कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘माई लभ’ मंसिरमा

काठमाडौं — जापानी निर्देशक तोसिआकी इतोह निर्देशित ‘माई लभ : प्रमिस फर काठमान्डु’ मंसिरमा देशभर रिलिज हुने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी रिलिज डेट सार्वजनिक गरिएको हो ।

 ‘माई लभ’ मंसिरमा

फिल्मको सोमबार भने राष्ट्रिय सभागृहमा विशेष सो गरिँदै छ । सोका लागि जापानी कलाकार टोली यतिबेला काठमाडौं आइपुगेको छ । 

तोसिआकीको यो तेस्रो नेपाली फिल्म हो । ‘शिरीषको फूल’ को निर्देशक तोसिआकीले पहिलोपटक सन् २००७ मा नेपाली सम्पदा संरक्षणको सन्देशसहित फिल्म ‘कठपुतली’ बनाएका थिए । नयाँ फिल्म ‘माई लभ’ उनले ‘कठपुतली’ कै सिक्वेलका रूपमा बनाएका हुन् ।

सम्पदा संरक्षणको अभियानमा लाग्दालाग्दै थकित बनेको रमेश जापान पलायन भएपछिको यात्रा यो फिल्ममा छ । २०७२ को विनाशकारी भूकम्पमा परेर हराएकी आफ्नी प्रेमिकाको खोजी गर्न नेपाल फर्केका तिनै पात्रले गर्ने संघर्ष र उतारचढाव फिल्ममा देखाइएको तोसिआकीले बताए । दुवै देशमा छायांकन गरिएको फिल्ममा नेपालको मछिन्द्रनाथको जात्रासित जापानको सुवामा प्रचलित जात्रासितको सांस्कृतिक समानता पनि प्रस्तुत गर्न खोजिएको उनले बताए । ‘माई लभ’ को मुख्य कलाकारको रूपमा उनले ‘शिरीषको फूल’ र ‘कठपुतली’कै नायक गणेश लामालाई लिएका छन् । 

फिल्म क्रियसन नेपालको ब्यानरमा निर्माण गरिएको ‘माई लभ’मा जापानबाट युइची हायदा, रिवोन मिजुतानी, सुइतारो माजाता, काजोतोसी थासाका, थामिया मोतो र नेपालबाट गणेशसँगै, शीतल श्रेष्ठ, चैत्यदेवी सिंह, मञ्जु श्रेष्ठ, चाँदनी लामा, शान्ति वाइबा, राजु भुजू, बबी लिम्बू लगायतले अभिनय गरेका छन् । गौरीशंकर धुजूको छायांकन, दिनेश सुनामको संगीत, जापानी चलचित्रकर्मी थाक मिया मोतोको भीएफएक्स रहेको छ ।

‘तेस्रोपटक पनि उहाँको फिल्ममा जोडिन पाउँदा खुसी छु,’ अभिनेता लामाले भने, ‘यो फिल्मले भूकम्पको पीडा, सम्पदा संरक्षणको सन्देशसँगै प्रेमकथाको भिन्न पाटोलाई बोकेको छ ।’ उनले यो फिल्म नेपाली दर्शकको लागि नयाँ स्वादको हुने दाबी गरे । जापानी र नेपाली कलाकार दुवैलाई लिएर झन्डै दुई दशकअघि निर्माण गरिएको ‘मितेरी गाउँ’को समेत नायक लामाले यसपटक ‘माई लभ’मा पनि दुवै देशका कलाकारको काम देख्न पाउने बताए । 

भूकम्पका बेला कसरी सुरक्षित हुने, पुनर्निर्माणमा कसरी योगदान गर्ने भन्ने सामाजिक पाटो पनि फिल्ममा रहेको तोसिआकीले दाबी गरे । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग 
र फिल्म क्रियसन नेपालले सोमबार फिल्मको विशेष सो गर्न लागेको हो । 

प्रकाशित : भाद्र २६, २०७४ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?