१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

फेरि विवादमा आदित्य

कान्तिपुर संवाददाता

काठमाडौं — गायक आदित्यनारायण झाको एउटा भिडियो बाहिर आएको छ । त्यसमा उनी एयरलाइनका एक कर्मचारीलाई मुख छाडिरहेका देखिन्छन्/सुनिन्छन् । उक्त भिडियो भाइरल बनेपछि उनीबारे सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रिया छाइरहेको छ ।

 फेरि विवादमा आदित्य

नेपाली मूलका गायक उदितनारायणका छोरा आदित्य बेलाबेला यस्तै समस्यामा परिरहन्छन् । सन् २०११ मा एक युवतीमाथि दुव्र्यवहार गरेपछि उनी विवादमा तानिएका थिए । नशाले चूर भएका उनलाई ती युवतीले झापड हानेकी थिइन् ।

तर, आदित्यले पिटाइ खाएको स्विकारेका छैनन् । बारमा गएर मद्यपान गरे पनि कसैलाई दुव्र्यवहार नगरेको उनले बताउँदै आएका छन् । उनीसँगै हुनेहरूले चाहिँ आदित्य युवतीमाथि लडेको र त्यही निहुँमा थप्पड खाएको बताएका थिए ।

यसपालिको काण्डमा उनले इन्डिगो एयरलाइनका कर्मचारीलाई धम्की दिएको भिडियोमा देखिन्छ । बढी सुटकेसको लागि १३ हजार भारु शुल्क तिर्नुपर्ने भएपछि उनी झोँक्किएका थिए । ‘हेर् भाइ, एक न एक दिन त मुम्बई पुगिहाल्छु,’ उनले भाउन्निँदै भनेका छन्, ‘तेरो चड्डी उतारिनँ भने मेरो नाम आदित्यनारायण होइन ।’
आदित्यको हर्कत देखेपछि भारतीय मिडियाले उनका पिताको गीत ‘पापा कहते हैँ, बडा नाम करेगा, बेटा हमारा ऐसा काम करेगा...’ उल्लेख गर्दै बाबु–छोराको खिल्ली उडाएका छन् । आदित्यले बाबुको बदनाम गरेको तिनको मूल्यांकन छ । ‘उदितनारायण चर्चित प्लेब्याक सिंगर हुन्,’ आजतक लेख्छ, ‘तर, आदित्यले पितासरह सफलता हात पार्न सकेका छैनन् ।’

सन् १९८७ मा जन्मिएका आदित्य बाबुकै पथमा हिँडेका छन् । उनले सानै उमेरमा गायन करिअर सुरु गरेका थिए । उनले थुप्रै पटक ‘लिटल वन्डर कन्सर्ट’ मा भाग लिएका थिए । ‘रंगिला’ फिल्ममा उनले पहिलो पटक गायिका आशा भोसलेसँग ‘रंगिला रे...’ गीतमा स्वर दिएका थिए ।

सन् २००९ मा उनी ‘शापित’ फिल्ममा देखिए । यसका चार गीतमा उनको आवाज सुन्न सकिन्छ । बाल कलाकारका रूपमा उनले ‘रंगिला’ र ‘परदेश’ फिल्ममा काम गरे । ‘राम–लीला’ का लागि गाएको ‘तत्तड तत्तड...’ र ‘इस्क्यायु ढिस्कियायु...’ उनका सर्वाधिक चलेका गीत हुन् । उनी अचेल ‘सारेगमप लिटल च्याम्प्स’ को छैटौं सिजन होस्ट गरिरहेका छन् ।

प्रकाशित : आश्विन १९, २०७४ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?