हेट टु लभ रिलेसन

कान्तिपुर संवाददाता

काठमाडौं — हलिउडका एक्सन नायकद्वय सिल्भेस्टर स्टलोन र आर्नोल्ड स्वार्जनेगरबीच गहिरो दोस्ती छ । तर, उनीहरूको मित्रता सजिलै गाँसिएको होइन । एकताका यी दुई एकअर्काका कट्टर दुश्मन थिए । सन् १९८० को दशकमा दुईबीच ‘भायलेन्ट हयाट्रेड’ थियो । यो कुरा सिल्भेस्टरले पटकपटक बताउँदै आएका छन् ।

 हेट टु लभ रिलेसन

‘त्यो भयानक घृणाले नै हामीलाई सफल बनाएको हो,’ अमेरिकी टेलिभिजन कार्यक्रममा सिल्भेस्टरले भनेका थिए, ‘ऊभन्दा म राम्रो गर्न चाहन्थेँ, मभन्दा ऊ । त्यही प्रतिस्पर्धी भावनाले दुवैलाई सशक्त बनायो । काममा अघि बढ्न कर गर्ने चिज नै हामीभित्रको घृणा थियो ।’

‘र्‍याम्बो’ उपनामले समेत चिनिएका सिल्भेस्टर आर्नोल्डलाई पृथ्वीकै मन नपर्ने प्राणी मान्थे । विस्तारै घृणा प्रेरणामा बदलिएको उनी बताउँछन् । ‘उसले साइन्स फिक्सन फिल्म गर्न थालेपछि मलाई आफू पछि परेको महसुस भयो,’ सिल्भेस्टर भन्छन्, ‘त्यसपछि धेरै मिहिनेत गर्न थालेँ ।’ सन् ८० को दशकमा सिल्भेस्टर आर्नोल्डभन्दा निकै पपुलर थिए ।

आर्नोल्ड पनि सिल्भेस्टरलाई पाखा लगाउन चाहन्थे । उनलाई आउट डेटेड प्रमाणित गर्न आफूले नयाँनयाँ जुक्ति फुराउने गरेको आर्नोल्ड सम्झन्छन् । उनी भन्छन्, ‘कसको पाखुरा ठूलो भन्नेदेखि कसको फिल्मले कति कमायोसम्मका कुरामा हामी हिसाब राख्थ्यौं । सन् १९९० पछि चाहिँ साथी बन्नुपर्छ भन्ने लाग्यो । दुश्मनी सिध्याउने बेला आएको महसुस भयो । हाम्रो दुश्मनी परिपक्व (म्याचोर्ड) पाराको थियो ।’ आर्नोल्डका अनुसार संघर्ष कालमा हरेका मान्छेले कसै न कसैलाई दुश्मन बनाउनुपर्छ । दुश्मनीले मन अशान्त बनाउँछ । र, त्यही कुराले काम गर्न दोब्बर दबाब दिन्छ ।

सन् २०१० मा सिल्भेस्टर निर्देशित फिल्म ‘दि एक्सपेन्डेबल्स’ मा आर्नोल्डले केमियो रोल गरेका थियो । मित्रता गाँसिएको एक दशकपछि पनि मान्छेले उनीहरूको सहकार्य सम्भव होला र भन्ने अनुमानसम्म गरेका थिएनन् । छोटो भूमिका भएकाले आर्नोल्डले फिल्ममा आफ्नो नामसमेत राख्न चाहेनन् । पछि त्यसकै सिक्वेलहरूमा भने उनी मुख्य भूमिकामै देखापरे ।

क्यालिफोर्नियाका पूर्वगभर्नरसमेत रहेका आर्नोल्ड ‘इस्केप प्लान’ मा पनि सिल्भेस्टरसँगै देखिए । उनीहरूको जोडी हेर्नकै लागि पनि ती फिल्मले राम्रो दर्शक पाएको बताइन्छ । अचेल उनीहरू व्यावसायिक र व्यक्तिगत दुवै जीवनमा एकअर्का नजिक रहेको सिल्भेस्टरले बताएका छन् । एक दिन अचानक भेटर ‘यो सबै बन्द गरौं अब’ भन्दै उनीहरूले हात मिलाएका थिए ।

प्रकाशित : आश्विन २२, २०७४ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?