छक्का पञ्जा २ - ओइरिँदै दर्शक

सुशील पौडेल

काठमाडौं — दसैंको छेको पारेर फूलपातीका दिन रिलिज गरिएको फिल्म ‘छक्का पञ्जा २’ हेर्न हलमा दर्शक उर्लिएका छन् । बुधबारदेखि आठौं दिनमा सुखद प्रदर्शनीमा रहेको उक्त फिल्मले लगातारको बिदामा उल्लेख्य दर्शक साथ पाएको छ । सातौं दिनसम्म दीपाश्री निरौला निर्देशित फिल्मले मोटामोटी पौने सात करोड रुपैयाँको टिकट बिक्री गरेको बताइएको छ ।

छक्का पञ्जा २ - ओइरिँदै दर्शक

‘यस पटक साताभर नै निरन्तर दर्शकको घुइँचो देखियो,’ फिल्मका मुख्य निर्माता तथा अभिनेता दीपकराज गिरीले कान्तिपुरसँग भने, ‘सायद ‘छक्का पञ्जा २’ को ओपनिङ कलेक्सन नेपालकै लागि सर्वाधिक उच्च हो ।’ मोफसलमा मात्रै ८३ स्क्रिनमा रिलिज भएको ‘छक्का पञ्जा २’ ले राजधानीका मल्टिप्लेक्स हलमा अत्यधिक सोज पाएको थियो । उक्त फिल्ममा दर्शक चापका कारण साताभर विदेशी फिल्म छायामा परे । खासगरी वरुण धवनको दोहोरो भूमिका रहेको ‘जुडवा २’ को व्यापारलाई स्वदेशी फिल्मले खुम्चाइदियो ।

दीपकराज र दीपाको समूहले नै निर्माण गरेको यसअघिको ‘छक्का पञ्जा’ ले पनि गतवर्ष झन्डै १६ करोड रुपैयाँको ग्रस कलेक्सन गरेर स्वदेशी फिल्मले गरेको व्यापारमा रेकर्ड कायम गरेको थियो । ‘तर यस पटक भने छोटो समयमा धेरै कलेक्सन गरिरहेकोले यसरी नै फिल्ममा दर्शक चाप रह्यो भने तिहारअघि नै अघिल्लो फिल्मको रेकर्ड ब्रेक गर्ने संकेत देखिएको छ,’ फिल्मका पटकथाकार समेत रहेका दीपकराजले थपे, ‘पहिले ‘छक्का पञ्जा’ को व्यापार जनकपुर–जयनगर रेलको गतिमा थियो भने यसपटक बुलेट ट्रेनको गतिमा गरिरहेको छ ।’

डिपेन्डेन्ट भिसामा बिदेसिन खोज्ने युवाहरूको समस्यालाई मूलकथा बनाई निर्माण गरिएको ‘छक्का पञ्जा २’ हेर्न यति बेला सबै उमेर समूहका दर्शक हलमा देखिएका छन् । खासगरी वयोवृद्ध दर्शकहरू ठूलै कष्ट बेहोरेर पनि हलसम्म देखिएका छन् । गहन विषयवस्तुलाई रमाइलो प्रस्तुतीकरणमा ढालिएको फिल्ममा दर्शकले मनोरञ्जन लिइरहेको हलवालाहरू बताउँछन् । तर अधिकांश दर्शकले ‘छक्का पञ्जा’ को जत्तिको रमाइलो भने नपाएको गुनासो सुनिएको स्वयं दीपकले बताए । भने, ‘‘छक्का पञ्जा’ जत्तिको हँसाउने छैन तर नराम्रो पनि छैन भन्ने धेरै भेटेको छु । र, हाम्रो अनुमान पनि त्यही नै थियो । हाम्रो हिसाबले सफल भए पनि दर्शकको हिसाबले फिल्मका लागि अझै केही होमवर्क नपुगी हतार गरेको देखियो ।’

‘छ एकान छ’ देखि व्यापारिक सफलताको तह बढाउँदै लगेको यो टिमले अबको एक वर्षमा ‘छक्का पञ्जा ३’ दर्शक समक्ष ल्याउने बताएको छ । दीपकराजले उक्त कुराको पुष्टि गर्दै भने, ‘यसपटक केही गहन विषय उठान गरेकोले दर्शकलाई पहिलो भागमा हँसाएर दोस्रो भागमा रुवाउन खोजेका थियौं । तर हामीबाट दर्शकले पूर्णत: हाँसो नै अपेक्षा गरेको महसुस भयो । अबको फिल्म पूर्णत: हास्य रसमै बनाउनेछौं ।’

फूलपातीको रिलिज डेमा ‘छक्का पञ्जा २’ ले बक्स अफिसमा १ करोड ५३ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको अनुमान गरिएको छ भने दोस्रो दिन पनि १ करोड ३० लाखको कलेक्सन गरेको बताइएको छ । दसैं मनाउन अधिकांश राजधानीबाट बाहिरिएको कारण पनि फिल्मले मोफसलका सिंगल स्क्रिन हलमा समेत झन्डै हाउसफुल व्यापार गरेको रिपोर्ट प्राप्त भएको छ ।

दीपकराजसहित फिल्ममा केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित प्रियंका कार्की, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, आयुष्मान देशराज जोशी, वर्षा राउत लगायतको अभिनय रहेको छ । पाँचदिने विकेन्ड पाएको फिल्मले विक डेमा समेत शतप्रतिशत दर्शक अकुपेन्सीमा प्रदर्शन भइरहेको छ ।

फिल्म समीक्षकले खासै प्रशंसा नगरेको भए पनि फिल्मको ओपनिङलाई दसैं बिदा, कमेडी जानरा, टिम र हिट फिल्मको सिक्वेलले भरपुर साथ दिएको हो । तर ‘छक्का पञ्जा’ जस्तो रिपिटेसन भ्यालु यसपटक नदेखिएको स्वयं दीपकले कान्तिपुरसँग भने ।

‘गतवर्ष ‘छक्का पञ्जा’ ५/६ पटकसम्म धेरैले हेरेका थिए । यस पटक दोहोर्‍याएर हेर्ने क्रम कम छ । खासगरी युवा दर्शकले फिल्मको पछिल्लो भागमा कम इन्जोय गरेको बताएका छन्,’ दीपकले गम्भीर विषयवस्तुलाई लिनु नै आफूहरूका लागि च्यालेन्ज भएको बताउँदै भने, ‘त्यसलाई टोटल्ली चेन्ज गरेर हाम्रो कमेडी प्याट्रनमा ढाल्न पनि गाह्रो थियो । र, अहिले कमजोरी त्यसैमा महसुस भए पनि धेरै हदसम्म हामी सफल भएका छौं । फिल्म हेरेपछि दर्शकले नराम्रो चाहिँ भन्नुभएको छैन ।’

प्रकाशित : आश्विन १९, २०७४ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?