कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्तरीय गीत लेख्न राष्ट्रकविको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौं — यसपालिको ‘कालिका एफएम म्युजिक अवार्ड’ मा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । एफएमका अध्यक्षसमेत रहेका वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले घिमिरेलाई दोसल्ला ओढाई ट्रफी र ताम्रपत्र प्रदान गरे ।

 स्तरीय गीत लेख्न राष्ट्रकविको आग्रह

राष्ट्रकविलाई सम्मान गर्दा आफूहरू नै सम्मानित भएको मन्त्री पाण्डेले बताए । ‘उहाँ सय वर्ष पुगेपछि र महाकाव्य लेखिभ्याएपछि अचिभमेन्ट अवार्ड प्रदान गर्ने सोच थियो,’ उनले भने, ‘तर, हाम्रो धैर्यको बाँध टुट्यो । यसै पालि मौका मिलेकाले यो सम्मान दिएका हौं ।’ कालिका एफएम स्रष्टा र श्रोताप्रति समर्पित रहेको पनि उनले बताए ।

राष्ट्रकविलाई सोमबार होटल हार्दिकमा आयोजित समारोहमा सम्मान गरिएको हो । कवि, गीतकार, गायक, संगीतकर्मीलगायत स्रष्टाका माझ राष्ट्रकविलाई आदर गरियो । म्युजिक अवार्ड समारोह भने असोज २६ मा गैँडाकोटस्थित नारायणी रिसोर्टमा आयोजना गरिने एफएमकी निर्देशक रिना गुरुङले बताइन् । ‘हामीले यसअघि धेरै स्रष्टालाई सम्मान गरिसकेका छौं’, उनले भनिन्, ‘तर, राष्ट्रकविलाई सम्मान नगरेसम्म अधुरो महसुस भयो ।’

पत्नी महाकाली घिमिरेसँगै कार्यक्रममा उपस्थित ९९ वर्षीय राष्ट्रकविले अचिभमेन्ट अवार्ड प्रदान गरेकामा आयोजकलाई धन्यवाद दिए । त्योभन्दा पनि बढी चाहिँ उनले समारोहमा विविध व्यक्तित्वलाई भेट्न पाएकामा खुसी व्यक्त गरे । ‘स्वास्थ्य अवस्थाका कारण घरबाहिर ननिस्किएको धेरै भएको थियो,’ कामेका हातले माइक समाउँदै उनी बोले, ‘आज यत्तिका समयपछि तपार्इंहरूलाई देख्दा खुसी लागेको छ ।’

घिमिरेले सबै स्रष्टालाई समाजप्रति उत्तरदायी रहन आग्रह गरे । गीत रच्दा स्तरीयतालाई ख्याल राख्न अनुरोध गरे । ‘सधैँ साइँली–माइली फकाउने कुरा मात्रै रचेर/गाएर हुँदैन,’ उनले भने, ‘कवि/गीतकारले समाजप्रतिको कर्तव्य पनि बोध गर्नुपर्छ । सञ्चारमाध्यमले पनि मनोरञ्जन प्रदान गर्नुसँगै भाषा/साहित्यलाई पनि सुधार्नुपर्छ ।’

गीतकार कृष्णहरि बरालले सही व्यक्तिलाई सम्मान गर्दा संस्था आफैं सम्मानित हुने तर्क गरे । ‘स्रष्टालाई सम्मान गर्न काठमाडौंसम्म आएर कालिका एफएमले नमुना काम गरेको छ,’ उनले भने । गायक कुमार बस्नेतले चाहिँ राष्ट्रकविभन्दा पहिले आफू नै सम्मानित भएको उल्लेख गर्दै कविको उन्नति र प्रगतिको कामना गरे ।

गीतकार यादव खरेलले स्रष्टालाई सम्मान गर्दा मर्यादाक्रम याद राखिदिन आग्रह गरे । ‘हामीभन्दा पछि पो उहाँलाई सम्मान गरियो,’ खरेलले भने, ‘मर्यादाक्रमको अध्ययन गरेको भए हुने थियो । भविष्यमा यो कुरा याद राखिदिनुहोला ।’ उनले पनि राष्ट्रकविको दीर्घायुको कामना गरे ।

समारोहमा गायक प्रेमध्वज प्रधान, साहित्यकार माया ठकुरी, गीतकार राजेन्द्र थापा, प्रा.डा. खगेन्द्र लुइँटेल लगायतले पनि घिमिरेलाई बधाई दिएका थिए ।

प्रकाशित : आश्विन २४, २०७४ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?