२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

आशावादी अशिष्मा

शंकर आचार्य

पर्सा — अशिष्मा नकर्मी पछिल्लो समय आशलाग्दी नायिकाको रूपमा देखा परेकी छन् । वीरगन्जको सेरोफेरोमा छायांकन भएको ‘संरक्षण’ रिलिज भएलगत्तै अर्को फिल्म ‘जस्मिन’ को छायांकनका लागि हालै उनी यतै आएकी थिइन् ।

आशावादी अशिष्मा

रिलिजको संघारमा रहेको ‘मेला’ बाट उनलाई धेरै आशा छ । वीरगन्जमै छायांकन भएको आफ्नो यो दोस्रो फिल्ममा हालसम्मकै सशक्त भूमिका रहेको उनको दाबी छ । “एक त ‘मेला’ नौलो र फरक कथावस्तु बोकेको यथार्थपरक फिल्म हो,’ एक महिनापछि रिलिज हुने तरखरमा रहेको फिल्मबारे उनले कान्तिपुरसँग भनिन्, ‘मैले यसमा सशक्त भूमिका निभाउने अवसर पनि पाएकी छु । यसले दर्शकको मन जित्ने र आफू कलिउडमा झनै स्थापित हुन्छुजस्तो लाग्छ ।’

सलोन बस्नेत, आमेश भण्डारी, प्रदेशी साह, अमर गौतमको पनि मुख्य भूमिका रहेको यो फिल्मको छायांकन गतवर्ष वीरगन्जकै सेरोफेरोमा गरिएको थियो ।

चार वर्षअघि ‘अन्तराल’ बाट कलिउडमा डेब्यु गरेकी अशिष्माको पहिलो फिल्मले व्यावसायिक सफलता नपाए पनि समीक्षकको प्रशंसा भने बटुलेको थियो । त्यसयता ‘राघव’, ‘बाटोमुनिको फुल २’, ‘अधकट्टी’, ‘लभ यु बाबा’, ‘बुद्ध बर्न इन नेपाल’, ‘राधे’ र ‘संरक्षण’ मा खेलिन् । छायांकन चलिरहेको ‘जस्मिन’ को काम सकिएलगत्तै ‘मेला’ रिलिज हँुदैछ । हालै दुइटा फिल्म साइन गरिसकेकी उनी दसंैलगत्तै तिनको छायांकनमा व्यस्त हुनेछिन् । ‘व्यावसायिक गोपनीयताको कारण’ उनले ती फिल्मको नाम र निर्माण युनिटबारे खुलाउन चाहिनन् ।

कलिउड प्रवेशअघि नेपाल भाषाका एक दर्जनजति फिल्ममा अभिनय गरिसकेकी अशिष्माले अभिनयको औपचारिक शिक्षा नलिए पनि सविन शाक्य र आर्यन नकर्मीबाट अभिनयका धेरै सीप सिकिन् । उनी ‘मह जोडी’ लाई आफ्नो आइडल मान्छिन् । चेतनामूलक टेलिशृंखला ‘विष’ मा मह जोडीसँग खेल्ने अवसर पाएकी उनी आफूलाई त्यसका लागि भाग्यमानी ठान्छिन् । राजेश हमाल, रेखा थापा, आर्यन सिग्देल, विराज भट्ट, निखिल उप्रेती, सञ्चिता लुइँटेल, केकी अधिकारी, प्रियंका कार्की पनि उनका प्रिय कलाकार हुन् ।

अविवाहित यी नायिकाले विगतमा आफू कसैसँग गहिरो मायामा परे पनि हाल भने फिल्म क्षेत्रसँग ‘डिप लभ’ मा रहेको बताइन् । ‘आफूमा सक्दो सुधार गरेर अब्बल अभिनय गर्ने प्रयासमा लागिपरेकै छु,’ उनले सुनाइन् । अनि विवाह ? उनको जवाफ थियो, ‘विवाहको बेला भइसकेको छैन । तर, मैले सोचेजस्तो योग्य व्यक्ति पाए यसमा पुनर्विचार गर्न पनि सक्छु ।’

आफू कुनै न कुनै फिल्मको छायांकनका क्रममा वीरगन्ज आइरहे पनि स्थानीय दर्शकले भने नेपाली फिल्म उति हेर्ने गरेको आफूले नपाएको र यसमा दु:ख लागेको उनले बताइन् । ‘नेपाली फिल्मलाई पनि माया गर्नुपर्छ,’ उनले सुझाइन्, ‘३ करोडजति नेपालीले एक पटक हेरिदिने हो भने कुनै पनि नेपाली फिल्म व्यावसायिक रूपमा असफल हुने छैन ।’

प्रकाशित : आश्विन २०, २०७४ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?