एसिड आक्रमणमाथि “रुद्रप्रिया” !
काठमाडौं — नारी सशक्तीकरणका सामाजिक मुद्दामा फिल्म बनाउने प्रयास गर्दै आएकी नायिका रेखा थापाले तिहारको छेकोमा कात्तिक २ मा ‘रुद्रप्रिया’ ल्याउँदै छिन् । पछिल्लो फिल्म ‘रामप्यारी’ मा टेम्पो चालक महिलाको कथा प्रस्तुत गरेकी रेखाले यस पटक भने एसिड आक्रमणमा परेकी पीडित महिलाको व्यथा समेटेकी छन् ।
उक्त भूमिकामा रेखा स्वयंले अभिनय पनि गरेकी छन् । रेखाले फिल्मले समेटेको विषयबारे भनिन्, ‘अहिले समाजमा महिलाहरू बोक्सीको आरोपमा, एसिड आक्रमण परिरहेका छन् । आफ्नै बाबुबाट समेत बलात्कारको सिकार भइरहेका छन् । दाइजोको नाममा उत्पीडन भोगिरहेका छन् । फिल्म यिनै विषयवस्तुको पेरिफेरीमा आधारित छ ।’
फिल्मको एउटा पोस्टरमा रेखाको आधा अनुहार मात्रै देखाइएको छ, एसिडपीडित जसरी । तर, आधा छोपिएको अनुहारबारे जान्न रिलिज मितिसम्म कुर्न रेखाले आग्रह गरेकी छन् ।
निर्देशक सुदीप बबी भूपाल सिंहकै पटकथा रहेको ‘रुद्रप्रिया’ मा रेखा र आर्यन सिग्देलले झन्डै सात वर्षपछि स्क्रिन सेयर गरेका छन् । रिभेन्ज लभस्टोरीमा आधारित फिल्ममा आर्यन प्रेमीको भूमिकामा देखिएका छन् ।
‘महिला हिंसा भइरहँदा सधैं पुरुष मात्रै दोषी हुन्छन् भन्ने छैन । कहीं न कहीं महिला पनि दोषी भइरहेका हुन्छन्,’ रेखाले कान्तिपुरसँग भनिन्, ‘सबै पुरुष नराम्रा छैनन् । आर्यनले पनि एक पीडित महिलाको संरक्षक वा सहयोगीको सकारात्मक भूमिका निर्वाह गरेका छन् । उनलाई दर्शकले असल प्रेमीको रूपमा फिल्ममा पाउनेछन् ।’
रेखाले अथाहा माया गर्छु भन्ने प्रेमी पनि प्रेमिका बलात्कार भई वा एसिड आक्रमणमा परी भने छोडेर भाग्ने गरेका उदाहरण देखिने गरेको बताउँदै थपिन्, ‘यदि ऊ साँच्चै महान् प्रेमी हो भने रूप हेर्दैन ।’ उनले फिल्म निर्माण क्रममा एसिड आक्रमणबाट पीडित महिलाहरूसँग पनि साक्षात्कार गरेको उल्लेख गरिन् । उनले ‘रुद्रप्रिया’ विचारप्रधान फिल्म भएको तर्क गर्दै दर्शकलाई अनुरोधसमेत गरिन्, ‘सस्तो हाँसो दिनु मात्रै फिल्मको उद्देश्य हैन । कलाको एउटा सशक्त माध्यम भएकोले फिल्मले विचार वा एजेन्डा पनि साथै बोक्नुपर्छ भन्ने मेरो मान्यता हो । ‘रुद्रप्रिया’ पनि कला र विचारको ट्रयाकमा हिँड्न खोजेको एउटा फिल्म हो । दर्शकले यसलाई फरक दृष्टिकोणले हेरिदिनुहोला ।’
पछिल्ला साता अधिक दर्शकचापसहित ‘छक्का पञ्जा २’ चलिरहेका बेला रेखाले यस्तो भनाइ राखेकी हुन् । केही महिलावादीले दीपाश्री निरौला निर्देशित उक्त फिल्मले महिलालाई गलत ढंगबाट चित्रण गरिएको भन्दै विरोध गरिरहेका बेला रेखाले भने आफ्नो फिल्म महिला सशक्तीकरणका पक्षमा रहेको दाबी गरिन् ।
उनले फिल्मका माध्यमले सामाजिक कुरीतिको उत्पीडनमा परेका महिलाहरूका समस्यालाई उजागार गर्ने आफ्नो सपना रहने गरेको उल्लेख गर्दै पछिल्लो फिल्म पनि त्यसैको उदाहरण भएको सुनाइन् । रेखा र आर्यनबाहेक संगीतकार राजन इशानले समेत फिल्ममा मुख्य भूमिका निर्वाह गरेका छन् । रमेश पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा सरस्वती थापा र आर्यन फिल्म्सको लगानी रहेको छ ।
प्रकाशित : आश्विन २५, २०७४ ०९:५१