सेलिब्रिटीका सेलिब्रिटी फयान

कान्तिपुर संवाददाता

काठमाडौं — डोमी लोभाटो स्वयं लोकप्रिय पपस्टार हुन् । उनका फयान अनगिन्ती छन् । तर, ‘हार्ट अटयाक...’ गायिका आफैं भने रिहानाकी डाइ–हार्ड फयान हुन् । रिहानाले जतिसुकै रकममा जे चिज बेचे पनि आफू किन्न तयार रहेको डेमीले बताएकी छन् । ‘आई जस्ट लभ हर,’ डेमी भन्छिन्, ‘उनको आत्मविश्वास र साहसबाट प्रभावित छु ।’

गायिका एरियाना ग्रान्डी पनि कमेडी सुपरस्टार जिम क्यारेकी ठूलो फयान हुन् । क्यारेलाई पहिलो पटक भेट्दा उनी धरधरी रोएकी थिइन् । उनीहरू भेट्दाको तस्बिर र भिडियो इस्टाग्राममा निकै पपुलर बनेको थियो । उक्त भेट निकै छोटो भए पनि एरियानाको प्रतिक्रिया हेर्न लायकको थियो । उनी केही बेर अक्क न बक्क परेकी थिइन् । 

माइली साइरसलाई बियोन्से मन पर्छिन् । फेभरेट गायिकाको कन्सर्ट हेर्दा माइलीले आफूलाई पत्यार नलागेको बताएकी थिइन् । ‘सपनाहरू पूरा हँुदा रहेछन्,’ उनले ट्वीट गरेकी थिइन्, ‘मेरैसामु बियोन्से 
धमाका मच्चाइरहेकी छन् । म पत्याइरहेकी छैन ।’ माइलीले बियोन्से स्टेजमा गाउँदै गरेको तस्बिर पनि सेयर गरेकी थिइन् । 

टेलर स्विफ्टले त झन् पप क्विन म्याडोनासँग स्टेज नै सेयर गर्ने मौका पाएकी थिइन् । त्यो बेला उनी म्याडोनालाई हेरेको हेर्‍यै भएकी थिइन् । ‘म ठीकै छु होला तर ठीकठाक छुइनँ,’ उनले इन्स्टाग्राममा क्याप्सन लेखेकी थिइन्, ‘म्याडोना एन्ड टेलर ।’ कालो पहिरनमा देखिएका गायिकाद्वयको गाउँदै गरेको फोटोमा प्रशस्त लाइक्स आएको थियो ।

निकलोडियन्स च्यानलमा आउने ‘ट्रु ज्याक्सन भीपी’ की अभिनेत्री केके पाल्मर हिलारी डफलाई भेट्दा अवाक् बनेकी थिइन् । गोल्डेन ग्लोब अवार्डमा डफलाई देख्नासाथ केके खुसीले उफ्रिएकी थिइन् । उनले आफूलाई सम्हाल्नै नसकेको प्रतिक्रिया दिँदा फोटोपत्रकारहरूले अनौठो मानेनन् । उनको हाउभाउले झूटो बोलिरहेको थिएन । 

सेलिब्रिटीका फयान धेरै हुन्छन् । तर, सेलिब्रिटी स्वयं पनि अर्को सेलिब्रिटीको फयान हुन सक्छन् भन्ने कुरा डेमी र टेलरहरूको अनुभवले बताउँछ । यता, बलिउडमा पनि यस्ता उदाहरण प्रशस्त छन् । आयुष्मान खुरानाकै कुरा गरौं । उनी प्रीति जिन्टाका फयान हुन् । स्कुल पढ्दादेखि नै प्रीति आफूलाई मन पर्ने गरेको उनी बताइहिँड्छन् । ‘उहाँको अन्तरवार्ता लिँदा निकै नभर्स भएको थिएँ,’ उनी भन्छन्, ‘त्यो क्षण स्वप्निल थियो ।’

