१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

जसलाई सतायो गम्भीर रोगले

कान्तिपुर संवाददाता

काठमाडौं — हलिउड नायिका/गायिका सेलेना गोमेज आफ्नो स्वास्थ्य स्थितिलाई लिएर खुला किताबझैं छिन् । सन् २०१५ मा उनले आफूलाई ‘लुपस’ नामक रोग लागेको बताएकी थिइन् । पूर्ण निर्मूल पार्न नसकिने उक्त रोगसँग लड्न नियमित केमोथेरोपी गराउनुपरेको थियो ।

 जसलाई सतायो गम्भीर रोगले

तर, लुपसकै कारण उनको मृगौला खराब भयो । हालै उनले मृगौला प्रत्यारोपण गराइन् । साथी फ्रान्सिया राइसाले किडनी दिएपछि सेलेनाले नयाँ जीवन पाएको प्रतिक्रिया दिएकी थिइन् । 

प्रत्यारोपणअघि २०१६ मा पनि उनले आफूलाई एन्जाइटी, प्यानिक अटयाक र डिप्रेसन भएको बताएकी थिइन् । ‘म खुसी र सक्रिय हुन चाहन्छु,’ उनले भनेकी थिइन्, ‘त्यसका लागि स्वास्थ्य ठीक हुनुपर्‍यो । तसर्थ, केही समय ब्रेक लिने निर्णय गरेकी छु ।’ नयाँ म्युजिक भिडियोहरू लन्च गरिरहे पनि सेलेना त्यसपश्चात् म्युजिक सिनबाट हराएकी थिइन् । उनी अझै ब्रेकमै छिन् । 

लुपस फाउन्डेसन अफ अमेरिकाका अनुसार, यो रोग पुरुषलाई भन्दा बढी महिलालाई लाग्छ । यसले शरीरको प्रतिरोधात्मक शक्तिलाई निष्क्रिय बनाउनुका साथै विभिन्न अंग, जोर्नी, छाला वा भित्री अंगहरू बिगारिदिन्छ । यसको उपचार सम्भव छैन । सेलेनासँगै गायिका टोनी ब्राक्स्टन र गायक निक क्यानोन लुपससँग जुधिरहेका छन् । लेडी गागालाई पनि यो रोग लागेको हल्ला चलेको थियो । तर, त्यो कुरा झूटो भएको गागाले स्पष्ट पारिसकेकी छन् ।

हेर्दा चिरिच्याँट्ट वा आकर्षक देखिए पनि थुपै्र सेलिब्रिटी भित्रभित्रै विभिन्न रोगसँग लडिरहेका हुन्छन् । हाम्रै मनीषा कोइराला क्यान्सरलाई जितेर नयाँ जीवन बाँचिरहेकी छन् । अस्तव्यस्त जीवनशैली, जंकफुड आदिले आफूलाई क्यान्सरसम्म पुर्‍याएको उनको भनाइ थियो । ‘मैले स्वयंलाई माया गरिनँ,’ उनी भन्छिन्, ‘अस्पतालको बेडमा महिनौंसम्म बस्दा जीवनको महत्त्व बुझेँ ।’ अचेल उनी आफूलाई क्यान्सरविरुद्धको योद्धा भन्न रुचाउँछिन् ।

अभिनेता टम हयांक्स डाइबिटिजपीडित हुन् । २०१३ मा उनले यो रहस्य उजागर गरेका थिए । १९९० देखि २००० सम्म खूब चर्चित रहेकी गायिका पिंक सानैदेखि रोगी थिइन् । उनलाई अस्थमा अर्थात् दम छ । यद्यपि, रोगलाई उनले बाधक ठानिन् । कोलम्बियन गायिका साकिराका पनि सबै कुरा पर्फेक्ट छैनन् । उनलाई टाक्जोप्लाज्मोसिस भन्ने रोग छ । काँचो मासु वा घरपालुवा जनवारमार्फत सर्ने यो रोगले मांसपेसी दुख्ने, ज्वरो आउनेलगायत समस्या पैदा गर्छ । 

अभिनेता हयु ज्याकम्यानलाई छालाको क्यान्सर छ । टेलिशृंखला ‘बेवाच’ मार्फत चिनिएकी अभिनेत्री पामेला एन्डरसन हेपटाइटिस सीबाट प्रताडित छिन् । यसले गर्दा उनलाई अचानक ज्वरो आउने, थकान महससु हुने र पेट दुख्ने समस्या आइपर्छ । र्‍यापर लायल वाइनी मस्तिष्कसम्बन्धी समस्याको औषधि सेवन गर्छन् । उनलाई एपिलेप्सी नामक रोग छ । मोर्गन फ्रिम्यानलाई पूरै जीउ दुख्ने समस्या छ । मेडिकल भाषामा यसलाई फाइब्रोमाइअल्जिया भनिन्छ ।

– एजेन्सी 

प्रकाशित : आश्विन २६, २०७४ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?