कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सौगातको प्रशंसा

कान्तिपुर संवाददाता

काठमाडौं — गायनसम्बन्धी रियालिटी सो ‘नेपाल आइडल’ भर्खरै सकिएको छ । यद्यपि, यसका विभिन्न शृंखला युट्युबमा अझै ट्रेन्डिङ छन् । तर, ती भिडियोहरू ट्रेन्डिङको अलि पछाडि धकेलिन थालेका छन् । बरु, अर्को रियालटी सो ‘हिमालय रोडिज, राइजिङ थ्रु हेल’ अहिले युट्युबमा हिट छ ।

सौगातको प्रशंसा

बुधबार दिउँसो रोडिजको एपिसोड १४ ट्रेन्डिङको नम्बर एक स्थानमा थियो । सोमबार अपलोड गरिएको भिडियोमा दुई लाख बढी भ्युज देखियो भने १६ सयभन्दा बढी कमेन्टस् आएका थिए । ‘नयाँ र रोमाञ्चक ट्वीस्ट ल्याउने निहुँमा हिमालय रोडिजले बारबार एउटै कन्टेस्टेन्टलाई सुरक्षित राखेको छ,’ सूर्य रसाइली लेख्छन्, ‘यसले गर्दा अनफेयर गेम खेलाएको आभास हुन्छ ।’

राई सन्तोषले चाहिँ आफू अर्को एपिसोडको पर्खाइमा रहेको उल्लेख गरेका छन् । ‘सोनाङगीता आउट भएकोमा दु:खी छु,’ उनले कमेन्टमा भनेका छन्, ‘तर, उनले आक्रोश नदेखाएको भए हुन्थ्यो । हामी दर्शकमाझ उनी रोडिज भइसकेकी थिइन् । यद्यपि, कार्यक्रम निकै रोमाञ्चक हुँदै गएको छ ।’ रोडिजको विजेताले २० लाख रुपैयाँ र बजाज एभेन्जर बाकइ जित्नेछन् ।

ट्रेन्डिङको दोस्रो नम्बरमा ‘फाटेको जुत्ता’ फिल्मको ट्रेलर देखा पर्‍यो । सौगात मल्ल र प्रियंका कार्की अभिनीत फिल्मको ट्रेलरमा सोमबार दिउँसोसम्म ५ लाख बढी भ्युज थियो । निकेश खड्काले निर्देशन गरेको फिल्म कात्तिक १७ मा प्रदर्शन हुँदै छ । यसमा सौगातको लवजलाई लिएर कतिपय युट्युब प्रयोगकर्ताले आपत्ति जनाएका छन् । ‘नेपालमा धेरै भाषा बोलिन्छ ब्रो,’ विदेश महर्जन लेख्छन्, ‘हिन्दी नै किन बोलेको ?’

अर्काथरीले भने ट्रेलर मात्रै अपलोड गरेकोमा रिस पोखेका छन् । पूरै फिल्म युट्युबमा राखिनुपर्ने तिनको माग छ । सौगातको अभिनयलाई भने धेरैले वाहवाही दिएका छन् । विजय खड्का भन्छन्, ‘सौगात दाइ भर्सटायल एक्टर हो भन्नेजति यता हाजिर गरुम् ।’ उनको कमेन्टमा पाँच जनाले लाइक्स दिएका छन् ।


नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘भद्रगोल’ शृंखला हरेक दिनजसो ट्रेन्डिङमा हुन्छ । सोमबार तेस्रो स्थानमा रहेको आधा घण्टा लामो भिडियोमा चार लाखभन्दा धेरै भ्युज थियो । अधिकांशले कार्यक्रम मन परेको प्रतिक्रिया दिएका थिए । सौगात क्षेत्रीले चाहिँ पाँडे सोल्टीको भूमिका कत्ति पनि मन नपरेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘हँसाउने पनि तरिका हुन्छ । समयअनुसारको (प्रस्तुति) भयो भने राम्रो लाग्छ ।’

सन्तोष सिवाकोटीको निर्देशन रेहेको फिल्म ‘शब्द’ नेपाल युट्युब ट्रेन्डिङको चौथो नम्बरमा छँदा यसको भ्युज सात लाख ८२ हजार ६ सय थियो । सौगात मल्ल र कमली वाइबाको मुख्य भूमिका रहेको फिल्म हेरेपछि खुमा कुँवर नामक एकाउन्ट होल्डरले माया नै सबैथोक रहेको फिडब्याक दिएकी छन् । केटीएम नाइटराइडर्स लेख्छन्, ‘हातमा मोबिल समाएर कमेन्ट पढ्दै फिल्म हेर्दै गरेको छु ।’


र्‍यापर लाउरे अर्थात् आशिष रानाको नयाँ गीत ‘कथा हो यो...’ (सुपररागा) को भिडियो ट्रेन्डिङको पाँचौं स्थानमा थियो । एडम ले सेरिफले संगीत दिएको गीतमा लाउरे स्वयंका शब्द सुन्न सकिन्छ । झन्डै पाँच मिनेट लामो भिडियोमा १७ सयभन्दा बढी प्रतिक्रिया आएका थिए । अधिकांशले लाउरेको प्रशंसा गरेका छन् भने भिडियो अन्तर्राष्ट्रिय स्तरको भएको बताउनेहरू पनि मनग्गे देखिए । ‘शब्द, बिट, फ्लो र भिडियो सबै राम्रो,’ एचए म्युजिक नामक एकाउन्ट होल्डर लेख्छन्, ‘अर्को भिडियोको व्यग्र प्रतीक्षा छ ।’

युटयुब ट्रेन्डिङ
टप फाइभ (बुधबार दिउँसोसम्म)
१. हिमालय रोडिज, एपिसोड १४
२. फाटेको जुत्ता (ट्रेलर)
३. भद्रगोल, एपिसोड १४०
४. शब्द (फुल मुभी)
५. लाउरेको सुपररागा...

प्रकाशित : आश्विन १९, २०७४ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?