“छक्का पञ्जा” को हयाट्रिक

विमल खतिवडा

चितवन — कालिका एफएमले प्रदान गर्दै आएको म्युजिक अवार्डमा ‘छक्का पञ्जा’ ले हयाट्रिक गरेको छ । एफएमको पन्ध्रौं वार्षिकोत्सव तथा तेह्रौं अवार्ड समारोहमा उक्त फिल्मका दुइटा गीत तीन विधामा पुरस्कृत भएका छन् ।

उक्त फिल्मको ‘देख न चम्पा...’ गीतका लागि दीपक शर्मा फिल्मतर्फको उत्कृष्ट संगीतकार घोषित भए भने, शान्तिप्रिय उत्कृष्ट गीतकार । ‘पूर्व–पश्चिम रेल..’ को युगल गायनमा राजनराज सिवाकोटी र अञ्जु पन्तले अवार्ड पाए । 

पाश्र्व गायनमा पुरुषतर्फ ‘म यस्तो गीत गाउँछु’ को ‘भन्छु आज...’ गीतका लागि सुगम पोखरेल र महिलातर्फ ‘२ रुपैयाँ’ को ‘कुटुमा कुटु...’ गीतका लागि मेलिना राईले अवार्ड थापे ।

आधुनिक गीतमा गायकतर्फ ‘मनको दाग...’ का लागि युवराज चौलागाईं र गायिकातर्फ ‘र्‍याइँर्‍याइँ गर्‍यो सारंगी...’ का लागि सत्यकला राईले अवार्ड जिते । संगीतकारमा ‘फूल सरी...’ का लागि राजकुमार बगर र रचनाकारतर्फ एकनारायण भण्डारीले ‘म बाँचेकै...’ बाट अवार्ड थापे ।

पप गायनतर्फ गायकमा ‘सुन साइँली...’ का लागि हेमन्त राना र गायिकातर्फ ‘नाइँ मलाई थाहा छैन...’ का लागि टीका प्रसाईं पुरस्कृत भए । संगीतकारमा ‘तिम्रो चोलीको तुनामा...’ बाट हिमाल सागर र रचनाकारतर्फ ‘मलाई माया गर्ने..’ का लागि योगेन्द्रमणि दाहालले अवार्ड पाए । पप ब्यान्डतर्फ ‘सानीको...’ गीतबाट १९९४ एडी पुरस्कृत भयो ।

 लोकदोहोरीमा गायकतर्फ राजु परियारले ‘जानेलाई जान देऊ माया...’ का लागि अवार्ड पाए । गायिकातर्फ देवी घर्ती मगर ‘उही खोलीमा पानी...’ र लोकदोहोरी लयतर्फ ‘यो दाइ फेरि आउँदैन...’ का लागि शिरीष देवकोटा भाग्यमानी ठहरिए । लोकदोहोरी शब्दतर्फ ‘सपनीमा आँसु...’ का लागि रमेश बीजी अवार्ड जित्न सफल भए । लोकदोहोरीमा स्थानीय गायकतर्फ ‘मायाले हाँसेर खाऊ पानी..’ का लागि लक्ष्मी दाहाल र मध्य नेपाल गायनतर्फ मनोज महतोले ‘तिम्रो जवानीको झिल्को..’ का लागि अवार्ड पाए । 

संगीत संयोजनतर्फ ‘भन्छु आज...’ गीतका लगि महाराज थापा र डेब्यु गायनतर्फ ‘सिरसिर हावासँगै..’ का लागि मीरा कार्कीले अवार्ड पाए । वर्षको सर्वोकृष्ट गीतको अवार्ड भने ‘कुटुमा कुटु...’ का लागि राजनराज, मेलिना, राजन इशानले पाए । उत्कृष्ट गजलतर्फ ‘चिसो सहर..’ का लागि राज सागर र 
शीतल कादम्बिनीले अवार्ड पाए । 

राष्ट्रिय गीततर्फ विशाल ढकालको संगीतमा शिशिर योगी, संगीता पोखरेल र राजेन्द्र बजगार्इंले गाएको ‘जहाँ स्वर्गभन्दा...’ उत्कृष्ट दरियो । म्युजिक भिडियोतर्फ भने निकेश खड्काले ‘तिलहरी..’ गीतबाट अवार्ड बुझे । 

गैँडाकोटको नारायणी रिसोर्टमा बिहीबार आयोजित समारोहमा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा राजु परियार, देवी घर्ती मगर, कमल क्षेत्री, रमेशराज भट्टराई, हिमाल सागर, भुवन प्यासी, कमल खत्री र शिरीष देवकोटाले गीत गाएर र रेणु तामाङले नाचेर मनोरञ्जन दिए । 

 

प्रकाशित : आश्विन २७, २०७४ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्

हरिभक्तका नाटक र गीत

कान्तिपुर संवाददाता

काठमाडौं — लेखक/गीतकार हरिभक्त बुढाथोकीको नाटक ‘वसन्त–कोपिला’ नयाँ ढबढाँचासहित आएको छ । नर विष्णुमाया–सनक भगवती स्मृति प्रतिष्ठानद्वारा राजधानीमा बिहीबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, डा. खगेन्द्रप्रसाद लुइँटेल, प्रा. अभि सुवेदीलगायतले कृति लोकार्पण गरे ।


‘नाटकमा बुढाथोकीले तत्कालीन समाजको चित्र उतार्नुभएको छ,’ कुलपति उप्रेतीले भने, ‘२०१७ सालतिर उहाँले तेह्रथुमका गाउँगाउँमा आफैं यो पुस्तक बेच्दै हिँड्नुभएको थियो । मैले त्यति बेलै पढ्न पाएको थिएँ ।’ 

नाटकमा सरल, सहज, सुबोध र स्वाभाविक भाषिक विन्यास भएको डा. लुइँटेलले टिप्पणी गरे । ‘स्कुले जीवनमा रहेको विद्यार्थीले यतिको परिष्कृत र परिमार्जित भाषामा सिंगो नाटयकृति नै तयार गर्नुलाई महत्त्वपूर्ण मान्नुपर्छ,’ उनले भने, ‘यसमा उच्च वर्गका पात्रले निम्न वर्गका पात्रलाई निकै अपहेलित व्यवहार गरेको पनि देखाइएको छ ।’ उनले हरिभक्तलाई गोविन्दबहादुर मल्ल गोठाले र विजय मल्लका समकालीन नाटककारको रूपमा व्याख्या गरे । 

कार्यक्रममा प्रतिष्ठानले सय वर्षीया भौमकुमारी उपाध्याय र ९३ वर्षे हीरालाल डंगोललाई जनही १५ हजार रुपैयाँसहित सम्मान गर्‍यो ।

कार्यक्रममा हरिभक्त र जेसिका चेम्जोङका गीत समेटिएको ‘तिम्रा यादहरूमा’ एल्बमसमेत लोकार्पण गरियो । एल्बममा १० गीत छन्, तीमध्ये ८ वटा हरिभक्तका हुन् भने, दुइटा जेसिकाका । चेतन चुडाल, हरि लम्साल, हरि बल्लभ, रमेश खड्का, सुरेश अधिकारी, मनोजराजले संगीतबद्ध गरेका गीतमा शिशिर योगी, स्वरूपराज आचार्य, चेतन, रमेश, अञ्जु पन्त, बानिका प्रधान, मेलिना राई, सरिता प्रधान र निखिता थापाको स्वर सुन्न सकिन्छ । 

 

प्रकाशित : आश्विन २७, २०७४ ०९:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्