कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रफुल्ल परिणीति

कान्तिपुर संवाददाता

काठमाडौं — रोहित शेट्टी निर्देशित ‘गोलमाल अगेन’ प्रदर्शनको तरखरमा छ । अभिनेत्री परिणीति चोपडा अचेल यो फिल्मको प्रचारमा व्यस्त छिन् । यही क्रममा उनले कमेडी फिल्म खेल्दाको अनुभव र यसबाट प्राप्त उपलब्धिबारे बताउन थालेकी छन् ।

 प्रफुल्ल परिणीति

कुनै बेला सजिलो ठानेको कमेडी विधा असलमा निकै गाह्रो भएको उनको अनुभव छ । 

यो फिल्म आफ्ना लागि विविध कारणले महत्त्वपूर्ण रहेको उनले बताएकी छन् । ‘सबैभन्दा ठूलो कुराचाहिँ यो फिल्म खेलेर मैले राम्रा साथी कमाएँ,’ उनी भन्छिन्, ‘सुरुमा मलाई डर लागेको थियो । अजय देवगण, तब्बु, अरसद वारसी, तुसार कपुरजस्ता स्टारहरू थिए । उनीहरू आपसमा रमाएको देख्दा म के गर्ने होला भन्ठान्थेँ । तर, जसै उनीहरूसँग नजिक भएँ, मेरो खुसीको सीमा रहेन ।’ 

पहिले पहिले कमेडी जानरालाई आफूले झारपात ठान्ने गरेको पनि उनले खुलाएकी छन् । काम थालेपछि भने उनको सोच फेरिएछ । ‘मान्छेलाई हँसाउनु त हो, कमेडी गर्न के गाह्रो होला र जस्तो लाग्थ्यो,’ उनी भन्छिन्, ‘तर, यो त झन् च्यालेन्जिङ रहेछ । बरु, ड्रामाटिक सिन पो सजिलो लाग्न थालेको छ ।’ उनका अनुसार, परबाट हेर्दा हल्काफुल्का लागे पनि कमेडी भनेको सिरियस बिजनेस हो ।

अर्कातिर, यी अभिनेत्री पाँच वर्षपछि अर्जुन कपुरसँग स्क्रिन सेयर गर्दै छिन् । सन् २०१२ मा ‘इशकजादे’ फिल्ममा सहकार्य गरेका उनीहरू ‘सन्दीप और पिंकी फरार’ मा पुन: देखिन लागेका हुन् । कुरा यति मात्रै होइन, उनीहरूले ‘नमस्ते क्यानडा’ मा पनि एकसाथ काम गर्ने टुंगो भइसकेको छ । 

‘यी फिल्मको लागि म पूर्ण तयारीमा छु,’ इन्डियन एक्सप्रेससँग अर्जुनले भनेका छन्, ‘यसकै लागि म दिल्ली पुगेको थिएँ । पात्रभित्र पस्न खोज्दै छु ।’ दिवाकार बनर्जीले निर्देशन गर्ने भनिएको ‘सन्दीप और पिंकी फरार’ मा दुई फरक समुदायका पात्रको कथा उनिएको छ । 

परिणीतिले पनि दिवाकारसँग काम गर्ने आफ्नो सपना रहेको बताएका छिन् । उनका फिल्म अलि फरक शैलीका हुने भएकाले अर्जुन र आफू सँधै लालायित हुने गरेको परिणीतिको भनाइ छ ।

‘म उहाँको पात्रमा डुब्न चाहिरहेकी छु,’ परिणीतिले प्रफुल्ल हुँदै भनेकी छन्, ‘दर्शकलाई केही गम्भीर चिज दिने इच्छा छ ।’ 

 

प्रकाशित : आश्विन २४, २०७४ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?