करिना कपुर लियोनार्दो डिक्याप्रियो भनेपछि भुतुक्क हुन्छिन् । ‘टाइटानिक’ फिल्मले आफूलाई मुग्ध बनाएको उनले बताउने गरेकी छन् । आलिया भट्टलाई चाहिँ रनवीर कपुर साह्रै मनपर्दो रहेछ । ‘उहाँ मेरो बिगेस्ट क्रस हो,’ उनले भनेकी छन्, ‘र, सँधै मन पराइरहनेछु ।’ कट्रिना कैफ रोबर्ट प्याटिसनकी फयान हुन् । ‘ट्वाइलाइट’ एक्टरलाई भेट्ने उनको उत्कट इच्छा छ ।

प्रकाशित : आश्विन १८, २०७४ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्

भक्तपुरमा नेपालभाषा साहित्य सम्मेलन

कान्तिपुर संवाददाता

भक्तपुर — नेपालभाषा साहित्यको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुरमा साहित्य सम्मेलनको आयोजना गरिएको छ । नेपालभाषा साहित्य त:मुंज्या र विराट नेपालभाषा सम्मेलन गुठीले छुट्टाछुट्टै रूपमा गरेका सम्मेलनमा स्रष्टा सम्मान र रचना वाचन भएको छ ।

त:मुंज्याले प्रत्येक वर्ष आश्विन शुक्ल द्वितीयादेखि दुईदिने साहित्यिक सम्मेलन गर्दै आएको छ । यस पालिको ३७ औं सम्मेलनमा नेपालभाषाका साथै मैथिली, भोजपुरी, तामाङलगायत भाषाका कविता, गीत, गजल, प्रहसन, व्यंग्यात्मक प्रस्तुति गरिए । साहित्यकार कृष्णप्रसाद भण्डारी र संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग:लाई सम्मान गरियो । साहित्यकार एवं नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें, सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापती, सांसद अनुराधा थापा मगर, पत्रकार भैरव रिसाल, लक्ष्मण राजवंशी, रमापतिलाल शर्मा, बुद्धिकुमार गोसार्इं, रजनी जोशी, सरोज धिताल, मातृका पोखरेल, इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ, सुजन मांक, सुलोचना मानन्धर, सर्वज्ञभक्त मल्ल, प्रतिसरा सायमी, कृष्णलाल प्रधान, कोमलवदन मल्ल, धर्मभक्त बल्लले समाजका विकृति–विसंगतिलाई आफ्ना रचनामा उठाए ।

त्यस्तै, विराट नेपालभाषा साहित्य सम्मेलन गुठीको ५६ औं सम्मेलनको उद्घाटन गर्दै वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले ऐतिहासिक नगर भक्तपुरमा ऐतिहासिक सम्मेलन अटुट रूपमा सञ्चालन हुनुले कलासंस्कृति र भाषासाहित्यको विकासमा योगदान पुगेको बताए । गुठीले साहित्यकार एवं समालोचक प्रा. नर्मदेश्वर प्रधानलाई सम्मान गर्‍यो । ‘घरघरमा आफ्नो मातृभाषा बोलौं र बालबालिकालाई मातृभाषा सिकाऔं’ भन्ने नारा साथ सुरु भएको सम्मेलनमा प्रतिसरा सायम, सुजिता मा:जु, न्हुछेभक्त कवाँ, रेखा शाक्य, तिलकप्रकाश कायस्थ, शशिकला मानन्धर, नारद बज्राचार्य, रेणु श्रेष्ठ, त्रिरत्न शाक्य, शकुन्तला महर्जन, राजा शाक्य, शरण ज्यापु, शाक्य सुरेन, राजभाइ जक:मि, शरद कसा:, नवीन प्रकाश श्रेष्ठ, ध्रुव मधिकर्मी, सुधीर ख्वविले रचनापाठ गरे ।

प्रकाशित : आश्विन १८, २०७४ ०९:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्