१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

क्यान्सर लागेपछि जीवनको महत्व बुझें : मनिषा

प्रशान्त माली

ललितपुर — अभिनेत्री मनिषा कोइरालाले आत्मबल बढाउन सके क्यान्सर लागे पनि रोगलाई जित्न सकिने बताएकी छन् ।

क्यान्सर लागेपछि जीवनको महत्व बुझें : मनिषा

पाँच वर्षअघि डिम्बासयको क्यान्सरको अन्तिम चरण (चौथो चरण)मा पुगेर पनि क्यान्सरलाई जित्न सकेकी अभिनेत्री कोइरालाले भनिन्, ‘क्यान्सर लाग्यो भनेर हरेस खान हुँदैन ।’ नेसनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेल तथा क्यान्सर केयर नेपालको संयुक्त आयोजनामा मंगलबार ललितपुरमा आयोजित डिम्वासय क्यान्सरबारे जनचेतनामूलक अन्तर्क्रियामा अभिनेत्री कोइरालाले सन्तुलित आहार, सरल र सुखी जीवनशैली, नियमित योगाभ्यास र सकारात्मक सोचले क्यान्सर लागेका बिरामीको आयु बढाउने बताइन् ।

क्यान्सर रोगको नामै सुन्दा डर लाग्ने, जटिल रोग, यसको पीडा, त्यसपछिका भोगाईले बिरामीलाई स्वाभाविकरुपमा चिन्तित बनाउने बताउँदै उनले भनिन्, ‘यसमा परिवार र समाजले पनि हौसला र सहयोग गर्नु जरुरी छ ।’हिन्दी फिल्म खेल्ने तयारीमा रहेकी कोइराला अहिले विभिन्न ठाउँमा गएर क्यान्सरबारे जनचेतना फैलाउँदै आएकी छन् । उनी संयुक्त राष्ट्रसंघीय खाद्य, जनसंख्या तथा कृषि कार्यक्रम युएनएफपिएको सद्‌भावना दूत पनि हुन् ।

अन्तर्क्रियामा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले क्यान्सर महँगो रोग भएकोले यसको उपचारमा आर्थिक भार धेरै लाग्ने बताए । त्यसैले आफ्नो कार्याकालयमा आफूले स्वास्थ्य विमाको नीतिका साथै सरल र सुलभ औषधि उपचारको नीति अघि सारेको उनले बताए ।

क्यान्सर केयर नेपालकी कार्यकारी सदस्य एवं वीर अस्पतालको अंकोलोजी विभागकी क्यान्सर विशेषज्ञ डा.सन्ध्या चापागाईंले डिम्वाशय र डिम्वनलीको क्यान्सरका कारण विश्वमा मर्ने महिलाहरुको संख्या पाँचौ नम्बरमा भए तापनि नेपालमा भने चौथो नम्बरमा रहेको बताइन् । ‘यस्ता रोगीलाई क्यान्सर लागेको पहिलोचरणमै उपचार गर्नसके ९० प्रतिशत र चौथो चरणमा पुगेको बेलामा उपचार गरे १७ प्रतिशतमात्रै बाँच्छन्,’उनले भनिन् ।

नेसनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेल तथा क्यान्सर केयर नेपालका कार्यकारी अध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा. मदनकुमार पियाले महिलाहरुको डिम्वाशयको क्यान्सरका विरामी दिनप्रतिदिन बढीरहेको हुनाले महिलाहरुलाई सहभागी गराई यसबारे जनचेतना फैलाउन कार्यक्रम आयोजना गरेको बताए ।

प्रकाशित : भाद्र २१, २०७४ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?