कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

एउटा शालीन साँझ

काठमाडौं — संगीतमा लागेको लामो समयपछि र अनेकौं हिट नम्बर दिइसकेपछि गायिका अञ्जु पन्त एकल साँझमा उत्रिइन् ।

एउटा शालीन साँझ

लक्ष्मण लोहनीको शब्द र चन्द्रराज शर्माको संगीतमा नारायण गोपालले गाएको ‘म मरे पनि मलाई मेरो देशको माया छ...’ बोलको गीतमार्फत उनले शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘अन्जु पन्त सुमधुर सन्ध्या–२०७४’ प्रारम्भ गरेकी थिइन् ।

म्युजिक रेकर्डिस्ट एसोसिएसन नेपाल र अञ्जु पन्त फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा अञ्जुले १७ गीत सुनाइन् । उनको प्रस्तुति शालीन र सभ्य थियो भने गायकी मजबुत सुनियो । दुई दर्जन वाद्यवादकका साथमा उनले दुई घण्टा लगालग गाइन् । वादन टोलीको नेतृत्व अमुल कार्कीढलीले गरेका थिए ।

आमालाई ढोगेर स्टेज चढेकी अञ्जुले पहिलो चरणमा ‘कसले चोर्‍यो मेरो मन...’, ‘तिमीबिना एक पल...’, ‘म यस्तो गीत गाउँछु...’, ‘पल–पल रोएँ जिन्दगीमा...’, ‘तिमीले पराई ठानेपछि...’ लगायत गीत प्रस्तुत गरिन् ।

तेह्रथुमको संक्रान्ति बजारमा जन्मिएकी उनले गुरु कृष्णमान डंगोल र फूपू जानकी केसीका कारण आफू संगीतमा लागेको बताइन् । रेडियो नेपालले आयोजना गरेको देशव्यापी आधुनिक गीत प्रतियोगितामा पहिलो भएयता उनले ६ हजार गीतमा आवाज दिइसकेकी छन् । ‘मेरो जिन्दगीमा धेरै उतारचढाव आए,’ एक छोरीकी आमा अञ्जुले भनिन्, ‘तर, सांगीतिक यात्रा स्वर्णिम नै रह्यो ।’

पहिलो चोटि एकल साँझ गरेकाले कतिपय कुरा नमिलेको भन्दै उनले पटकपटक माफी मागिरहिन् ।

सुरुमा लहंगा स्टाइलको नीलो सारीमा झुल्किएकी उनी दोस्रो पटक मञ्चमा आउँदा रातो गाउनमा थिइन् । यसपालि उनले ‘सागरसरी चोखो माया...’, ‘कहाँ भेटिएला...’, ‘मेरा आशक्तिका भावना...’, ‘न बिर्सें तिमीलाई...’, ‘तिमी कसको हुने होला...’, ‘तिर्खा लाग्यो पानी खाएँ...’ जस्ता आफ्ना चर्चित गीतहरू ब्याक टु ब्याक सुनाइन् । आफूले गुरु मानेका व्यक्तित्वहरूको नाम लिँदै उनले फत्तेमान राजभण्डारीको गाना ‘यस्तो पनि हुँदो रैछ...’ प्रस्तुत गरेकी थिइन् । ‘धेरै जना गुरुहरूको आशीर्वाद पाएकाले म यहाँसम्म आइपुगेकी हुँ,’ उनले भनिन्, ‘फत्तेमान बाबा, रञ्जित गजमेर बाबाले मलाई धेरै आशीर्वाद दिनुभयो ।’

अञ्जुले आफूलाई तबला, बेस गिटार र सेक्सोफोन निकै मन पर्ने बताइन् । यी बाजा बजाउन सिकाउने गुरुलाई पनि उनले स्टेजबाटै नमन गरिन् । ‘अरू बाजा पनि मनपर्छ है,’ उनले ठट्टा गरिन्, ‘यहाँ मलाई साथ दिने दाजुभाइहरू रिसाउनुहोला फेरि ।’

कार्यक्रममा अञ्जुले जिन्दगीमा पहिलो पटक गाएको भजन ‘मनमनकै योगी बनाऊ...’ सुनाउँदा हलमा तालीको गडगडाहट सुनिइरह्यो । गीतकार, संगीतकार, अरेन्जर, सहगायक सबैको नाम लिँदै उनले गीतहरू प्रस्तुत गरेकी थिइन् । 

कार्यक्रमको पूर्वाद्र्धमा अञ्जुलाई गायक सुरेश लामाले साथ दिएका थिए । उनीहरूले ‘गोर्खा पल्टन...’ र ‘सुर्के थैली खै...’ सुनाउँदा दर्शकश्रोता नाचुँला झैँ गरिरहेका थिए । खचाखच भरिएको हल देखेर अञ्जुले आफू भाग्यमानी भएको बताएकी थिइन् ।

‘कति धेरै माया गर्नु भएको मलाई ?’ उनले भनिन्, ‘सबैप्रति आभारी छु ।’ एकल साँझ गर्न ढिला गर्नुको कारणमा चाहिँ उनले आफूलाई योग्य बनाउनपट्टि लागेको बताइन् । ‘म सिनियर नभइसकेकाले ढिला भयो,’ उनले भनिन् ।

 

प्रकाशित : भाद्र २६, २०७४ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?