‘अन्तरकथा’ देखाएर फर्किए गायक

कान्तिपुर संवाददाता

काठमाडौं — जनवादी गायकका रूपमा परिचित राजन राई यतिखेर पहिचानवादी गायकका रूपमा देखिएका छन् । उति बेला पञ्चायती व्यवस्था बढार्न जनतामाझ समर्पित थिए । जनसमर्पणमा खोपिएका शब्द र संगीतका सरोवरहरूमा उनका स्वरले पाइन भरेका थिए ।

‘अन्तरकथा’ देखाएर फर्किए गायक

२०४६ सालताका जनसांस्कृतिक परिवार, कोरस परिवारसँग सम्वद्ध राईले गाएका ‘कान थापेर सुनिन देऊ..’ बोलको गीत काफी चर्चामा थियो । ‘शिरैमा मेरो शिरैको टोपी...’, ‘तारा खस्यौली माया रुँदै बस्यौली...,’ फूलै र फुल्यो दुई थुंगा लर्केर...’, ‘ए कोशी दोभान, ख्यालख्यालैमा गयो जोभान...’ लगायतका जनवादी गीत राजनकै स्वर जनमनमा बास पाएका थिए । 

यति बेला २ सय ५० वर्षदेखि विभेद र दलनको कथा समेटिएको ‘अन्तरकथा’ वृत्तचित्र लिएर देश–देशावर चाहरिरहेका छन् राजन । ‘स्वाभिमानका स्वरहरू’ पहिचानवादी गीति एल्बमका गीतहरू उनले गाएका छन् । ‘मेट्न सक्दैनौं तिमीले हाम्रो पहिचान...’, ‘अब आगो ओकल्छौं हामी...’, ‘अलिकति आकाश देऊ...’, ‘लिम्बूवान घर मेरो...’ जस्ता बोलका गीत उनले गाइरहेका छन् । यिनै कोसेलीहरू लिएर भर्खरै बेलायतबाट स्वदेश फिरेका छन् । ‘हौ, भाइ यात्रा त साह्रै रमाइलो भयो,’ बेलायतको सयदिने यात्राबारे राजनले कान्तिपुरसँग भने, ‘मैले जे–जे कोसेली लिएर गएँ बेलायतबासी नेपाली समाजले सहर्ष स्विकार्नुभयो ।’

बेलायतको आसफोर्ड, रिडिङ, अल्डरसट, फार्नबरो, ग्रेटर रस्मोर, स्विन्डन, लन्डनको साउथ हयारो, मिडवे, फोक्सटोन, क्याम्बर्लीलगायत ठाउँमा ‘अन्तरकथा’ वृत्तचित्र पनि प्रदर्शन गरेको उनले जनाए । व्यस्त बेलायती जीवनशैलीका कारण कतिपय ठाउँमा दोहोर्‍याएरै प्रदर्शन भएको समेत उनले सुनाए । ‘यो वृत्तचित्र आदिवासी जनजातिको ऐतिहासिक पृष्ठभूमिलाई लिएर निर्माण गरिएको हो,’ लेखन र निर्देशनसमेत आफैंले गरेका राजनले भने, ‘यसमा पहिचान र संघीयताको विषय समेटिएको छ । जसले गर्दा सबै नेपाली समुदायले मन पराइदिनुभयो ।’ गुरुङ, मगर, तामाङ, नेवार, राई, लिम्बूलगायत आदिवासी समुदायमाथि राज्यबाट भएको विस्थापनको विषय यसमा समेटिएका छन् । जुन विभेद, विस्थापन आकस्मिक नभई सुनियोजित रूपमा भएका थिए भन्ने वृत्तचित्रले पुष्टि गरेको छ । यसै वर्ष निर्माण सम्पन्न वृत्तचित्र यसअघि हङकङ र संयुक्त अरब इमिरेट्समा समेत प्रदर्शन भइसकेको छ । 

वास्तवमा गायक राजन राईको उद्देश्य गायक हुनु मात्रै थियो । ‘तर यो राजनीतिक चेतनाले गर्दा जनवादी मात्र भनेर चुपो लाग्नु नहुने भन्ने भएँ,’ गायनसँगै विज्ञान र प्रविधिसँग नजिकिएका उनी भन्छन्, ‘हातैमा क्यामेरा छ । घरआँगनमै बग्रेल्ती पहिचान खोजिरहेका विषयवस्तुहरू छन् । त्यसैले गायन, लेखन, वृत्तिचित्र निर्माण साथसाथै लागेको छु ।’ 

पूर्वी पाँचथरको ओगेम्मा गाउँमा २०२२ सालमा जन्मिएका गायक राईका आधा दर्जनभन्दा बढी गीति एल्बम प्रकाशित छन् । ‘जनगीति यात्रा’ भाग– १ र भाग–२, ‘म त फेरि आएँ हजुर’, ‘आशाको किरण’, ‘सन्देश’, ‘फेरि उही कुरा’, ‘फूलबारीको कथा हवाईको व्यथा’ (गीति नाटक) र ‘स्वाभिमानका स्वरहरू’ उनका एल्बम हुन् । उनै पहिचानवादी गायक बेलायतमा एकल सांगीतिक साँझमा प्रस्तुत भएका थिए । 

प्रकाशित : आश्विन २२, २०७४ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?