क्यानभासमा नेपाल–भारत रंग

कान्तिपुर संवाददाता

काठमाडौं — के भारत के नेपाल, दुवैतिरका राजनीतिक व्यक्तिहरूले द्विदेशीय सम्बन्धबारे बोल्नुपर्दा नबिर्सने शब्दावली हो– ‘दुवै मुलुकबीच रोटी–बेटीको नाता छ ।’ यसले दुवैतिरका नागरिकको जीवनशैली, संस्कृति र रहनसहनमा कति साम्य छ भन्ने देखाउँछ । समाजको त्यो निकटतम प्रभाव कला क्षेत्रमा प्रतिविम्बित नहुने कुरै भएन ।

क्यानभासमा नेपाल–भारत रंग


यति बेला नेपाल र भारतका चित्रकारहरू एक ठाउँ उभिएका छन् । बबरमहलस्थित आर्ट काउन्सिलमा बुधबार दुवैतर्फका चित्रकारहरूको संयुक्त कला प्रदर्शनी सुरु भएको छ ।

‘गोल्डेन होराइजन’ थिममा गरिएको प्रदर्शनीमा राखिएका सिर्जनाहरू अवलोकन गर्दा दुवै मुलुकको सामाजिक–सांस्कृतिक निकटता छयाङ्ग हुन्छ । प्रदर्शनीमा नेपाली र भारतका गरी १२ चित्रकारका सिर्जना छन् ।

चित्रकार कृष्णगोपाल श्रेष्ठको सिर्जना भौतिक सम्पदामा केन्द्रित छ । भूकम्पपछिको नेपालको सांस्कृतिक अवस्था कस्तो छ, उनका चित्र हेरेर सहजै अनुमान लगाउन सकिन्छ । उनले एउटा चित्रमा वृद्ध महिला र जीर्ण पुरानो ढोकालाई सँगै प्रस्तुत गरेर तीबीच तुलना गरेका छन्, जसले समय, परिस्थिति र संस्कृतिको वास्तविक चित्रण गर्छ ।

वरिष्ठ चित्रकार किरण मानन्धर (बायाँ) लाई आफ्नो सिर्जनाबारे अथ्र्याउँदै चित्रकार कृष्णगोपाल श्रेष्ठ ।

सधैं आशावादी रहने चित्रकार सत्यशीला कसजूले यस पटक शान्तिभाव चित्रमा उतारेकी छन् । उनले शालीन मुद्रामा रहेका बुद्धको आकृतिमा रंग पोतेकी छन् । बादलको पृष्ठभूमिमा पीपलको पात उडेको मुभमेन्ट उतारेकी उनले आफूभित्रको सकारात्मक सोच प्रस्तुत गरेकी छन् । यसो त प्रदर्शनीमा राखिएका धेरै चित्रले आशाकै किरण देखाएका छन् ।

भारतका चित्रकार रमेश मोतुकुरीको क्यानभासमा रंग मात्रै छ । कुनै निश्चित आकृति छैन । इन्द्रेणीको स्वरूप झल्कने उनको चित्रले जीवनको रंगीन मनोभाव दर्साएको अनुभूति गर्न सकिन्छ । हुने पनि हरेक रंगले जीवनको अर्थ प्रतिविम्बित गर्छ ।

स्वस्ति मिश्रले समय चक्रलाई आफ्नो कलाको केन्द्रिबिन्दु बनाएकी छन् । डाइनोसोरजस्तो देखिने जनावरभित्र सानो घडी राखेर उनले समयसापेक्ष नचले लोप हुने खतरा रहेको भाव प्रस्तुत गरेकी छन् ।

रवि आर कुलकर्णी प्राय: मानवशक्तिको थिममा चित्र कोर्ने गर्छन् । यो पटक भने नेपालमा ल्याएको उनको काम ल्यान्डस्केप सौन्दर्यमा केन्द्रित छ ।

त्यस्तै, नेपालकी चित्रकार सरिता डंगोलको कला भने भौतिक विषयभन्दा पनि मनोविज्ञानसँग गाँसिएको छ । खुर्सानीजस्तो निर्जीव वस्तुमा उनले मानव जीवनको परिकल्पना गरेकी छन् । सञ्जित महर्जनको चित्रले काठमाडौंको प्रदूषित वातावरणमाथि व्यंग्य गरेको छ । सानो बालक मास्क लगाएर हिँड्नुपर्ने समसामयिक विडम्बना उनको चित्रमा झल्किन्छ । सन्ध्या सिलवालको कला पेपर कटिङ टेक्निकमा आधारित छ । यसले फरक स्वाद दिएको छ ।

भारत र नेपालका कतिपय चित्रकारहरूका सिर्जनामा रंग, माध्यम र विचारदृष्टिमा एकरूपता देख्न सकिन्छ ।

नेवा छेँ आर्ट ग्यालरी र क्लासिक आर्ट ग्यालरीद्वारा थालिएको प्रदर्शनी असोज २९ सम्म चल्नेछ ।

प्रकाशित : आश्विन २६, २०७४ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?