सम्झना तिम्रो आइदिन्छ...

काठमाडौं — एक्लै बस्दा सधैं मलाई सम्झना तिम्रो आइदिन्छ
सहन नसकी आँखाबाट आँसु त्यसै झरिदिन्छ...
गायिका अरुणा लामाको कालजयी गीत हो यो । उनी आफैँ भन्ने गर्थिन्, ‘मेरा सबै गीतमध्ये सबैभन्दा मन पर्ने एक गीत ।’

 सम्झना तिम्रो आइदिन्छ...

एक्लै बस्दा सधैं मलाई सम्झना तिम्रो आइदिन्छ

सहन नसकी आँखाबाट आँसु त्यसै झरिदिन्छ...
गायिका अरुणा लामाको कालजयी गीत हो यो । उनी आफैँ भन्ने गर्थिन्, ‘मेरा सबै गीतमध्ये सबैभन्दा मन पर्ने एक गीत ।’ सम्भवत: उनको जीवनसँगै धेरै मेल खाएर पनि यस्तो भएको हुन सक्छ । यही गीतका रचनाकार हुन्, देव बज्राचार्य । उनले धेरै कम गीत लेखे, तर जति लेखे, ती सबै लोकप्रिय रहे । यिनै बज्राचार्यको बुधबार निधन भएको छ ।

उनले लेखेका एक दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् । उनले आफ्नै स्वरमा पनि केही गीत रेकर्ड गरेका छन् । तीमध्ये उनले गाएको गीत ‘तिमी सागर भएर के गरूँ, म त यहाँ प्यासी छु...’ पछि मुरलीधरको स्वरमा पनि रेकर्ड भयो । बज्राचार्यको स्वरमा रेकर्ड भएको अर्को गीत हो– ‘एउटा गीत रचेको छु...’ ।

भक्तराज आचार्यले गाएको उनको अर्को गीत ‘प्रिय तिम्रो मुहारमा...’ पनि उत्तिकै लोकप्रिय छ । बज्राचार्यका रचनामा गायिका मीरा राणाले पनि केही गीत गाएकी छन् ।

गायक/संगीतकार न्ह्यू बज्राचार्यका काका उनी तबला र हार्मोनियम पनि बजाउने गर्थे । नेपालमा टेलिभिजनको प्रवेशअगाडि काठमाडौंका टोलटोलमा आयोजना हुने सांस्कृतिक कार्यक्रमका प्रमुख आयोजकमा उनी पनि पर्ने गर्थे ।

ओलम्पस क्लबसँग आबद्ध भएर उनले आफ्नो टोल ओमबहालमा धेरै कार्यक्रम गरे । यिनै कार्यक्रममा उदितनारायण झाले पहिलोपल्ट काठमाडौंमा गाउने अवसर पाएका थिए । झाले काठमाडौंमा सुरुवाती संघर्षका बेला केही वर्ष बज्राचार्यको ओमबहालस्थित घरमै बिताएका थिए ।

छाती र मुटुको रोगबाट ग्रस्त बज्राचार्य ६५ वर्षका थिए । उनी नेपालभाषाका अभियन्ता पनि थिए । युवा उमेरमै अप्रत्यक्ष रूपमा च्वसा पासासँग जोडिएका थिए । उनी पछिल्लो समय ज्ञानमाला भजन खल:सँग पनि आबद्ध थिए । युवा छँदा उनी राष्ट्रियस्तरका भलिबल खेलाडी पनि थिए ।

बज्राचार्यको अन्त्येष्टि बिहीबार टेकु दोभानमा गरिनेछ । बज्राचार्यका श्रीमती, तीन छोरी र एक छोरा छन् ।

प्रकाशित : भाद्र २९, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?