डिप्रेसनको तीतो अनुभव

कान्तिपुर संवाददाता

काठमाडौं — सेलेब्रिटीहरू आफ्ना समस्या प्राय: लुकाउँछन् । बलिउड अभिनेत्री दीपिका पादुकोणले चाहिँ त्यस्तो गर्ने गरेकी छैनन् । आफू डिप्रेसनबाट पीडित भएको कुरा उनले नधकाईकन सुनाइन् । यो मानसिक समस्याबाट छुटकारा पाउने क्रममा उनले ‘लिभ लभ लाइफ’ नामक संस्था नै खोलिन् । ३१ वर्षे अभिनेत्री डिप्रेसनसम्बन्धी आफ्ना अनुभव बेलाबेला सेयर गरिरहन्छिन् ।

डिप्रेसनको तीतो अनुभव

हालैको एउटा कार्यक्रममा पनि उनले मानसिक समस्यासँग जुध्दाको अनुभूति साझा गरेकी थिइन् । ‘यो रोग बल्झेला कि भनेर पछिसम्म पनि निकै डराएकी थिएँ,’ उनले भनेकी थिइन्, ‘खासमा म अझै योसँग जुधिरहेकी छु । पहिले–पहिले त पूर्ण रूपमा ठीक हुन्छु जस्तो पनि लाग्दैनथ्यो । मेरो मनमस्तिष्कमा डरले डेरा जमाएको थियो । डिप्रेसनमा पर्दाको मेरो अनुभव साह्रै तीतो छ ।’

डिप्रेसनबारे खुलेर बोल्दा केही घाटा पो भयो कि भन्ने प्रश्नमा दीपिकाले ठोकुवा गरेर भन्न नसके पनि केही निर्माता आफूबाट पन्छिएको हुन सक्ने बताइन् । उनले देशभरका विद्यालयमा मानसिक स्वास्थ्यबारे राम्रो पढाइ हुन आवश्यक रहेको औंल्याइन् । ‘विद्यार्थीहरूलाई अवगत गराए मात्रै मानसिक रोगसँग जोडिएका भ्रमहरू हट्नेछन्,’ उनले भनिन् ।

दीपिका यति बेला सञ्जयलीला भन्साली निर्देशित ‘पद्मावती’ को काममा व्यस्त छिन् । फिल्ममा उनी रानी पद्मावतीको भूमिका निर्वाह गर्दै छिन् । तिहारको छेकोमा उनको नयाँ लुक्स बाहिर आएको छ । उक्त फिल्ममा दीपिकासँगै साहिद कपुर र रणवीर सिंह मुख्य भूमिकामा देखिनेछन् ।

प्रकाशित : आश्विन २७, २०७४ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?