सृजनालाई मिस यूके नेपाल ताज

लन्डन — मिस यूके नेपाल ०१७ को छैटौं संस्करण सृजना गुरुङले जितेकी छन् । आइतबार अबेर बेलायतको अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न प्रतिष्पर्धामा अन्य ७ सुन्दरीलाई उछिनेर सृजनाले मिस यूके नेपाल ताजसहित आठसय पाउण्ड पाइन् ।

सृजनालाई मिस यूके नेपाल ताज

उनलाई गत वर्षकी विजेता टेनिसा रानाले ताज लगाइदिएकी थिइन् । सृजनाले मिस इन्टेलेक्चुअल टाइटिल समेत जितेकी छन् । हाल लन्डन बस्ने पोखरा स्थायी घर भएकी २४ वर्षीया सृजना बायो मेडिकल साइन्सकी विद्यार्थी हुन् ।

पिपल मोर्गेजेज मिस यूके नेपाल प्रतियोगितामा फष्ट रनर अप सुजना पुन र सेकेन्ड रनरअप लिसा सुनार भए । ६ अन्य सबटाइटल अन्तर्गत एलिन गर्बुजाले मिस पब्लिक च्वाइस, मिस पर्सनालिटी र ब्युटी वीथ दि परपोज गरि तीन उपाधि जितिन् भने लिसा सुनार मिस टयालेन्ट भइन् ।

प्रतियोगिताको निर्णायकमा कृष्ण भट्ट, विमला सेने, गायक आनन्द कार्की, दुर्गा गुरुङ र डा. रेणुका गुरुङ थिए ।

कार्यक्रमका प्रमुख अतिथि दूतावासका उपनियोग प्रमुख शरदराज आरणले प्रवासमा नयाँ प्रतिभाको खोजी गरिनु सरहानीय भएको बताउँदै यसले नेपाली कला संस्कृति र भाषाको जगेर्ना समेत गर्ने धारणा राखे ।

प्रतिष्पर्धीलाई प्रशिक्षण दिन महिना दिन यता बेलायत रहेकी पूर्व मिस नेपाल माल्भिका सुब्बाले सबै ८ प्रतियोगीले नै उपाधि जितेको बताइन् । ‘शुरुमा उनीहरु बोल्न समेत लजाउने स्वभावका थिए’, माल्भिकाले भनिन्, ‘तर प्रतियोगिताको अन्तिम दिनसम्म आइपुग्दा प्रतियोगीमा जसरी आत्मबल बढ्यो त्यो नै जित हो ।’ माल्भिकाले विजयी सुन्दरीहरुलाई सामुदायिक सेवामा लाग्न पनि सुझाइन् ।

इभेन्टस एण्ड आइडियाज प्रोडक्सनले सन् २०१० देखि मिस यूके नेपाल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रोडक्सनकी निर्देशक शान्ति गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै नयां प्रतिभाहरुलाई अवसर दिने आफूहरुको प्रयास रहेको बताइन् । निलम गुरुङले संयोजन गरेको उक्त कार्यक्रममा विभिन्न नाच र गायन समेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित : भाद्र २६, २०७४ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?