‘चाडबाडले परिवारलाई जोडिन सघाउँछन्’

सजना बराल

काठमाडौं — कलाकार लक्ष्मी गिरी कुनै बेला ७/८ जना दाजुभाइलाई लहरै राखेर सप्तरंगी टीका लगाइदिन्थिन् । बिस्तारै दाजुभाइसँग दूरी बढ्दै गयो । कोही बिदेसिए, कोही कता पुगे, कोही यत्तिकै टाढिए । यसपालि त हुँदाहुँदा एक जनासँग मात्रै भाइटीका मनाउनुपर्‍यो ।

 ‘चाडबाडले परिवारलाई जोडिन सघाउँछन्’

‘दुई जना टुट्नुहुन्नथ्यो,’ उनले भनिन्, ‘तर, यसपालि यस्तै भयो । एक जनाको नमिल्ने भएर भाइसँग मात्रै तिहार मनाएँ ।’ 

गिरीले काका–बडाबाका छोराहरूलाई पनि भाइटीका लगाइदिने गरेकी थिइन् । फिल्म लाइनका मान्छेलाई चाहिँ कहिल्यै तिहारमा निम्ता गरिनन् । ‘मसँग भाइटीका लगाइमाग्ने थुप्रै हुनुहुन्छ,’ उनले भनिन्, ‘तर, म मान्दिनँ । दुई/चार वर्ष लगाएर स्वार्थ पूरा भएपछि टीका लगाउनै छोडेको देखेकी छु । त्यस्तो गर्नुभन्दा खाली हात बस्नु ठीक लाग्छ ।’ यद्यपि, उनले खल्लो चाहिँ बस्नु परेको छैन । यत्ति हो, दाजु–भाइ छरपस्ट भएका छन् ।

गिरीलाई बच्चा बेलाको तिहार सम्झिँदा बेग्लै रमाइलो लाग्छ । आमाले सेलरोटी, मालपुवा, अनरसा पकाउँदा उनी फुरुक्क पर्थिन् । अगेनाछेउ नाचिहिँडदा गाली पनि खान्थिन् । छिमेकका साथीसंगी बोलाएर तिनलाई चखाउने, उनीहरूकहाँ जाने गर्थिन् । ‘यहीँ काठमाडौंको पशुपति क्षेत्रमा जन्मिएकी हुँ,’ उनले भनिन्, ‘चाडपर्वमा हाम्रोतिर अर्कै खालको रौनक हुुन्छ । बिहे गरेर खोटाङको हलेसी पुगेँ, त्यहाँ पनि बडा रमाइलो हुँदोरहेछ ।’ 

यी अभिनेत्रीलाई खासमा शरद ऋतुको माहोलै प्रिय लाग्छ । जताततै ढकमक्क फूल फुलेको देख्दा मुड फ्रेस हुने उनी बताउँछिन् । ‘मौसमले आफूलाई पूर्ण रूपमा खुलाएको समय हो यो,’ साहित्यतिर सुधा गिरीका नामले परिचित उनले भनिन्, ‘सयपत्री, मखमली, लाहुरे फूल सबै फक्रिन्छन् यो बेला । प्रकृति हेरेर पनि रमाउँछु म त ।’

नातिनातिना हुर्काइसकेकी यी वरिष्ठ कलाकार तिहारको सांस्कृतिक पाटोप्रति भने चिन्तित छिन् । अहिलेका मान्छेले देउसी/भैलो खेलेको त्यति चित्त बुझदैन उनलाई । फिल्मका गीत बजाएको देखेर मुर्मुरिन्छिन् । कतिपयले त बलिउड आइटम सङ नै बजाएर ‘देउसी’ खेलेको पनि उनले देखे/सुनेकी छन् । त्यसमाथि, जथाभावी भट्याएको सुन्दा टाउको चर्किन्छ । ‘के भट्याउने, कुन बेला भट्याउने, कसरी भट्याउने भन्नेबारे अहिलेकालाई ज्ञान छैन,’ उनले भनिन्, ‘नयाँ पिँढीलाई संस्कार सिकाउने कुरामा हामी नै सचेत हुन आवश्यक छ ।’

तिहार क्रमश: छोटोछरितो हुँदै गएको पनि गिरीले अनुभव गरेकी छन् । मान्छेहरू अचेल बेफुर्सदिला भएकाले छिटोछिटो सक्नपट्टि लागेको हुनसक्ने उनले बताइन् । ‘पहिले निकै फुर्सद हुन्थ्यो,’ उनले भनिन्, ‘काम नै भए पनि मान्छेहरू चाडबाडका लागि समय छुट्याउँथे । तिहारका रीतिरिवाज आरामले पूरा गर्थे । अचेल सबै थोक हतार–हतार सक्न खोजेजस्तो लाग्छ ।’ भाइटीकाका रीतिरिवाजसमेत सालाखाला पाराले गर्ने गरेको उनले बताइन् । 

२०२६ देखि फिल्म क्षेत्रमा सक्रिय रहेकी गिरी अहिले र उहिले दुवै समयको तिहार रमाइलो मान्छिन् । यो पर्वले पारिवारिक सम्बन्ध प्रगाढ बनाउन सदैव राम्रो भूमिका खेलेको उनलाई लाग्छ ।

‘कल्चर भन्ने कुरा सधैं राम्रो हुन्छ,’ उनले भनिन्, ‘त्यसलाई कसरी निभाउने भन्नेमा सचेत हुन जरुरी छ । दसैं–तिहारले टुक्रिँदै गएको हाम्रो फ्यामिली सिस्टमलाई जोडिन सघाइरहेको छ ।’

गिरीलाई एक वर्षको तिहारमा अलि नरमाइलो भएछ । २०४९ को तिहारमा भाइको घरमा टीका लगाउने कार्यक्रम रहेछ । साँझ घर फर्किंदा आफूले माया गरेर पालेको कुकुर मरिरहेको देखिन् ।

‘उसलाई दुई–चार दिनदेखि सन्चो थिएन,’ गिरीले सम्झिन्, ‘भाइटीकाको दिन बितेछ । त्यो देखेर साह्रै पीडा भएको थियो ।’ त्यो घटनापछि गिरीले जनावर पाल्न छोडेकी छन् । यद्यपि, हरेक साल तिहार आउँदा आफ्नो प्यारो कुकुर सम्झन्छिन् । 

प्रकाशित : कार्तिक ६, २०७४ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?