१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘कु कु कु...’ भन्दै निखिल–सारा

कान्तिपुर संवाददाता

काठमाडौं — स्टन्टम्यान हुँदै फिल्म ‘पिँजडा’ बाट एक्सन नायकका रूपमा आएका निखिल उप्रेतीले अझै पनि एक्सन छविलाई नै निरन्तरता दिइरहेका छन् । माघ ४ मा उनको डेब्यु फिल्मकै सिक्वेलका रूपमा ‘पिँजडा ब्याक अगेन’ रिलिज हुँदै छ ।

‘कु कु कु...’ भन्दै निखिल–सारा

राजधानीमा बिहीबार त्यही फिल्मको गीत ‘कु कु कु...’ मा भने निखिललाई को–स्टार सारा सिर्पालीसँग नाचेको फरक दृश्यमा देखियो । स्वयं निखिलले नै नौलो अनुभव गरेको सुनाए ।

‘मैले यो गीतमा मुस्किलले कम्मर हल्लाएको छु,’ गीत सार्वजनिक कार्यक्रममा निखिलले पत्रकारहरूतर्फ संकेत गर्दै भने, ‘यदि तपाईंहरूले मैले कम्मर मर्काएको ठाउँमा ताली बजाइदिनुभयो भने खुसी मान्नेछु ।’ निखिल स्वयं आफूलाई नाच्न नआउने स्वीकार्छन् पनि ।

निखिललाई कोरियोग्राफर रामजी लामिछानेले त्यसरी नचाउने प्रयास गरेका हुन् । ‘यो गीतको सुटिङ सक्नै आठ दिन लागेको थियो,’ साराले थपिन्, ‘चितवनको गर्मीमा सुटिङ सकिँदासम्म म डढेर कालै भएकी थिएँ ।’ एउटै लोकेसनमा सकिएको भए पनि आठ दिन लाग्नुमा निखिलको नृत्य अभ्यास नभएर पनि ढिलो भएको रहेछ ।

राजनराज सिवाकोटीको रचना र संगीत रहेको उक्त गीतमा स्वर पनि राजनराजले अञ्जु पन्तसँग मिलेर दिएका छन् । राजनराजले भने खासगरी गीतको शब्दमा बढी जोड दिए । भने, ‘गीतमा मैले मौलिक शब्दहरूको प्रयोग गरेको छु, जुन नयाँ पुस्ताबीच परिचित छैनन् । यस्ता शब्द आमश्रोतामा जानुपर्छजस्तो लागेर नै मैले गीतमा प्रयोग गरेको छु ।’

निखिलसँगै ‘रुद्र’ बाट डेब्यु गरेकी साराले ‘पिँजडा ब्याक अगेन’ मा पनि निखिल आफ्ना लागि ‘सपोर्टिभ’ रहेको बताइन् । फिल्ममा आफ्नो भूमिकाबारे जानकारी दिँदै उनले थपिन्, ‘मेरा लागि यो रोल एकदमै डिफरेन्ट हो । वास्तविक जीवनमा म एकदमै डरपोक छु । तर फिल्ममा बोल्ड लेडीको रूपमा देखिनेछु ।’
फिल्ममा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ, बाल कलाकार कुशाग्र भट्टराईको पनि अभिनय रहेको छ । मौनता श्रेष्ठको पटकथा रहेको फिल्मलाई हिमाल केसीले निर्देशन गरेका हुन् भने रोहित पुरी, गोविन्द गैरे, चन्द्रबहादुर क्षत्रीले लगानी गरेका छन् ।

प्रकाशित : आश्विन २७, २०७४ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?