१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

‘खाँचो व्यावसायिक निर्माताको’

कान्तिपुर संवाददाता

काँकडभिट्टा — दिनेश पोखरेल अस्ट्रेलिया बसेर नेपाली फिल्महरूमा लगानी गरिरहेका छन् । सुपरहिट फिल्म ‘नाइँ नभन्नु ल’ २ र ४ भागका यी निर्माताले ‘भुलभुलैया’ र ‘राधा’ पनि बनाए ।

 ‘खाँचो व्यावसायिक निर्माताको’

६ फिल्ममा लगानी गरिसकेका पोखरेलको अनुभव छ, ‘नेपालमा व्यावसायिक निर्माताको खाँचो छ ।’ नेपाली फिल्मी इन्डस्ट्रिजमा वार्षिक सरदर सयभन्दा ज्यादा फिल्म बनिरहेका छन् । तर, बढीमा १० फिल्मले मात्रै लागत उठाइरहेका छन् । ‘१० प्रतिशत जतिले मात्रै मुनाफा गरिरहेका छन्,’ पोखरेल भन्छन्, ‘९० प्रतिशत जति फिल्म निर्माता डुबेका छन् ।’ 
उनका अनुसार, नेपालमा व्यावसायिकभन्दा बढी रहर र लहडका भरमा बनेका निर्माताहरू ज्यादा छन् । विदेशमा कमाएको पैसा अन्धाधुन्ध फिल्ममा लगानी गर्दा धेरैजसो निर्माता सडकमा समेत आएको उनले देखेका छन् । तर, फिल्ममा लगानी गर्ने मामिला उनी चाहिँ ज्यादै सचेत छन् । सफल निर्देशकका फिल्महरूमा मात्रै उनले प्राय: लगानी गरेका छन् । 
१२ वर्षदेखि अस्ट्रेलियामा बसोबासरत पोखरेल पछिल्लो समय नेपाली फिल्मका दर्शकको स्वाद फेरिँदै गएको ठान्छन् । ‘पुरानो ढर्राका फिल्ममहरू अब दर्शकले रुचाउँदैनन्,’ उनी बुझाइ छ, ‘दर्शकको स्वाद बुझेर बनाइएका फिल्म सफल हुन्छन् ।’ 
वार्षिक चार फिल्ममा लगानी गर्ने आफ्नो योजना रहेको उनले सुनाए । तर, ‘नाइँ नभन्नु ल ४’ पछि अर्को फिल्मबारे सोचेका छैनन् । उनका निर्देशक विकास आचार्यको व्यस्तताका कारण यस्तो भएको रे । ‘यो वर्ष एकैपल्ट दुइटा फिल्म पनि बनाउन सक्छु,’ अन्तर्राष्ट्रिय झापाली समाजको सम्मेलनमा सहभागी बन्न आएका पोखरेलले कान्तिपुरसँग भने, ‘नबनाउन पनि सक्छु ।’

प्रकाशित : आश्विन २४, २०७४ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?