फिल्म साउथ एसियाको ११ औं संस्करण अर्को हप्ता शुरू हुने

कान्तिपुर संवाददाता

काठमाडौं — ‘फिल्म साउथ एसियाको एघारौ संस्करण यही कार्तिक १६ गते बिहीबारदेखि ललितपुरको यलमाया केन्द्रमा शुरू हुने भएको छ ।

फिल्म साउथ एसियाको ११ औं संस्करण अर्को हप्ता शुरू हुने

फिल्म साउथ एशियाले बुधबार जारी गरेको बिज्ञप्ति अनुसार ‘वृत्तचित्र: एक साक्षी’ नाराका साथ हुन लागेको 'फिल्म साउथ एसिया २०१७' चार दिनसम्म चल्नेछ । सन् २०१५ यता बनेका दक्षिण एसियाका समसामयिक विषयहरूमा केन्द्रित तीन सयभन्दा बढि वृत्तचित्रहरूमध्येबाट छानिएका उत्कृष्ट ६३ वृत्तचित्रहरू प्रदर्शन गरिनेछ ।

सन् १९९७ मा शुरू भएको यो द्विवार्षिक मेलाले परिवर्तनकारी सोचलाई प्रवर्धन गर्ने दक्षिण एसियाली विषयका वृतचित्रहरू विगत २० वर्षदेखि प्रदर्शन गर्दै आएको छ । फिल्म साउथ एसिया २०१७ ले यस क्षेत्र र विश्वका उत्कृष्ठ सिनेमाकर्मीहरूलाई एकै मञ्चमा ल्याएर वृत्तचित्रका बारेमा छलफल गर्ने र वृत्तचित्र निर्माणलाई प्रभावकारी बनाउने उद्देश्य राखेको आयोजकले जनाएको छ ।

यो वर्ष प्रदर्शन हुने ६३ मध्ये ४५ वटा वृत्तचित्रहरूले पाँचवटा पुरस्कारकालागि प्रतिस्पर्धा गर्नेछन् । उत्कृष्ट हुने वृत्तचित्रले दुई हजार अमेरिकी डलर राशी रहेको रामबहादर ट्रफि प्राप्त गर्नेछ भने द्वितीय हुने वृत्तचित्रले एक हजार, निर्देशकको पहिलो वृत्तचित्रहरुमध्येमा उत्कृष्ट हुनेले एक हजार अमेरिकी डलरको तारेक मसूद पुरस्कार, बालबालिकाको विषयकेन्द्रित उत्कृष्ट वृत्तचित्रले एक हजार अमेरिकी डलरको युनिसेफ पुरस्कार र विद्यार्थीहरूले निर्माण गरेकामध्येको उत्कृष्ट वृत्तचित्रले पाँच सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।

वरिष्ठ पत्रकार कुन्द दीक्षित संयोजक र पाकिस्तानी सिनेमाकर्मी फरजाद नावी र भारतीय पत्रकार राजश्री दासगुप्ता सदस्य रहेको निर्णायक समितिले उत्कृष्ट वृत्तचित्रहरू छान्नेछ । सो समितिले छानेका पुरस्कृत र अन्य प्रतिनिधि वृत्तचित्रहरूलाई २०१८ मा ‘ट्राभलिङ् फिल्म साउथ एसिया’को नामबाट दक्षिण एसिया र विश्वका अन्य भागहरूमा पनि प्रदर्शन गरिनेछ ।

‘फिल्म साउथ एसिया २०१७’ मा दई विशेष खण्डहरू समावेश गरिएका छन् । अधिल्लो पटक शुरू भएको ‘विद्यार्थी वृत्तचित्रहरू’मा भावी सिनेमाकर्मीहरूको ६ वटा वृत्तचित्र प्रदर्शन गरिनेछ भने ‘विद्रोहका वृत्तचित्र’ खण्डमा दक्षिण एसियाली देशमा प्रतिबन्धित वा विद्रोहसँग सम्बन्धित १२ वटा वृत्तचित्रहरू प्रदर्शन गरिनेछ । ‘विद्रोहका वृत्तचित्र’ खण्ड दक्षिण एसियामा खुम्चदै गएको आलोचनात्मक सार्वजनिक वहस क्षेत्रभित्रबाट वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको सीमालाई फराकिलो बनाउने प्रयास हो ।

चर्चित भारतीय पत्रकार शशी कुमार ‘फिल्म साउथ एसिया २०१७’ को प्रमुख अतिथि हुनेछन् । कुमार चेन्नईमा रहेको एसियन कलेज अफ जर्नालिज्म सञ्चालन गर्ने मिडिया डेभेलेपमेन्ट फाउण्डेसनका संस्थापक अध्यक्ष हुन् । सिनेमाकर्मीका रूपमा समेत परिचित कुमार भारतको पहिलो क्षेत्रीय स्याटेलाइट टिभी च्यानल एसियानेटका समेत संस्थापक हुन् ।

प्रकाशित : कार्तिक ८, २०७४ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?