेटिन्छन् ।

 

प्रकाशित : भाद्र ८, २०७४ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?