“फिल्म खेल्न सजिलो, बनाउन गाह्रो”

भीम घिमिरे

पोखरा — फिल्म निर्माणमा तिनैले हात हाल्छन्, जो कुनै न कुनै विधामा काम गरिआएका हुन्छन् । कलाकार रमेश उप्रेतीको हकमा पनि त्यस्तै हो ।

 “फिल्म खेल्न सजिलो, बनाउन गाह्रो”

‘ऐश्वर्य’ को प्रचारात्मक कार्यक्रमका लागि पोखरा आइपुगेका यी कलाकारले निर्माणमा हात हालेपछि मात्रै यो क्षेत्रका चुनौतीसँग साक्षात्कार गर्न पुगेको बताए । ‘पहिलापहिला मलाई लाग्थ्यो, डाइरेक्टर–क्यामेराम्यानले आफ्ना काम गर्छन्, कलाकारले आफ्नो । फिल्म बनाउन सजिलो छ,’ उनले भने, ‘आफैंले बनाउन भनेर लागिपरेपछि मात्रै थाहा भयो, फिल्ममेकिङ सजिलो काम होइन रहेछ ।’ दर्जनौं फिल्ममा अभिनय गरेका यी कलाकार सात वर्ष अमेरिका भास्सिएपछि पुन: फिल्म क्षेत्रमा फर्किएका हुन् । ‘फिल्म आफूलाई मन परेर मात्रै सफल हुने होइन,’ उनले भने, ‘दर्शकले कस्तो प्रतिक्रिया देलान् भन्ने पनि चिन्ता हुने रहेछ ।’

अमेरिकाबाट फर्किएपछि एक वर्षसम्म यो फिल्मका लागि धेरै परिश्रम गर्नुपरेको उनले बताए । ‘अर्काले बनाउने फिल्ममा आफूले अभिनयमात्रै गर्नुपर्दा त्यति गाह्रो छैन,’ उनले भने, ‘तर, सबै टिम जुटाएर आफैंले फिल्म बनाउँछु भन्नु आफैंमा ठूलो चुनौती रहेछ ।’ प्रविधिले फड्को मारेर फिल्म निर्माण केही सजिलो भए पनि पूरा युनिटले काम गर्न अझै पनि व्यावसायिक काम गर्नेको कमी र पोस्ट प्रोडक्सनको काम पहिलेभन्दा महँगो भएको अनुभव आफूले गरेको उनको भनाइ छ । छायांकन सकेर फिल्म पोस्ट प्रोडक्सनमा गएपछि आफूहरू अहिले त्यसको बजार प्रवद्र्धनका लागि हिँडिरहेको उनले बताए ।

दिवाकर भट्टराई निर्देशित ‘ऐश्वर्य’ मा तीन मुख्य पात्रको अभिनय उप्रेती, प्रशान्त ताम्राकार र नवोदित दीपिका प्रसाईंले गरेका छन् । युटयुबमा रिलिज भएको ट्ेरलर दर्शकले मन पराएको यो फिल्ममा केकी अधिकारी, अर्जुन श्रेष्ठ, विकास खतिवडा, केशव भट्टराई र अमित पोखरेलको पनि अभिनय छ ।

कात्तिक ९ देखि देशभर प्रदर्शनको तयारीमा रहेको यो फिल्म सहरको कथा भएको निर्मातामध्येका निर्मल शर्माले बताए । ‘मैले करिब २२ वर्ष फिल्म क्षेत्रमा बिताइसकेँ, धेरै फिल्म खेलेँ, लगानी पनि गरेँ,’ उनले भने, ‘अहिलेसम्म म जोडिएमध्येको ‘ऐश्वर्य’ कथा, डाइरेक्सन, स्टोरी, क्यारेक्टर र एक्टिङ सबैमा उच्चस्तरको बनेको छ भन्ने लागेको छ ।’ प्रविधिले हातहातमा मोबाइल ल्याएपछि ट्रेलर हेरेरै फिल्मको स्तर दर्शकले थाहा पाउने भएकाले फिल्मकर्मीका लागि स्तरीय कथावस्तुसहितको सिनेमा पर्दामा ल्याउन सक्नु ठूलो चुनौती भएको उनले बताए । ‘अहिले नेपाली फिल्म इन्डस्ट्री आसलाग्दो भएको छ,’ उनले भने, ‘तर, साथमा क्वालिटीको फिल्म दिनुपर्ने चुनौती पनि छ । दर्शक अब नेपाली फिल्मलाई माया गरिदिएर हेर्नेमात्रै होइन, क्वालिटी छ कि छैन भनेर जाँच्ने भइसकेका छन् ।’

लामो समयदेखि मोडलिङ र फेसनको क्षेत्रमा आबद्ध ताम्राकारले फिल्ममा आफूलाई दिइने पात्रलाई न्याय हुने अभिनय गर्न सक्नु ठूलो ‘च्यालेन्ज’ भएको बताए । ‘योभन्दा अघि मैले दुइटा फिल्ममा खेलेको छु, तर खास डेब्यु चाहिँ ‘ऐश्वर्य’ नै हो भन्ने मान्छु,’ उनले भने, ‘फेसनको लाइनभन्दा फिल्म गाह्रो भन्ने लाग्छ ।’

यो फिल्मबाट पहिलो पटक पर्दामा अउन लागेकी प्रसाईंले आफूलाई दिइएको पात्रको अभिनयमा गरेको कामको मूल्यांकन दर्शकले नै गर्नुपर्ने बताइन् । ‘क्यारेक्टरलाई कति गर्न सकियो त्यो दर्शकले भन्नुपर्छ,’ उनले भनिन्, ‘आफूले गरेको एक्टिङ आफूलाई त राम्रै लाग्छ ।’ ‘ऐश्वर्य’ बाट आफू निकै आशावादी रहेको उनले बताइन् ।

प्रकाशित : आश्विन ३०, २०७४ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?