साहसी कंगना

काठमाडौं — कंगना रनौट बलिउडकी यस्ती सेलेब्रिटी हुन् जो अभिनयको कारण मात्रै प्रख्यात छैनन् । सञ्चार माध्यमसँगको हरेक अन्तर्वार्तापछि उनी विवादमा तानिन्छिन् ।

साहसी कंगना

हालै उनले ‘आपकी अदालत’ मा दिएको बयानले बलिउडका थुप्रै हस्तीहरूको चैन छिनेको छ । कंगनाले आफूलाई आदित्य पंचोली, अध्ययन सुमन र हृतिक रोशनले कसरी तड्पाए भन्नेबारे खुलस्त पारेकी थिइन् । 

उक्त कार्यक्रमपश्चात् कंगना फ्यानहरूमाझ नामी भइन् । उनको साहसको प्रशंसा गर्ने मनग्गे निस्किए । बडो आँटी भएर उनले अन्तर्वार्ता दिएको भन्दै युट्युबभरि वाहवाही समेटिएका कमेन्ट देख्न सकिन्छ । तर, त्यही सोपछि कंगनालाई कतिपय बलिउडकर्मीले भने खेदो खन्न थालेका छन् । निर्देशक फराह खानले उनलाई जहिले पनि ‘वुमन कार्ड’ नफ्याँक्न आग्रह गरेकी छन् । महिला भएकै कारण अनेक हन्डर खानुपरेको व्यथा कंगनाले औधी सुनाइसकेको फराहको भनाइ थियो । 

अहिले आदित्यकी पत्नी जरिना वहाबले कंगनाले आफूहरूलाई वाहियात आरोप लगाएको बताएकी छन् । ‘ऊ मेरी छोरीसरह हुनै सक्दिन,’ जरिनाले भनेकी छन्, ‘मेरो पतिसँग डेट गर्नेलाई म छोरी मान्छु ? कस्तो बकवास कुरा ।’ कंगनाले आदित्य आफूभन्दा धेरै जेठा र आफू उनकी छोरीको उमेरकी भएको बताएकी थिइन् । आदित्यले हाउस अरेस्टमा राख्न खोजेपछि कंगनाले आफूलाई भेटेर मद्दत मागेको कुरा पनि झूटो भएको जरिनाको भनाइ थियो । 

कंगना भने ‘यस्ता दुईजिब्रे कुरा गर्नेहरूदेखि आफू कत्ति पनि नडराउने’ बताइरहेकी छन् । उनी भन्छिन्, ‘म डरलाई जितेर माथि उठेकी मान्छे हुँ । सत्य बोल्ने हिम्मत छ । यही कारण मेरो करिअर समाप्त हुन्छ भने पनि होओस् ।’ जिन्दगीमा सफलताको रस चाखिसकेकाले अब गुमाउनुपर्ने कुनै चिज बाँकी नरहेको भन्दै उनले अबको यात्रा कसरी अघि बढाउने भन्नेबारे पनि आफूले सोचिसकेको बताएकी छन् ।

 

प्रकाशित : भाद्र २६, २०७४ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?