कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मगर भाषामा ‘लर्फु’

नवीन पौडेल

नवलपरासी — जिल्लाका जनजाति युवा मातृभाषाको फिल्म निर्माणमा जुटेका छन् । मौलिक संस्कृति लोप हुन लागेको भन्दै उनीहरूले यस्तो पहल थालेका हुन् । नवलपरासीको पहाडी भेगमा बाहुल्य रहेको मगर समुदायका युवा यस क्षेत्रमा बढी सक्रिय छन् ।

 मगर भाषामा ‘लर्फु’

हालै मात्र चेतन रजाली मगरको लेखन/निर्देशन रहेको ‘लर्फु’ (पछयौरी) को छायांकन सकिएको छ । मगर समुदायमा सानै उमेरमा पछयौरी चिनो दिएपछि उमेर पुग्दा सोही केटा–केटीबीच विवाह हुने परम्परालाई फिल्ममा प्रस्तुत गरिएको हो । नारन सारु र रूपा थापाको मुख्य भूमिका रहेको फिल्मको छायांकन पोखरा र नवलपरासीकै पहाडी भेगमा गरिएको हो ।

मातृभाषाको रक्षाका लागि नयाँ पुस्तालाई घचघच्याउन फिल्म बनाएको निर्माता अमरबहादुर घर्तीले बताए । ‘आफ्नै मातृभाषामा फिल्म बन्न थालेपछि धेरै युवायुवतीले यसप्रति चासो दिन थालेका छन्,’ उनले भने । दलदलेमा शनिबार उक्त फिल्मको च्यारिटी सो हुँदै छ ।

‘पछिल्लो पुस्ताले आफ्नो मातृभाषा बोल्दैन,’ निर्देशक मगरले भने, ‘युवालाई मातृभाषामा आकर्षित गर्ने सबैभन्दा राम्रो माध्यम मनोरञ्जन भएकाले मगर भाषामा फिल्म बनाएका हौँ । आफ्नै भाषा नबुझ्ने नयाँ पिँढीका लागि परम्परागत भेषभूषा र संस्कृतिको जानकारी दिन यही माध्यम उपयुक्त हुन्छ ।’
मगर भाषामा यहाँ अहिलेसम्म चार फिल्म बनेका छन् । ‘गाउँको माया,’ मेरो कर्म,’ ‘आजभोलि’ जस्ता फिल्म पनि ‘लर्फु’ कै निर्देशकले निर्देशन गरेका हुन् ।

नवलपरासीमा मगर समुदायले मात्र होइन, थारू, गुरुङ तथा अन्य जनजातिकाले पनि फिल्म, गीत तथा नाटकका माध्यमले मातृभाषाको संरक्षणमा योगदान दिइरहेका छन् ।

प्रकाशित : आश्विन २१, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?